चिसोबाट जोगिऔँ, जोगाऔँ (सम्पादकीय)

 चिसो बढेसँगै मुलुकका विभिन्न भागमा श्वासप्रश्वाससम्बन्धी सङ्क्रमणका बिरामीको सङ्ख्या बढेको समाचार आउन थालेका छन् । उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातले जनजीवन अस्तव्यस्त भएको छ । अस्थायी टहरामा भएका भूकम्पपीडित उच्च जोखिममा छन् । करिब दुई साता अघिदेखि नै तराई क्षेत्रमा शीतलहरको प्रभाव तीव्र छ । अहिलेसम्म चिसोका कारण गम्भीर रूपमा प्रभावित भएका वा मृत्यु भएकाको आधिकारिक जानकारी आइसकेको नभए पनि विगतलाई हेर्दा जोखिम उच्च नै छ । बारा, पर्सा, रौतहट र कैलाली लगायत तराईका अधिकांश क्षेत्रमा शीतलहरको प्रभाव देखिएको छ । विगत केही समयदेखि बाक्लो हुस्सुका कारण हवाई उडान प्रभावित हुनेदेखि बन्दव्यापार घटेको, मानिसको चहलपहल घटेको, सरकारी कार्यालयमा सेवाग्राहीको सङ्ख्या घटेको, विद्यालय बन्द भएको र जनजीवन नै प्रभावित भएका छन् । 

विगतका वर्षमा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात, हिमपहिरो तथा तराईमा शीतलहरका कारण जनजीवन प्रभावित हुने र धनजनको क्षति हुने गरेको तथ्याङ्क छ । अघिल्लो वर्ष अत्यधिक चिसो र शीतलहरकै कारण मृत्यु हुनेको सङ्ख्या पनि निकै थियो । २०७१ साल असोज २८ गते मनाङ र मुस्ताङको अन्नपूर्ण र धौलागिरि आसापास हिमापातसँगै हिमपहिरोका कारण २१ पदयात्रीसहित ४३ जनाको मृत्यु भएको थियो । यसमा चारसय जतिलाई मनाङ र मुस्ताङबाट उद्धार गर्नुपरेको थियो । यस्ता घटना बारम्बार दोहोरिरहन्छन् । यीलगायत अन्य प्राकृतिक विपत्तिका घटनाका कारण नेपालमा बर्सेनि एक हजार जनाले ज्यान गुमाउनुपरिरहेको र डेढ लाखजति परिवार प्रत्यक्ष पीडित हुने गरेका छन् । यसले जनजीवन प्रभावित हुने र धनजनको क्षति हुँदा वर्षेनि राष्ट्रिय कुल गार्हस्थ उत्पादनमा वर्षिक दुई प्रतिशत अर्थात् चार अर्ब रुपियाँ जति नोक्सानी हुने गरेको छ । त्यसैले प्राकृतिक प्रकोपको क्षति न्यूनीकरणका लागि गम्भीरतापूर्वक पूर्वतयारी गर्न आवश्यक छ । यसका लागि केन्द्रमा राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्र र जिल्लामा जिल्ला विपत्ति व्यवस्थापन समिति समयमै सक्रिय बनेका छन् । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल लगायत धेरै सरकारी र गैरसरकारी निकाय पनि तयारी अवस्थामा रहनुपर्छ । गत मङ्सिर ५ गते राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रको बैठकले हिउँद याममा हुनसक्ने प्राकृतिक विपत्ति र आपत्कालीन कार्यका लागि सरोकारवाला निकायलाई सतर्क रहन र उद्धार तथा राहत वितरणमा सक्रिय रहन निर्देशन समेत दिइसकेको छ ।
चिसो, शीतलहर लगायत प्राकृतिक विपत्तिको क्षति न्यूनीकरणका लागि पूर्व तयारी नै सबभन्दा ठूलो उपाय हो । तात्कालिक मौसम अनुगमन प्रणालीलाई प्रभावकारी र राष्ट्रव्यापी बनाउँदै आधुनिकीकरणमा जोड दिनुपर्छ । सबै जलवायुजन्य प्रकोप आँकलन, नक्साङ्कन र प्रकोप क्षेत्र निर्धारण गर्ने र सार्वजनिक रूपमा सर्वसाधारणलाई जानकारी गराउने प्रबन्ध हुनसके दीर्घकालीन लाभ लिनसकिन्छ । यससँग सम्बन्धित निकाय र संयन्त्रलाई सक्रिय बनाउने र सतर्क राख्ने काम हुन आवश्यक छ । प्रभावित व्यक्तिलाई सुरक्षित स्थानमा लैजाने संयन्त्रको विकास र मौसम पूर्वसूचना प्रणालीमा उचित लगानीले यस्ता विपद जोखिम घटाउन सकिन्छ । तराई क्षेत्रमा शीतलहरबाट प्रभावित हुने क्षेत्र र जनसङ्ख्याको पूर्व अनुमान, नक्साङ्कन गरी आवश्यक होशियारी अपनाउन सकिन्छ । आगो ताप्न दाउरा, न्यानो लुगा वितरण गर्नुपर्छ । चिसोका कारण हुने रोगको उपचारनिम्ति स्वास्थ्य निकायमा पर्याप्त औषधिको व्यवस्था गर्नुपर्छ । यसबाट जोगिन सचेतना अभिवृद्धि गर्दै सम्भावित जोखिमलाई न्यूनीकरण गर्न आवश्यक स्रोत, साधनको पूर्व प्रबन्ध गर्नु र प्रभावित परिवारलाई सहयोग गर्नु आवश्यक छ ।

 प्रकाशित मिति: २०७४/९/१९

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना