बजारमा सुधारले दिएको सन्देश

sarojसरोज अधिकारी

चुनाव सकिएको लामो समय हुँदा समेत नयाँ सरकार गठन हुन नसकेको अवस्थाको नकारात्मक असर शेयर बजारमा स्पष्ट रूपमा देखिँदा लगातार ओरालो लागेको बजारलाई सोमवार एकै दिन ४४ अङ्कभन्दा बढीको सुधार भएको छ । आगामी सरकार वाम गठबन्धनको बन्ने निश्चितझैँ बनेको सन्दर्भमा शेयर बजारले आगामी सरकारले लिने आर्थिक नीति कस्तो हुने हो सो कुरिरहेका लगानीकर्ताले पर्ख र हेरको अवस्थामा बस्दा बजार केही दिनदेखि लगातार ओरालो लागेको हो । त्यसमा पनि राष्ट्रियसभा गठनको लागि आवश्यक विधेयकको व्यवस्थामा नै विवाद सिर्जना हुनु र त्यसको समाधान भएको वर्तमान अवस्थामा सरकार गठन हुन अझै डेढ महिनाभन्दा बढी समय लाग्ने सङ्केतले बजारमा देखिएको निरासालाई थप बल मिलेको थियो, जुन कुरा अहिले चिरिएको छ । शेयर बजारका विश्लेषक एक हजार चार सयको बिन्दुभन्दा तल बजार झरेको अवस्थामा लगानीकर्ताको मनोबल थप गिर्ने र बजार अझै तल जान सक्ने बताइरहेका बेला सोमवार बजार पुनः फर्किएको छ । सरकार गठन ढिलो चाँडो हुने कुराले खासै फरक नपर्ने देखिएको सन्दर्भमा नेपाल राष्ट्र बैङ्क, अर्थ मन्त्रालय र बैङ्करहरूले तरलता अभाव न्यूनीकरण गर्न देखाएको सक्रियताले पनि बजार बढ्न मद्दत मिलेको हो ।
विगतमा लगातार बजारमा आएको गिरावट आउन सघाउ पुग्ने आर्थिक पाटो हेर्दा बजारमा तरलताको अभाव देखिएको छ भने तरलता व्यवस्थापनमा नेपाल राष्ट्र बैङ्क र अर्थ मन्त्रालयको पहल केही ढिलो भएको देखिएकै हो । वर्तमान सरकारले खासै उत्साहपूर्ण तरिकाले काम गर्न नसक्ने अवस्था र नयाँ सरकार आउन पनि ढिला हुने परिस्थितिको निर्माण भएको कारण विकास निर्माणका कामदेखि लिएर आर्थिक सुधारका कार्यक्रमले समेत गति लिन सकेको देखिँदैन । रेमिट्यान्स घटेको छ भने व्यापार घाटा उच्च हुँदै गएको देखिएको छ । राजस्व सङ्कलन उत्साह जनक देखिएको छैन । तरलताको सङ्कट बैङ्कहरूले भोग्दै गर्दा घोषित र अघोषित रूपमा नै निक्षेपमा ब्याजदर उच्च हुन पुगेको छ । त्यसको अर्थ शेयर कर्जा वर्तमान अवस्थामा पाउनै गाह्रो छ पाए पनि निकै महँगो बनेको छ । कर्जामा तिरेको ब्याजको तुलनामा शेयर बजारबाट लाभ लिन सक्ने अवस्था वर्तमानमा देखिँदैन । यस्तो परिस्थितिमा शेयर बजारमा लगानी निकै जोखिमपूर्ण बनेको छ तर सोमवार बजारमा देखिएको उत्साहजनक वृद्धि भने आगामी दिनमा बजारमा लगानीकर्ताको मनोबल अझै उच्च हुने देखिएको छ । वर्तमान अवस्थामा तरलता अभाव कम गर्न नेपाल राष्ट्र बैङ्क र अर्थ मन्त्रालयले केही सक्रियता देखाएको भए पनि त्यसले तत्कालै तरलताको अभाव सुधार भइहाल्ने सङ्केत भने देखिएको छैन ।
नेपाल राष्ट्र बैङ्क र बीमा समितिले सम्बन्धित समूहको संस्थाको चुक्ता पुँजी वृद्धिको नीतिका कारण बैङ्क वित्तीय संस्थाहरूको चुक्ता पुँजी ठूलो मात्रामा बढेको छ । त्यस क्रममा बैङ्क वित्तीय संस्थाले जारी गरेको हकप्रद र बोनस शेयर सूचीकृत हुने क्रम जारी छ । त्यसैगरी, बीमा समितिले तोकेको चुक्ता पुँजी यसै आर्थिक वर्षभित्र पु¥याउन जीवन तथा निर्जीवन बीमा कम्पनीलाई बोनस र हकप्रदको चटारो छ । त्यसको अतिरिक्त प्राथमिक शेयर, एफपीओ जारी हुने क्रमले निरन्तरता पाउँदा बजारमा शेयरको आपूर्ति उच्च मात्रामा छ, जसको अनुपातमा शेयर खरिद गर्ने लगानीकर्ता नहँुदा बजार माग र आपूर्तिको सामान्य सिद्धान्तका कारण पनि तल जानु स्वाभाविक बनेको छ ।
प्राविधिक रूपमा शेयर बजार एक हजार चार सयको बिन्दुभन्दा तल झरिसकेको छ । एक हजार चार सयको बलियो टेवाभन्दा तल झरेको बजार अब कतिसम्म तल जाने हो भन्न गाह्रो पर्ने अवस्था छ तर बजार तत्कालमाथि जाने सम्भावना भने न्यून नै देखिन्छ । बजारमा शेयरको माग उच्च नै रहनुले भने बजार सकारात्मक दिशातर्फ मोडन सक्ने आधार भने जीवितै रहेको छ ।
अबको आशा
शेयर बजार सोमावारबाट पुनः एक हजार चार सयको बिन्दुभन्दा माथि उक्लिएकोले आगामी दिनमा पनि शेयर बजारमाथि जान सक्ने आधार केलाउँदा अबको आशा भनेको नयाँ सरकार गठन हुनु सँगै बन्ने सरकारले ल्याउने आर्थिक नीति जुन बजारमैत्री होस् भन्ने लगानीकर्ताको चाहना हो । त्यसले बजारमा थप उत्साह थप्ने र बजार उकालो लाग्ने सम्भावना देखिन्छ तर त्यसका लागि अझै एक महिनाको अवधि बजारले झेल्नुपर्ने देखिन्छ । तरलता अभावका माँझ पनि बजारमा कारोबार भने ५० करोडभन्दा माथि हुने अवस्थाले अल्पकालीन नाफा कमाउने लगानीकर्ता बजारमा हाबी भएको सङ्केत देखिएको छ । जसले नयाँ सरकार गठनसहित बजार बढेको अवस्थामा बिक्रीको चाप बढ्न सक्ने खतरा उत्तिकै छ । पुस मसान्तपश्चात् सूचीकृत कम्पनीहरूको छ महिने प्रगति प्रतिवेदन सार्वजनिक हुनेछ, जसमा राम्रो प्रगति प्रतिवेदन आएका कम्पनीको शेयर मूल्यमा सुधार आउन सक्ने सम्भावना छ, जसले समग्र बजारलाई माथि लान मद्दत पुग्न सक्ने अवस्थालाई भने नकार्न सकिँदैन । नयाँ सरकार गठनसँगै बजार सुधारका लागि विगतमा गरिएका विभिन्न बाचालाई मुहूर्त रूप दिन आवश्यक कदम तत्काल चाल्ने हो भने बजार अब उकालो लाग्न सक्छ ।

प्रकाशित मिति: २०७४/९/१९

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना