जुम्लाका पाखा स्याउबारी बन्दै

नेत्र शाही

जुम्ला, पुस २१ गते । देख्दा लोभलाग्दो, खाँदा रसिलो र स्वादिलो हुनु जुम्लाको स्याउको पहिचान हो । जुम्लाको स्याउलाई सरकारले अर्गानिक स्याउ घोषणा गरिसकेको छ । सडक यातायात नपुग्दा जुम्लाको स्याउ बारीमै कुहिएर किसानले खासै लाभ लिन नसकेको विगतको अवस्था थियो । पछिल्लो समयमा जुम्लालाई सडक यातायातले छोएसँग स्याउको मूल्य र खेती प्रणालीमा परिवर्तन आएको छ ।
एकताका स्याउ बारी मास्न सुरु गरेका जुम्लाका किसान सडक यातायातको पहुँचसँगै स्याउ बारी बढाउन लागेका छन् । जिल्ला कृषि विकास कार्यालयका अनुसार जुम्लाका ८० प्रतिशत घरधुरीमा स्याउका बगैँचा तयार छन् । यहाँका सबै पाखा स्याउबारीका रूपमा परिणत हुन थालेका छन् । apple gaun
जिल्ला परिषद्ले ‘एक घर एक स्याउ बगैँचा’ भन्ने अवधारणा ल्याएपछि किसानलाई स्याउ खेती गर्न झन् प्रेरित गरेको हो । यसअघि बेलाबेला जिल्ला कृषि विकास कार्यालयले स्याउ खेती विस्तारको अभियान सञ्चालन गरे पनि खासै सफल हुन सकेको थिएन । अहिले जिल्लाका झण्डै १४ हजार घरपरिवारले निजी स्याउ बगैँचा तयार गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
जिल्ला कृषि विकास कार्यालय जुम्लाका योजना अधिकृत बालकराम देवकोटाले भन्नुभयो, किसानहरू स्याउ खेतीमा निकै आकर्षित भएका छन्, पछिल्ला वर्षका स्याउ बारी निर्माण गर्नेको सङ्ख्या निक्कै बढिरहेको छ । उहाँका अनुसार स्याउ खेतीले स्थानीय तहमा रोजगारीको सिर्जना पनि भएको छ । धेरैजसो युवा विदेशिन छोडेर गाउँघरमै स्याउ खेतीमा लागिरहेका छन् ।
सुर्खेत–जुम्ला–कर्णाली राजमार्ग जोडिएपछि यहाँका किसान स्याउ खेतीतर्फ लाग्ने बढी अभिप्रेरित भएका हुन् । पछिल्लो समयमा राजमार्ग कालोपत्रे भएपछि जिल्ला बाहिर सजिलै निर्यात हुने भएकाले पनि जुम्ली किसानको आकर्षण स्याउ खेतीमा बढेको नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले जानकारी दिनुभयो ।

१७ करोडको स्याउ निर्यात
यो वर्ष जिल्ला कृषि विकास कार्यालयले सिफारिस गरेका १७ करोड रुपियाँ मूल्य बराबरका दुई हजार दुई सय टन स्याउ जिल्ला बाहिर गएको छ । यो दर बर्सेनि बढ्दै गएको छ । कृषि विकास कार्यालयले आगामी पाँच वर्षमा जुम्लाले एक अर्ब रुपियाँ बराबरको स्याउ निर्यात गर्न सक्ने प्रक्षेपण गरेको छ । जिल्ला कृषि विकास कार्यालयका प्रमुख भरत कँडेलले भन्नुभयो, आगामी पाँच वर्षमा कम्तीमा एक अर्ब मूल्य बराबरको स्याउ जुम्लामा उत्पादन हुनसक्ने देखिएको छ ।
अहिले प्रतिकिसानले एक लाखदेखि १५ लाख रुपियाँसम्म स्याउबाट आम्दानी गरिरहेका बताइएको छ । कृषि विकास कार्यालयले स्याउ आत्मर्निभर कार्यक्रममार्फत सिँचाइ, साना अनुदानका कार्यक्रम, काँटछाँट, औषधि उपचार तथा प्रचारप्रसार गरेपछि स्याउ खेती फस्टाएको योजना अधिकृत देवकोटाले बताउनुभयो । यो वर्ष स्याउ बारीबाट किसानले प्रतिकेजी ६० रुपियाँका दरले स्याउ बिक्री गर्दै आएका छन् ।
जिल्ला कृषि विकास कार्यालयले स्याउ किसानलाई बिरुवामा अनुदान, ढुवानी र कार्टुनमा कृषि कार्यालयले थालेपछि स्याउ खेती व्यावसायिक रूपमा अघि बढिरहेको छ । जिल्लाको कुल तीन हजार ४५० हेक्टरमा स्याउ खेती गरिएकोमा नौ सय हेक्टरमा लगाएको स्याउले अहिले फल दिइरहेको कार्यालयले जानकारी दिएको छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना