जित्नेकै पक्षमा लेखिन्छ इतिहास

indrakumar shresthaइन्द्रकुमार श्रेष्ठ 

 


हुन त इतिहास जित्नेकै पक्षमा लेखिन्छ तर हारेकाहरूको मूल्यलाई पनि अवमूल्यन गरिनुहुँदैन । नेपाली काँग्रेस एउटा राष्ट्रिय, ऐतिहासिक र उल्लेखनीय राजनीतिक पार्टी हो । २००७ सालको आन्दोलन मात्रै होइन, २०१७ सालपछिको पञ्चायतविरोधी सङ्घर्ष २०३६ तथा २०४६ सालको आन्दोलनमा पनि उसकै भूमिका विशिष्ट रह्यो । कथित् जनयुद्धपछि २०६३ साल मङ्सिर ५ मा भएको विस्तृत शान्ति सम्झौता नेपाली काँगे्रसका सभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाबाबुकै कारण भएको हो । क्षमाशील र परिपक्व राजनीतिक सुझबुझका साथ, किसुनजीले एमालेलाई र गिरिजाबाबुले माओवादीलाई सत्ताको चुली नचढाएका भए आज पनि नेपाली कम्युनिस्टको अवस्था दयनीय नै हुने थियो । २०४७ र २०७२ सालको संविधान पनि नेपाली काँग्रेसकै नेतृत्वमा बनेको कुरा सर्वविदितै छ । यसरी, हिंसात्मक आन्दोलनमा अरूको नाम होला तर देशलाई ज्यादै अप्ठ्यारो परेको बेलामा तात्कालीक शान्तिपूर्ण राजनीतिक निकास र ऐतिहासिक परिवर्तनका हरेक घडीमा यो देशमा नेपाली कांँग्रेसकै नाम आउँछ तर यो राष्ट्रको ऐतिहासिक महŒवको ठूलो पार्टी भनेर जति सम्झाउन र सम्झिन खोजे पनि, प्रतिनिधिसभा र प्रदेशसभाको चुनावपछि यतिखेर नेपाली काँग्रेस पार्टी इतिहासकै कमजोर र दयनीय अवस्थामा आइपुगेको छ । समानुपातिकतर्फ राम्रो पार्टीका रूपमा राम्रो मत पाए पनि प्रत्यक्षतर्फ नेताहरू भने नराम्ररी हारेका कारण माथिल्लोदेखि तल्लो तहसम्ममा नेता कार्यकर्ताले हारको कारण नेतृत्वतर्फ औँल्याएका छन् ।
कुनै पनि काममा सफलता पाउनका लागि असल र प्रभावकारी योजना बनाउनुपर्छ । स्थानीय चुनावमा हार व्यहोरेपछि त्यसबाट पाठ सिकेर सङ्घ र प्रदेशको चुनाव हुनुअघि नेपाली काँग्रेसले नयाँ रणनीतिक योजना बनाउनुपथ्र्यो, त्यो हुनै सकेन । कार्यकर्ताको नेकाप्रतिको आस्था र प्रतिबद्धतालाई राष्ट्रियतासँग जोडेर साङ्गठनिक हिसाबले अनुशासित बनाउने प्रयास नभएकै कारण पार्टीका आधार कार्यकर्ता सुविधाभोगी हुन थाले । भनिन्छ, नेपाली काँग्रेसप्रति आस्थावान् शिक्षक, कर्मचारी र कार्यकर्ताबाट उठाइने ‘लेबी’ नियमित रूपको पनि भएको छैन र उठाइएको रकमको सदुपयोग हुन पनि सकेको छैन । नभन्दै, धेरै जिल्लामा अन्य राजनीतिक पार्टीका कार्यालय भवन आफ्नै बनेका र भाडामा लगाइएका छन् भने नेपाली काँग्रेसको चाहिँ कतिपय जिल्लामा भाडासमेत तिर्न नसकेर बेहाल भएको देखिएको छ ।
यसरी भर्खरै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा नेपाली काँग्रेस हार्नुको बाहिरी र सबैले भन्ने बताउने गरेको कारणमाथि चर्चा गरेअनुसार देखिए पनि भित्री, वास्तविक, तात्कालीक र मनोवैज्ञानिक कारण चाहिँ अरू नै औँल्याउन सकिन्छ ।
सारमा भन्ने हो भने, जुनसुकै पार्टीका भए पनि नेता सत्ताका पुजारी हुँदा रहेछन् । अब उच्चवर्गीय नेता नै सत्तामुखी भएपछि निम्न वर्गीय मतदाता के चाहोस् थोरै भए पनि भत्ता । २०५२ सालदेखि एमाले सरकारले दिन थालेको वृद्ध भत्ताका (हालः ‘सामाजिक सुरक्षा भत्ता’) कारण एमालेको लोकप्रियता एकाएक बढ्न थाल्यो । पछिका सरकारले त्यसलाई निरन्तरता दिँदै र त्यसको राशि बढाउँदै आए पनि शुरु गर्नेको नामकै जताततै किर्तन भइरह्यो । साना ठूला जुनसुकै एमाले नेताले जहाँसुकै भएको कार्यक्रममा पनि ‘बूढाबूढीलाई वृद्धभत्ता दिन हामीले नै थालेका हौँ भन्न छुटाउँदैनथे । त्यसैको छाप मतदातामा प¥यो । एमालेका पालामा के कति उद्योग धन्दा खुले, कति युवाले स्वदेशमै रोजगार पाए, कुन–कुन कुरामा देश आत्मनिर्भर भयो जस्ता कुराको प्रश्न राख्ने र चिन्तन गर्ने सचेत मतदाता हामी कहाँ पाइँदैनन् । त्यसैले राष्ट्रसेवकले पुरानै तलबमानमा सन्तोष गरेर राष्ट्रिय ढुकुटी बढाउन योगदान गरून् भन्ने आशयको दूरगामी महŒव बोक्ने आर्थिक नीतिका परिकल्पनाकार रामशरण महतजस्ता देशभक्त अर्थमन्त्रीप्रति मतदाताहरू आक्रोश पोख्छन् तर चुनावको अघिल्लो दिन एक केजी खसीको मासु घरमै ल्याइदिने बगरे कार्यकर्तालाई उनीहरू भगवान् ठान्छन् ।
यसो भन्दै गर्दा, लोकतन्त्रमा जनतालाई नै जनार्दन मानिने भएकोले जनताको अभिमतलाई स्वीकार्नुको विकल्प छैन भन्ने कुरा पनि बिर्सन त भएको छैन । हामी टाढा नजाऊँ । दुई कार्यकाल प्रधानमन्त्री भएका भारतका डा. मनमोहन सिंहले आफ्नो पालामा त्यहाँको आर्थिक वृद्धिदर ११ प्रतिशत पु¥याएका थिए तर उनको पार्टीले चुनाव हा¥यो । त्यसको अर्थ देशको आर्थिक वृद्धिदर उच्च बनाउने मोदीलाई जनताले मन पराएनन् । त्यो पार्टी (काँग्रेस आई) ले अहिले पनि चुनाव हारेको हारै छ । अहिले मोदीका पालामा भारतको आर्थिक वृद्धि ६ प्रतिशत छ र पनि त्यहाँ उनको हाईहाई छ । सम्पूर्ण भारत नै मोदीमय बनेको छ ।
आशा गरौँ, हाम्रो देशमा भने अब निकट भविष्यमा बन्ने वाम गठबन्धनको सरकारले तत्कालीक र सस्तो लोकप्रियताका कुनै पनि कार्यक्रम नल्याई दिगो, दूरगामी र राष्ट्रिय महŒवको कार्यक्रम ल्याउनेछ । घोषणापत्रमा उल्लेख गरेका सबै काम तोकिएको समयमा सम्पन्न नगरे पनि आधा काम दोब्बर समय बढी लगाएर सम्पन्न गरेछ भने पनि त्यसैलाई उसको ठूलो सफलता मानिनेछ ।

 प्रकाशित मिति: २०७४/९/१८

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना