आँखा दान महादान (सम्पादकीय)

दृष्टिसम्बन्धी समस्या नेपालको एउटा प्रमुख जनस्वास्थ्य समस्या नै हो । अहिलेको विज्ञान र प्रविधिको युगमा पनि हजारौँको सङ्ख्यामा दृष्टिविहीनताको अवस्थामा बाँच्नुपरेको यथार्थ छ । सन् १९७९–१९८० मा पहिलोपटक दृष्टिविहीनता सम्बन्धी सर्वेक्षण हुँदा ०.८४ प्रतिशतमा दृष्टिविहीनताको अवस्था रहेको पाइएको थियो । सन् २००६–२०१० मा भएको त्यस्तै सर्वेक्षणले दृष्टिविहीनताको प्रतिशत ०.३५ प्रतिशतमा झरेको देखाएको थियो । यस हिसाबमा झन्डै नौ लाख मानिसमा दृष्टिविहीनता छ । यो अवस्था भनेको दृष्टि कमजोर रहेको अवस्था पनि हो । प्रतिहजार एकजना भने दृष्टिविहीन नै रहेको अनुमान छ । मोतीविन्दु, दृष्टि न्यून हुनु, जलबिन्दु, डायबेटिक रेटिनोप्याथी 

(मधुमेह रोगले दृष्टिपर्दामा पर्ने नराम्रो असर), खस्रे रोग, आँखामा लाग्ने चोटपटक आदि प्रमुख रहेका छन् । यीमध्ये धेरै उपचार हुनसक्ने अवस्थामा हुन्छन् तर पनि उपचारको अभाव वा जनचेतनाको कमीले धेरैले दृष्टिविहीन भएरै बाँच्नुपर्ने बाध्यता छ ।
अहिले आँखासम्बन्धी रोगको उपचार तुलनात्मक रूपमा सहज भएको छ । तीन दशकअघि नेपालमा वार्षिक एक हजारजति मात्रै शल्यक्रिया हुने गरेकामा अहिले वार्षिक अढाइ लाख जतिको शल्यक्रिया हुन्छ । आँखा विशेषज्ञ लगायत दक्ष जनशक्ति, गुणस्तरीय र आधुनिक पूर्वाधार र प्रविधिको उपलब्धताले यो सम्भव भएको हो । आँखासम्बन्धी समस्या र दृष्टिविहीनता उपचार वा सामान्य शल्यक्रियाबाट आँखासम्बन्धी रोग निको हुनसक्छन् र दृष्टि पाउन सकिन्छ । कतिपय अवस्थामा आँखाको नानी प्रत्यारोपणबाट पनि देख्नसक्ने अवस्था हुनसक्छ । हालसम्म नेपालमा साढे १२ हजार जनाले आँखाको नानी प्रत्यारोपण गरेर दृष्टि पाएका छन् । सन् १९९४ मा आँखा बैङ्क स्थापना भएपछि नेपालमा आँखाको नानी प्रत्यारोपण सहज बनेको हो । यसका लागि स्वस्थ व्यक्तिले आँखाको नानी दान दिनुपर्छ । मृत्युपश्चात् आँखाको नानी दान दिनेको सङ्ख्या बर्सेनि बढ्दो छ । तिलगङ्गा अस्पतालको आँखा बैङ्कको तथ्याङ्कअनुसार हालसम्म ७६ हजार जनाले मृत्यपश्चात् आँखा दान गर्ने इच्छापत्र दिनुभएको छ तर सबै इच्छापत्र दिने व्यक्तिबाट आँखाको नानी लिन नसकिएको अनुभव अस्पतालको छ । तिलगङ्गा आँखा अस्पतालमा सन् २०१६ मा ७०९ जनाले आँखा दान गरेका थिए भने २०१७ मा ८५७ जनाले आँखा दान गरे । इच्छापत्र दिने व्यक्तिको मृत्युपश्चात् सुविधासम्पन्न अस्पतालबाट विशेषज्ञले मृतकको आँखाको नानी निश्चित अवधिमा निकाल्नुपर्छ । कतिपय अवस्थामा यो सम्भव हुन्न । क्यान्सर, एचआईभी, क्षयरोग र हेपाटाइटिस रोग लागेर मृत्यु भएका र आँखा खराब भएका व्यक्तिको आँखाको नानी प्रत्यारापण गरिँदैन ।
आँखाको नानी प्रत्यारोपण गर्न सकिने दृष्टिविहीन र अस्पतालमा आँखाको नानी पर्खिएर बसेका व्यक्तिको आँकडाले पनि आँखा दानको महìव स्पष्ट हुन्छ तर पनि दैनिक सैयौँ व्यक्तिको मृत्यु हुन्छ तर तिनको आँखा शरीरसँगै जलेर जान्छ वा माटोमा कुहिन्छ । पछिल्लो समय आँखा दानप्रति मानिसमा सकारात्मक सोच बढ्दै गएको भए पनि मृत्युपछि आँखालगायत अन्य अङ्ग दान गर्न सकिन्छ र त्यो अङ्गले कुनै व्यक्तिको जीवन लम्बिन्छ वा नयाँ जीवन पाउनसक्छ भन्ने कुराको चेतना फैलिसकेको छैन । धार्मिकलगायतका धेरै कारणले नेपालीलाई आँखा दान र प्रत्यारोपणबारे बुझाउन कठिन रहेको सम्बन्धित क्षेत्रमा काम गर्नेको अनुभव छ । उनीहरूलाई आँखा दान महादान हो भन्ने कुरा बुझाउन र मृत्युपछि आँखाको नानी दान गर्न प्रेरित गर्नसके धेरै दृष्टिविहीनले नयाँ जीवन पाउन सक्छन् । यसका लागि आँखासम्बन्धी स्वास्थ्य सेवा विस्तार गर्नुका साथै आँखा दानसम्बन्धी जनचेतना फैलाउन आवश्यक छ । अहिले ७५ वटै जिल्लामा आँखासम्बन्धी सेवा उपलब्ध भए पनि यो सदरमुकाममै केन्द्रित छ । यसले गर्दा टाढाटाढा रहेका र गरिब व्यक्तिले आँखासम्बन्धी सेवा पाइरहेका छैनन् । त्यसैले प्रविधिको विकास र सेवा विस्तार सँगसँगै जनचेतना अभिवृद्धिको माध्यमबाट आँखासम्बन्धी स्वास्थ्य सेवा फैलाउनुपर्छ र आँखाको नानी दान गर्न प्रेरित गर्नुपर्छ ।

 प्रकाशित मिति: २०७४/९/१७

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना