मेलमिलाप दिवस र आजको आवश्यकता

cb khadkaसीबी खड्का

 


वि.सं. २०१७ पुस १ गते तत्कालीन राजा महेन्द्रले जननिर्वाचित विश्वेश्वरप्रसाद कोइराला नेतृत्वको सरकार र जननिर्वाचित संसद्लाई ‘कु’ गरी काङ्ग्रेसका धेरै नेतालाई जेल हालेका थिए भने केहीलाई विभिन्न बहानामा हत्या समेत गरिएको थियो । यसै कदमविरुद्ध निरंकुश पञ्चायती व्यवस्थाविरुद्ध सशस्त्र र शान्तिपूर्ण आन्दोलनको आह्वान गर्दा राजकाज मुद्दा लागेका कारण भारतको प्रवासमा रहनुभएका बीपीले मुलुकको रक्षाका निम्ति देशभित्रै रहेर सङ्घर्ष गर्ने उद्देश्यले वि. सं २०३३ साल पुस १६ गते आफूमाथि लागेको मुद्दाको पर्वाह नगरी स्वदेश फर्किनुभएको भयो । जननायक स्व. बीपी कोइराला सात वर्ष लामो भारत निर्वासनपछि स्वदेश फर्केको दिन पुस १६ लाई नेपाली काङ्ग्रेसले राष्ट्रिय मेलमिलाप दिवसका रूपमा मनाउँदै आएको छ । २०३३ पुस १६ गते नेपाली काङ्ग्रेसका नेताद्वय जननायक बीपी कोइराला र लौहपुरुष गणेशमान सिंह विनाशर्त निर्वासनबाट स्वदेश फर्केका थिए । सोही ऐतिहासिक दिनको सम्झना गरेर काङ्ग्रेसीहरूले यस दिनलाई मेलमिलाप दिवसको रूपमा मनाउँदै आएका हुन् । सोही दिन निर्वासनमा रहेका काङ्ग्रेसका अन्य नेताहरू शैलजा आचार्य, खुमबहादुर खड्का, रामबाबु प्रसाई र निलाम्बर पन्थी पनि बीपी र गणेशमानसँगै स्वदेश फर्केका थिए । २०३३ पुस १६ गते बीपी कोइरालालगायतका नेताहरूको स्वदेश आगमन एउटा ऐतिहासिक घटना मात्रै होइन नेपालमा राजनीति गर्ने काङ्ग्रेसलगायत सबै राजनीतिक दलहरूका लागि मार्गनिर्देशक सिद्धान्त पनि हो । राष्ट्र र प्रजातन्त्रलाई मुख्य एजेण्डा मानेर जननायक बीपी कोइरालाले प्रतिपादन गर्नुभएको उक्त मेलमिलाप नीतिकै जगमा समृद्धिको आधार पनि खोजिएको थियो । बीपीले कहिले पनि राजाको जनता भन्नुभएन, जनताको राजा भन्नुभयो । जनताको राजा हुन नसक्ने राजतन्त्र रहँदैन, उहाँले स्पष्टसँग भन्नुभएको थियो । उहाँको मेलमिलाप सन्देश राजा र प्रजातन्त्र दुवैका लागि थियो । राष्ट्र रहे मात्र राजसंस्था रहन सक्छ । राजसंस्था बचाउनु पर्ने स्वार्थ राष्ट्र बचाउन पनि सहायक हुनसक्ने बुझेर नै बीपीले यो नीतिमा राजा भनेको कुरा उहाँले नै धेरैपटक सार्वजनिक गर्नुभएको छ । बीपीको यस्तो चिन्तनमा राजाभन्दा पनि राष्ट्रियता परिलक्षित भएको छ । बीपीले आफ्नो घाँटी राजाको घाँटीसँग जोडिएको भन्नुको सन्देशलाई यसरी नै व्याख्या गर्नुभएको हो । राजा नभए पनि राष्ट्र बाँचेको विश्व बीपीले देख्नुभएकै थियो । बीपीको भनाइअनुसार राजसंस्था हिँड्न नसक्दा देशले ठूलै हण्डर व्यहोर्नु प¥यो । समय क्रमअनुसार राजनीतिक दलहरूलाई बेवास्ता गर्दा र निरंकुश शासन सत्ता चलाउने महìवाकांक्षा बढ्दा राजसंस्था इतिहासमा सीमित हुन पुगेको छ । राजसंस्था समय, जनता र राष्ट्रको चाहनाअनुसार हिँड्न सकेको भए राजसंस्थाविरुद्ध औँलो ठडिने थिएन । जनचाहनाअनुसार चल्न नसक्ने कुनै पनि व्यवस्था दिगो हुन सक्दैन । जनता, राजनीतिक दल र राष्ट्रहित विपरीत चल्ने कुनै पनि संस्थाको अस्तित्व रहन सक्दैन भन्ने कुरा इतिहासले पुष्टि गरिसकेको छ । राजसंस्थाको अन्त्यसँगै मुलुक अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनको चरणमा पुगेको छ । यो अवस्थामा पनि मेलमिलापको सान्दर्भिकता घटेको होइन झन् बढेर गएको छ । अहिले पनि राष्ट्रको समृद्धिका लागि मेलमिलाप चाहिएको छ । बीपी कोइरालाले अवलम्बन गर्नुभएको राष्ट्रिय मेलमिलापको नीतिको महìव र सान्दर्भिकता अहिलेको नेपालको राजनीतिक परिवेशमा अझ बढी सान्दर्भिक र महìवपूर्ण देखिएको छ । आजको समसामयिक अवस्थामा संविधानसभाले निर्माण गरेको संविधानको कार्यान्वयन गर्दै लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास गर्न र दलहरूले अघि सारेको आर्थिक समृद्धिको मुद्दालाई सम्बोधन गर्न पनि मेलमिलापको नीति उत्तिकै आवश्यक देखिन्छ ।
सिक्किम भारतमा विलीन हुनु, पूर्वी पाकिस्तान अलग्गिएर बंगलादेशको जन्म हुनु जस्ता घटनाले त्यतिबेला बीपीलाई आफ्नै मुलुकको चिन्ताले सताएको थियो । राजाको आड भरोसा पाएका पञ्चहरू बहुदलवादीहरूलाई टिक्न दिँदैनथे । जनतामा सुख शान्ति थिएन । देशको मायाले बीपीले प्रवास त्याग गर्ने निर्णय गरेर स्वदेश फर्किनुभयो । पञ्चहरूले बीपीको आगमनको विरोध गरेका थिए । राष्ट्रको हित र प्रजातान्त्रिक व्यवस्था पुनर्बहालीका लागि जनमत निर्माण गर्न निस्कँदा ठाउँठाउँमा अवरोधको सामना पनि गर्नुप¥यो । शान्तिपूर्वक भेला भएर आफ्ना विचारहरू राख्ने स्वतन्त्रता पञ्चायतमा थिएन तथापि बीपीले नेपाली काङ्ग्रेसका कार्यकर्तालाई मुलुक जोगाउने काममा लाग्न आग्रह गर्नुभयो । प्रशासनको कडा रवैयाकै बीचमा बीपी पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पुगेर काङ्ग्रेसको सिद्धान्त, नीति, मूल्य, मान्यता र आदर्शको व्याख्या गर्दै हिँड्नुभयो । नेतालाई आफ्नो साथमा पाएर जनतामा हौसला बढ्यो । नेपालभरि नै पञ्चायतको विरुद्धमा नागरिक खनिए । उर्लिएको विरोधलाई मत्थर पार्न सुधारिएको पञ्चायत वा बहुदलीय व्यवस्था के रोज्ने ? भनी जनमतसङ्ग्रह घोषणा गरियो । जनमत सङ्ग्रहमा पनि पञ्चहरूले जालझेल गरेरै छाडे । त्यति हुँदा पनि जनमत पञ्चायतको विरुद्धमा बढ्दै गयो । २०३३ सालपछि मेलमिलाप र खुकुलो राजनीतिक वातावरणले काङ्ग्रेसको आह्वानमा कम्युनिस्ट पनि मिलेर २०४६ सालमा नेपाली जनताका लागि सार्वभौमसत्तासम्पन्न बहुदलीय व्यवस्था स्थापना हुन पुग्यो । १० वर्षे सशस्त्र द्वन्द्वमा होमिएको माओवादी पनि मेलमिलापकै नीति अङ्गीकार गर्दै संसद्वादी राजनीतिक दलहरूसँग १२ बुँदे सम्झौता गरी निरंकुश राजतन्त्र विरुद्धको आन्दोलनमा होमियो । लामो र कहालिलाग्दो सशस्त्र द्वन्द्वको शान्तिपूर्ण अवतरण भयो । संसद्वादी र माओवादीबीचको मेलमिलापले फलतः ०६२÷०६३ को जनआन्दोलनले राजसंस्थाको विधिवत अन्त्य गरी मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको स्थापना ग¥यो । बीपीको चाहना बमोजिम जनताको संविधान जनताले चुनेकै जनप्रतिनिधिले लेख्न अवसर पनि यसबीचमा प्राप्त भयो । संविधानसभाबाट निर्वाचित जनप्रतिनिधिले बनाएको संविधान बमोजिम अहिले मुलुक अघि बढिरहेको छ । राष्ट्रिय मेलमिलापको नीतिलाई दलहरूले अख्तियार गरेकै कारण यी सबै परिवर्तनहरू सम्भव भएको हो ।
अहिले मुलुक संविधान कार्यान्वयनको बाटोमा उभिएको छ । संविधान बमोजिम तीनै तहको निर्वाचन सम्पन्न भएको छ । राजनीतिक परिवर्तन र संक्रमणकाललाई दलहरू मिलेरै अन्त्य गरेको हुनाले निर्वाचनपछि पनि मेलमिलापकै नीतिअनुसार देशलाई समृद्ध बनाउन दलहरू अग्रसर हुनुपर्ने खाँचो छ । निर्वाचनपछि दलहरूलाई आ–आफ्नो हैसियत प्रदान गरेको भए पनि गणितीय हिसाबले मात्रै मुलुकलाई अगाडि बढाउन सकिँदैन । निर्वाचनमा कोही सानो र कोही ठूलो भए होलान् तर राष्ट्र विकासका लागि सबै दलबीचको मेलमिलाप अहिलेको आवश्यकता हो । ठूलो दल भएकोमा दम्भ देखाउने र सानो भइयो भनेर आत्तिने अवस्था छैन । परिणामले सानो ठूलो जे बनाए पनि आखिर सबैको मेलमिलाप नभई देशको समृद्धिको यात्रा अघि बढ्न सक्दैन । हिजो राजालाई दल र जनतासँग मेलमिलापको आवश्यकता थियो तर त्यो बाटोमा राजाले हिँड्न नचाहँदा राजसंस्था नै अन्त्य भएको थियो । नेपालको लोकतान्त्रिक गणतन्त्रात्मक शासन पद्धतिको संस्थागत विकास गरी लोकतान्त्रिक मूल्य मान्यता अनुसार आम नेपालीको हितलाई आत्मसात् गर्ने राजनीतिक संस्कार निर्माण गर्न सकिएको खण्डमा आजको सन्दर्भमा राष्ट्रिय मेलमिलाप नीतिको उपयुक्त व्याख्या र उपयोगका रूपमा लिन सकिन्छ ।
वर्तमानमा दलहरूबीच मिलाप र सहकार्यको आवश्यकता छ भने दलभित्रै पनि मेलमिलापको आवश्यकता छ । नेपाली काङ्ग्रेसले बीपीको मेलमिलापको नीतिलाई व्यवहारमा उतार्न नसकेको कारणले निर्वाचन परिणाम अप्रत्यासित आयो भन्नेहरू पनि काङ्ग्रेसभित्र छन् । यसमा केही सत्यता अवश्य छ । बीपीलगायतका अगुवा नेताहरूको मार्ग पहिल्याएर अहिलेको परिस्थितिअनुसारको भूमिका खेल्ने नेतृत्वको खाँचो काङ्ग्रेसभित्र देखिएको छ । बीपीलगायतका काङ्ग्रेसका आदर्श र त्यागी नेताहरूको गौरवपूर्ण इतिहास र उनीहरूले प्रतिपादन गरेका नीति, सिद्धान्त र मार्गसँग परिचित नभएका अहिलेको युवा पुस्तालाई काङ्ग्रेसले प्रशिक्षित गर्न नसक्दा ‘बीपी पनि काङ्ग्रेसकै नेता हुन् ?’ भन्ने अवस्थाको सिर्जना भएको छ । यस्तो अवस्थाको अन्त्य गर्नका लागि अहिलेको नेतृत्वले आफ्ना महान् नेताहरूको नीति, सिद्धान्त र मार्गबाट पार्टीलाई विचलित हुन नदिई अहिलेको पुस्तालाई पनि त्यही मार्गमा हिँडाउन सक्यो भने बीपी र राष्ट्रले खोजेजस्तो काङ्ग्रेसका बन्न सक्छ । काङ्ग्रेसले मेलमिलाप दिवसलाई एक दिने औपचारिक कार्यक्रम गरेर मात्र पुग्दैन । मेलमिलापको नीतिलाई साँच्चै सार्थक रूपमा अगाडि बढाउने हो भने ३६५ दिन नै मेलमिलाप दिवसको रूपमा मनाउँदै पार्टीभित्रको आन्तरिक मेलमिलाप मात्रै होइन अन्य राजनीतिक शक्तिहरूसँग पनि सुमधर सम्बन्ध स्थापित गरी राष्ट्रलाई समृद्धिको यात्रामा अगाडि बढाउन नेतृत्वदायी भूमिका खेल्न सक्नुपर्दछ । नेपाली काङ्ग्रेसभित्रै अहिले आन्तरिक लोकतन्त्र र मेलमिलापको अझ ठूलो आवश्यकता देखिएको छ । पार्टीभित्र अनेक गुट खडा गरेर गुटको नेता बन्ने प्रवृत्तिको अन्त्य गर्दै काङ्ग्रेसको नेता बन्ने परिस्थिति जबसम्म सिर्जना हुँदैन तबसम्म मेलमिलाप दिवस मनाएर मात्रै बीपीको सपना पूरा हुन सक्दैन । काङ्ग्रेसभित्रको आन्तरिक लोकतन्त्रलाई सुदृढ बनाउँदै अहिले सिङ्गो काङ्ग्रेसको आवश्यकता आम नागरिक र देशले गरेको छ । पार्टीभित्र मौलाउँदै गएको व्यक्तिवादी चरित्र र गुटको राजनीति नै काङ्ग्रेस कमजोर बनाउने धमिरा हुन् । पार्टीभित्र थरिथरिका गुटले गर्दा काङ्ग्रेसलाई कमजोर बनाउँदै लगेको छ । गुटैपिच्छेका नेताहरूबाट पार्टी सुदृढीकरणका नाममा थरिथरिका धारणा आएका छन् । नेतृत्व परिवर्तनदेखि लिएर विशेष महासमिति बैठक राख्नुपर्नेसम्मका कुरा उठेका छन् । केही नेताले निर्वाचनमा काङ्ग्रेस पराजित हुनुमा अहिलेको विकसित राजनीतिलाई कारक देखाउँदै नेतृत्वको बचाउ गरेका छन् । यी सबै धारणा जे जस्तो रूपमा ज–जसबाट बाहिर आए पनि काङ्ग्रेस अहिले कमजोर भएकै हो । यो कमजोरीमा पार्टीभित्रका नेताहरूको आन्तरिक मेलमिलापको अभाव पहिलो कारण हो । पार्टीभित्रको गुटको अन्त्य नभएसम्म नेतृत्वलाई तर्साएर मात्रै काङ्ग्रेस बलियो बन्न सक्दैन । यसका लागि नेताहरूमा आन्तरिक सुदृढीकरण र मेलमिलापको खाँचो छ । बीपीले अपनाएको नीतिलाई काङ्ग्रेसबाहेकका राजनीतिक दलहरूले पनि अभ्यास गर्न थालिसकेको अवस्थामा आफ्नै नेताले प्रतिपादन गरेको नेपालको माटोअनुसारको मेलमिलापको नीतिमा नेपाली काङ्ग्रेस पूर्ण रूपमा अग्रसर नहुनु दुःखद् पक्ष हो ।

प्रकाशित मिति: २०७४/९/१६

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना