यौनजन्य हिंसा

bisnu lamichhaneविष्णुकुमारी लामिछाने

 

हाम्रो समाजमा दिनहुँजसो यौनजन्य आपराधिक घटना भइरहेका हुन्छन् । घर, विद्यालय, यातायातका साधन, कार्यस्थल जुनसुकै क्षेत्रमा पनि यसको असर परिरहेको छ । अपरिचित व्यक्तिमात्र होइन आफन्त, विद्यार्थी, वृद्ध, बालिका, मानसिक सन्तुलन गुमाएका, सडक जीवन व्यतित गरिरहेका साथै एउटै कार्यस्थलमा सँगसँगै काम गर्ने सहकर्मी पनि यौनजन्य हिंसाबाट पीडित भइरहेका छन् । पर्याप्त प्रमाण जुटाएर कानुनी उपचारमा लाग्न नसक्नुले घटना बारम्बार दोहोरिरहने र सामाजिक विकृति बढ्ने गरेको पाइन्छ ।
मुलुकी ऐन, २०२० मा उल्लेख भएअनुसार कसैले कुनै महिलाको मञ्जुरी बिना निजको संवेदनशील अङ्ग छोएमा वा छुने प्रयास गरेमा, निजको भित्री पोशाक खोलेमा वा खोल्ने प्रयास गरेमा, निजलाई अस्वाभाविक रूपमा कुनै एकान्त ठाउँमा लगेमा, आफ्नो यौनसम्बन्धी अङ्ग निजलाई छुन लगाएमा वा निजलाई अश्लील वा अन्य त्यस्तै प्रकारको शब्द, सङ्केत प्रयोग गरेमा वा चित्र, तस्वीर देखाएमा, यौनका आशयले जिस्काएमा वा हैरानी दिएमा वा निजसँग यस्तै अन्य कुनै किसिमले अस्वाभाविक व्यवहार गरेमा वा निजलाई करणीका आशयले समातेमा यौन दुव्र्यवहार गरेको मानिनेछ र त्यस्तो कसूर गर्ने व्यक्तिलाई १ वर्षसम्म कैद र १० हजार रुपियाँसम्म जरिवाना हुनेछ । यस्तो कार्यबाट पीडित व्यक्तिलाई कसूरदारबाट मनासिव माफिकको क्षतिपूर्तिसमेत भराई दिनुपर्ने व्यवस्था गरिएको छ । कानुनी प्रावधान यस्तो भए पनि पर्याप्त प्रमाण पु¥याएर कानुनी उपचारतर्फ कसरी लाग्ने भन्ने अन्योल हुँदा पीडकलाई कारबाहीको दायरामा ल्याउन सकिएको छैन ।
हिजोआज हरेक क्षेत्रमा महिलाले असुरक्षा महशुस गरिरहेका हुन्छन् । बालिका हुन् या वृद्धा जुनसुकै उमेर समूहका महिला आफ्नै परिवारमा पनि सजग र सतर्क नरहने हो भने जुनसुकै समयमा शिकार बन्न सक्छन् । आफ्नै बाबुबाट छोरी बलात्कृत भएका घटना पनि सञ्चारका माध्यमबाट सुनिने गर्छन् । आफ्नै हजुरआमालाई बलात्कार गरी हत्या गरेका घटना पनि नघटेका होइनन् । कामदारको रूपमा रहने महिलाको अवस्था त झनै दयनीय रहेको पाइन्छ । मार्गदर्शकको भूमिका निर्वाह गर्नुपर्ने शिक्षकबाट पनि विद्यार्थीहरू यौनहिंसामा परिरहेका छन् । विभिन्न बहानामा छात्रालाई एक्लो पारी जिस्काउने, अनावश्यक रूपमा छुने, अश्लील शब्द प्रयोग गर्ने, अश्लील चित्र भिडियो देखाउने, कोट्याउने, लगायतका दुव्र्यवहार गरिरहेका हुन्छन् । विद्यार्थी खुलेर यस्ता समस्या आफ्नो अभिभावकलाई सुनाउन र त्यसको प्रतिकार गर्न सकिरहेका हुँदैनन् । जसको कारण यौनजन्य क्रियाकलापमा कमी आउन सकेको हुँदैन ।
बालिका हुन् या किशोरी अझै महिला नै किन नहुन् ग्रामीण क्षेत्रमा बढी यौनहिंसाको जोखिम रहेको पाइन्छ । परिवारका सदस्य आफ्ना बालबालिकालाई घरमै छोडी खेतबारीमा काम गर्न जाँदा पनि छिमेकीबाट घरमै यौनजन्य हिंसामा परिरहेका हुन्छन् । मानवीय संवेदनशीलताको ख्याल नराख्ने मानवरूपी दानवबाट दिनदहाडै महिला तथा बालबालिका बलात्कारका शिकार बनिरहेका छन् । ग्रामीण क्षेत्रमा रहेका भेँडीगोठ, खर्कमा गोठालोको रूपमा काम गर्ने महिला सँधै जोखिममा रही काम गरिरहेका छन् । उनीहरूलाई वन्यजन्तुको भन्दा पनि दुव्र्यवहार गर्ने पुरुषसँग जोगिन अत्यन्तै मुस्किल रहेको हुन्छ ।
मानसिक अस्वस्थताका कारण घरमै बन्धक जीवन बिताएका महिला हुन् या सडक जीवन व्यतित गरिरहेका महिला नै किन नहुन् जो कोही सुरक्षित छैनन् । बढी जोखिममा रहेका यस्ता महिला आफूलाई परेका पीडा अरूसँग भन्न नसक्ने, कसले के गरेको छ बुझ्न नसक्ने हुँदा धेरैजसो बलात्कारको शिकार भइरहेका हुन्छन् । सडक जीवन बिताउने महिला धेरैबाट पीडित हुन सक्ने हुँदा एच.आई.भी. जस्ता धेरै रोगको बाहक बनिरहेका छन् । यसरी मानसिक अस्वस्थताको कारण महिला आफूमात्र पीडित नभइ पीडकको माध्यमबाट समाजका अन्य व्यक्ति पनि पीडित बन्न सक्ने हुँदा जोखिममा रहेका महिलाको समयमा नै पुनःस्थापना गर्नु अपरिहार्य हुन्छ ।
महिला यौनजन्य घटना भएपछि यथाशीघ्र स्वास्थ्य परीक्षणसँगै सम्बन्धित निकायमा उजुरी गर्नुपर्ने जानकारीको अभावले गर्दा केही समय चुपचाप लाग्ने गर्छन् भने कसैले घटनालाई बाहिर ल्याउन खोज्दा राजनीतिक दबाबमा समाजमा नै मिलाउने प्रयास गरिएको पाइन्छ । पीडितलाई दबाब उपर चित्त नबुझेमा कानुनी प्रक्रियाको बाटो अवलम्बन गर्न खोज्छन् । समयमा नै स्वास्थ्य परीक्षण हुन नसक्दा सही र वास्तविक प्रतिवेदन प्राप्त गर्न सक्ने अवस्था रहँदैन । यसरी प्रक्रियाले समयसीमा नाघेपछि पीडितले न्याय प्राप्त गर्ने सम्भावना रहँदैन जसले दण्डहीनता बढ्न गई पीडकलाई थप बल पुग्छ ।
परिवारमा आमा गुमाएका, बुबाले पुनर्विवाह गरेका, अभिभावक दुवै गुमाएका अथवा पारिवारिक अपहेलनामा परेका बालिका हाम्रो समाजमा बढी हिंसामा परिरहेका हुन्छन् । विवाह गर्ने वा आवश्यकता परिपूर्ति गरिदिने बहानामा महिलामाथि यौनजन्य हिंसा बढ्दै गएका छन् । पारिवारिक संरक्षणमा रहेका भन्दा यस्ता बालिका अरूको सहारा खोजिरहने कारण पनि यौनजन्य हिंसामा परिरहेका हुन्छन् । कतिपय अविवाहित बालिका १४, १५ वर्षको उमेरमै आमा बन्न पुगेका छन् । अभिभावक हुनु भए पनि बेवास्ता हुनुले यस्ता बालिका आमा र उनीहरूका बच्चाले कहिल्यै पनि न्यायिक अधिकार प्राप्त गर्न सकिरहेका हुँदैनन् । समाजमा नै बाबुको पहिचान गरी उसबाट दुई चार हजार रुपियाँ दिलाएर पीडकलाई उन्मुक्ति दिलाइन्छ । बाल्यावस्थामा नै पारिवारिक माया, ममता र सद्भावको अभावमा रहेका बालिका समाजमा असुरक्षित रहेका हुन्छन् ।
सुरक्षित, स्वच्छ तथा मर्यादित वातावरणमा काम गर्न पाउने प्रत्येक व्यक्तिको अधिकारलाई सुनिश्चित गर्दै कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहारलाई निवारण गर्न ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहारलाई निवारण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७१’ कार्यान्वयनमा आइसकेको छ तथापि कार्यस्थलमा हुने यौनजन्य दव्र्यवहारका बारेमा खुलेर बोल्ने गरेको पाइँदैन । यस ऐनले पनि सबै क्षेत्रमा हुने यौनजन्य क्रियाकलापको बारेमा सम्बोधन गर्न नसकेको, गोप्य उजुरीसम्बन्धी मौन, सामाजिक सञ्जालका माध्यमबाट गरिने हिंसा, यौनजन्य हिंसा प्रमाणित गर्ने कसरी भन्ने विषय प्रष्ट उल्लेख गरेको छैन ।
नेपालको कानुनले वैवाहिक बलात्कारलाई पनि अपराध मानेको छ । मुलुकी ऐन, २०२० को भाग ४ मा जबरजस्ती करणीको महलमा श्रीमान्ले श्रीमतीलाई जबरजस्ती करणी गरेमा तीन महिनादेखि छ महिनासम्म कैद हुने उल्लेख गरेको छ । हाम्रो समाजमा श्रीमतीले श्रीमान्बाट जबरजस्ती करणी भयो भनेर उजुरी गर्न नसकिरहेको अवस्था छ । श्रीमान्लाई कानुनी सजाय दिलाएपछि सम्बन्ध बिग्रने डरले, छोराछोरीको जिम्मेवारी र समाजले पनि राम्रो रूपमा नहेर्ने कारण श्रीमती श्रीमान्बाट पीडित भएको भन्न चाहँदैनन् । यसले कानुनी प्रावधान भए पनि व्यवहारमा ल्याउन कठिनाइ भएको देखिन्छ ।
यौनजन्य हिंसा अहिले एक सामाजिक समस्याको रूपमा देखिएको छ । एकातर्फ आम जनमानसमा कानुनी अनभिज्ञता रहेको छ भने अर्कोतर्फ कानुनी प्रावधानअनुसार प्रमाण पु¥याउन कठिनाइ देखिन्छ । पारिवारिक सदस्यबीच यस्ता विषयमा खुलेर कुरा राख्न नसक्ने र सामाजिक रूपमा इज्जतसँग तुलना गर्ने परिपाटीले गर्दा यौनजन्य हिंसामा न्यूनीकरण आउन सकेन । यसर्थ सबैले खुलेर आफू यौनजन्य हिंसामा परेको भन्नेलाई सम्मान गरी पीडकलाई कानुनी कठघरामा ल्याउने र यौनजन्य हिंसा गर्ने व्यक्तिलाई तिरस्कृत गर्ने हो भने पक्कै पनि यस्ता दुव्र्यवहारमा कमी आउन सक्ने देखिन्छ ।

 प्रकाशित मिति: २०७४/९/२१

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना