दूरी : नेपाली साहित्य र नोवेल पुरस्कारको

प्रदिप्नराज पन्त

 

नेपालीले साहित्यलगायत कुनै पनि विधामा अहिलेसम्म नोवेल पुरस्कार जितेका छैनन् । अल्फ्रेड नोवेलले पवित्र उद्देश्यका साथ सन् १८८६ मा आफ्नो सम्पत्ति दान दिएर उनकै इच्छा अनुसार स्वीडिस कमिटीबाट १९०१ देखि साहित्यमा नोवेल पुरस्कार दिने प्रचलन भएको हो । स्थापनाकाल देखि हालसम्म नोवेल पुरस्कारको बारेमा केही नकारात्मक टिप्पणीहरू भए पनि नोवेल पुरस्कारलाई विश्वमै अत्यन्त सम्मानित पुरस्कार मानिन्छ । नोवेल पुरस्कारको व्यवस्थापन गर्ने स्वीडिस प्रज्ञा प्रतिष्ठानले पुरस्कार विवादरहित होस् भनेर पारदर्शिता, स्वतन्त्र मूल्याङ्कन तथा विचारहरूको जनमत जस्ता कयौँ व्यवस्थाहरू समेत गरेको हुन्छ । एसिया महाद्वीपबाट कैयौँ साहित्यकारलगायत पनि नोवेल पुरस्कार नपाएका होइनन् तैपनि एसियाली क्षेत्रबाट यस पुरस्कार सम्बन्धमा बेलाबेलामा असन्तुष्टिका स्वरहरू सुनिन थालेका छन् । एसियालीहरूले यो पुरस्कारमा समसामयिक सुधारहरू जस्तो कि मूल भाषामा लेखिएका कृितहरू विना अनुवाद नै मूल्याङ्कन हुनुपर्ने आवाज पनि उठाउन थालेका छन् । प्राविधिक कारणहरू पनि होलान् जसले गर्दा नोवेल कमिटीले सबैको विचारहरूलाई समेट्न पक्कै पनि सम्भव नहुन सक्छ । आखिर जे जस्तो धारणा, मत अभिमत भए पनि संसारका अधिकांश मानिसहरू नोवेल पुरस्कार समिति तुलनात्मक रूपमा बढी पारदर्शी छ भन्ने ठान्दछन् र यो पुरस्कारको लागि लालायित पनि हुन्छन् नै ।
आजसम्म ११० चोटी नोवेल पुरस्कार वितरण गरिएको छ भने ११४ भाग्यमानीहरूले आफूलाई पुरस्कार विजेता भन्ने अवसर पाएका छन् तर सम्मानित पुरस्कार हुँदाहँुदै पनि नोवेल पुरस्कार स्वीकार नगर्ने साहित्यकार वा अन्य व्यक्तिहरू पनि नभएका होइनन् । सन् १९५८ मा तत्कालीन सोभियत युनियनका बोरिस पास्टरनाक र १९६४ मा जाँ पावेल साट्रेले यो पुरस्कार अस्वीकार गरे । बोरिसले अस्वीकार गर्नु चाहिँ राजनीतिक कारण थियो भने जिन पावलले चाहिँ आफूले कुनै पनि आधिकारिक पुरस्कार नलिने घोषणा गरेका थिए ।
नोवेल पुरस्कार देशकै प्रतिष्ठासँग जोडिएको हुन्छ र यस्ता पुरस्कारहरू व्यक्तिको मात्र नभइ देशकै हरेक वर्गका नागरिकहरूलाई समेत गौरवको विषय हुने भएकोले नोवेल पुरस्कारहरूलाई अत्यन्त महìवपूर्ण मानिएको हो । तर नेपाल र नेपालीहरू अहिले पनि नोवेल पुरस्कारबाट टाढा छन् । नेपालीले पनि साहित्य वा अन्य विधामा नोवेल पुरस्कार जित्न नसक्ने होइनन् तर यसका लागि थप केही समसामयिक प्रयास गर्नुपर्र्ने देखिन्छ ।
पौराणिक कालको नेपाली साहित्य
नेपालमा बढी पढिएको बढी रुचाइएको कृतिहरूमा वेद, उपनिषद्, महाभारत, रामायणको आफ्नै विशेषता भए पनि असलमा ती सबै कृतिहरू संस्कृत भाषामा लेखिएका थिए । नेपालीको असीम श्रद्धा, र विश्वास भए पनि ती कृतिलाई नेपाली भन्ने आधार खासै देखिँदैन । तर्क गर्न सकिएला तर विज्ञान सम्मत आधारहरू भने प्रस्तुत गर्न सकिन्न । र संस्कृत भाषामा लेखिएका कृतिहरू उल्लेख नगर्ने हो भने नेपालको साहित्यको इतिहास त्यति लामो पनि छैन ।
नेपाल राज्य सुरु भएपछिका पहिलो शासक किराँतहरूको बारेमा त्यति धेरै जानकारी प्राप्त गर्न सकिएको छैन, यस्तै लिच्छविहरूको बारेमा दस्तावेजहरू त पाइन्छ तर तिनीहरूको पालाका साहित्यको बारेमा खासै केही जानकारी उपलब्ध छैन । यसपछिका शासकहरूको पनि धेरै समय युद्ध कूटनीति तथा बाह्य हस्तक्षेपबाट सुरक्षित गर्ने भन्ने कुरामा नै बित्यो । मल्ल शासकहरूको पालामा विकास निर्माण लगायत वास्तुकला साहित्यको विकास त भयो तर उनीहरू आफूलाई भगवान् विष्ण्ुाका अवतार सम्झने गर्दथे र नागरिकलाई साहित्य सिर्जनाको लागि प्रोत्साहन गर्दैनथे भन्ने गरिएको छ । यस्तै उनीहरूबाट सिर्जित साहित्य पनि शिलालेखहरूमा नाम मात्रको सीमित छ । मल्ल पछिका शाह वंशको कालमा केही साहित्यिक कृतिहरू जन्मिए पनि वास्तविक साहित्यिक कृति चाहिँ भानुभक्तको पालादेखि भएको हो भन्नुपर्ने हुन्छ । यसैले पनि उनलाई आदि कविको सम्मान दिइएको होला । यसपछि पनि नेपाली भाषामा विभिन्न साहित्यकारले अब्बल साहित्यिक कृतिको रचना गरे पनि तिनका उपयुक्त तवरले प्रचारप्रसार तथा अनुवादको अभावका कारण नोवल पुरस्कारसम्म पुग्ने कृतिहरू नेपाली साहित्यमा कमै देखिएका हुन् । तर नेपालको बारेमा विदेशीहरूले लेखेका किताबहरू चाहिँ खोज तलास गर्ने हो भने प्रशस्त भेटिन्छ । गुगल र इन्साक्लोपेडियामा शोध गर्दा नेपाल र भारतको बारेमा विदेशीहरूले भानुभक्त कालभन्दा पनि अघि प्रशस्त खोज अनुसन्धान गरेको पाइन्छ र तीनिहरूको बारेमा जानकारी लिन अहिलेका नेपाली साहित्यकारहरूलाई आवश्यक छ ।
पाटलिपुत्रको बारेमा चीनका बुद्ध गुरु भिक्ष्ुा फक्सियनले वर्णन गर्दा नेपालको सन्दर्भ पनि उल्लेख गरेको पाइन्छ । नेपालमा उनले कथा कविता भन्ने चलन भएको तर लिखित केही नभएको कुरा वर्णन गरेका छन् भने ठाउँ ठाउँमा सनातन धर्म र संस्कृति चर्चा हुने गरेको दर्शाइएको छ । ब्रिटिस इन्डियाको समयमा पनि नेपालको बारेमा लेखिएका प्रशस्त कृतिहरू छन् भने कोही कोही साहित्यिक कृतिहरूमा नेपाली समाजलाई चित्रण गरिएको पनि पाइन्छ तर नेपालीहरूको त्यतिबेलाको लिखत साहित्यहरू भने छापामा अथवा सन्दर्भ सामग्रीको रूपमा सहज प्राप्त गर्न सकिँदैन ।
आधुनिक साहित्यमा छनोटको दुविधा ः
आधुनिक नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय स्तरका साहित्य भनिए पनि कुनै पुरस्कार र सम्मानले सुशोभित भएको छैनन् । नेपाली साहित्य एउटा सीमित घेरामा बाँधिएको छ र आफैँमा परिपूर्ण झँै आफ्नै स्रामाज्यमा रमाएको छ । यदि यस्तै अवस्था रहिरहेमा भविष्यले अहिलेका साहित्यकारलाई प्रश्न गर्नेछन् किन हाम्रो साहित्य अन्तर्राष्ट्रिय साहित्यबाट टाढा राखियो ? विश्वप्रतिष्ठित पुरस्कारबाट हाम्रा साहित्यिक कृति किन पुरस्कृत हुन सकेनन् ? यस्ता प्रश्नको जवाफ खोज्न अब पनि थालिएन भने यो ढिला सुस्तीको परिणाम र अर्थ यही हुन्छ, अहिलेको साहित्य पुस्ता अन्तर्राष्ट्रिय स्तरको साहित्य सिर्जन गर्न नसक्नेहरूको जमात हो जसलाई असत्य साबित गर्न समकालीन नेपाली साहित्य जुर्मु¥याउनु नै पर्छ ।
नेपाली साहित्य विश्वस्तरका छन् भनेर भन्ने गरिन्छ तर प्रश्न के छ भने कुन चाहिँ साहित्य कथा कविता, निबन्ध उपन्यास विश्वको या अन्तर्राष्ट्रिय स्तरको कुन साहित्य नजिक छ भन्ने कुरा भनिँदैन । अथवा नेपाली साहित्यको तुलना विदेशी साहित्यसँग गरिएको पाइँदैन । यसरी नतोकिकन सतही रूपमा गरिएको तुलनाले आम नेपाली साहित्यका पाठकहरू दुविधामा परेका छन् ।
तुलनात्मक अध्ययन गर्न समस्या नभएको होइन । सबैभन्दा पहिलो समस्या त भाषाकै हो । मूल भाषामा लेखिएको विदेशका साहित्यहरू पढ्न र त्यसलाई मनन गरी तुलनात्मक समीक्षा गर्न सहज हँुदैन । नेपाली साहित्यका आलोचक, समालोचकहरूले कति र कुन तहको विदेशी पुस्तक पढ्दछन् भन्नेबारेको आँकलन सहज रूपमा गर्न पनि सकिन्न तर मूल भाषामा लेखिएको कुनै अन्तर्राष्ट्रिय स्तरको कृतिलाई अर्को भाषामा अनुवाद गरेर पढिएको कृतिको समीक्षा गर्दा या पढ्दा कृतिको गहिराइलाई बुझ्न नसकिने कुरा स्वीकार्छन् विश्वभरिकै समालोचकहरू । मातृ भाषा बाहेकका भाषाहरूमा लेख्दा पढ्दा बुझाइको अन्तर ज्यादै फराकिलो हुने मात्र होइन साहित्यले दिने स्वाद नै मसाला विनाको अचार जस्तै हुन्छ । अत्यन्त शिल्पीयुक्त कलाकारले आफ्नो कलामा प्राण भरेर जीवन्त बनाए जस्तै मूल भाषाका कृतिलाई अन्य भाषामा अनुवाद गर्दा अनुवादकले विशेष कलाको प्रयोग गरेर नै संसारका अन्य देशका साहित्यकारहरूले अन्तर्राष्ट्रिय पुरस्कार जितेको पाइन्छ । यसैले अनुवादलाई उनीहरू कला ठान्दछन् र साहित्यिक कृतिहरू अनुवाद गर्दा अनुवादकमा पुर्नलेखन गर्न सक्ने क्षमता हुनु पर्ने कुरा दर्शाउँछन् । पुनर्लेखन नगरी सार अनुवाद गरिएका कृतिहरू सबल र पढ्न लायक नहुने कुरामा साहित्यकारहरू सहमत भएको पाइन्छ । हालसम्म ११४ वटा साहित्यिक कृतिले पाएको नोवेल साहित्य पुरस्कार हेर्दा सबभन्दा बढी २९ वटा कृतिहरू अङ्ग्रेजीमा लेखिएका थिए तर ८५ वटा कृतिहरूको मूल भाषा अङ्ग्रेजी थिएन र अनुवाद गरिएका थिए । जानकारहरूका अनुसार ती सबै कृतिहरूको मूल भाषा भन्दा अनुवाद भएर आउँदा अनुवादकले अथक प्रयत्न गरेको र उनीहरूले आवश्यक पुनर्लेखन समेत गरेको कुरा थाहा पाइन्छ ।
पुनर्लेखन नगर्दा साहित्यमा उठाइएका कतिपय मुद्दा, घटनाहरू अर्को संस्कृति अर्को भूगोलका मानिसलाई ज्यादै खल्लो लाग्ने र मूल भाषामा जतिसुकै लोकप्रिय भए पनि त्यसले विश्वभरिका मानिसहरूलाई आर्कषण दिन नसक्ने कुरा घाम जत्तिकै छर्लङ्ग छ । लोकप्रियता पनि पुरस्कार चयनको मापदण्ड भएको हुँदा समसामयिक विश्वलाई ध्यान केन्द्रित नगरी लेखिएका कृतिहरू सुन्दर ह्ुँदाहँुदै अन्तर्राष्ट्रिय स्तरमा पुरस्कृत र मर्यादित हुन सक्दा रहेनछन् ।
महाकाव्य शाकुन्तलदेखि माधवीसम्म आइपुग्दा नेपाली साहित्यकारहरूको प्रेरणाको स्रोत महाभारत रामायण लगायत पौराणिक धार्मिक ग्रन्थहरू हुने गरेको पाइन्छ । छिमेकी मित्रराष्ट्रमा पनि यसरी नै अधिकांश साहित्य रचना भएको छ । विदेशतिर पनि रचनाहरू पौराणिक धार्मिक ग्रन्थबाट प्रेरणा लिएर आख्यानहरू लेख्ने गरिन्छ । तैपनि यसरी पे्ररित भइ नयाँ अन्तर्दृष्टि दिन खोजिएका कथा कविताहरूले समेत पुरस्कारमा उचित स्थान नपाएको देखिन्छ । नेपाल भारतमा मात्र होइन ग्रीक, ल्याटिन, स्पेनिस र अङ्ग्रेजीमा लेखिएका कृतिहरूले समेत उचित स्थान नपाएको देखिएको छ तर सन् १९०३ मा नर्वेका व्योनस्तर्येने लेखेको सर्वाधिक प्रभावशाली एवं धनवान किसान र गर्वले उन्माद पादरीको बीचको व्यवहारको कथाले नोवेल पुरस्कार प्राप्त गरेको भए पनि अन्धविश्वास, डर त्रासयुक्त अन्य साहित्यिक कृतिहरू नोवेल पुरस्कारबाट सम्मानित हुन सकेका छैनन् ।
समसामयिक नेपाली संस्कृति कुरीति, छाउपडी, बाल विधवा, जीवित देवी देवता अथवा भनाँै आस्थासँग जोडिएका कथाहरू प्नि नोवल कमिटीले पुरस्कृत नगरेको देखिन्छ भने आस्था या विज्ञानसम्मत नभएका र अत्यन्त बहुचर्चित भए पनि अलौकिक शक्तिसँंग जोडिएका, एसट्रो फिजिस्टहरूले प्रमाणित नगरेका समानान्तर ब्रम्हाण्डका कथाहरू पनि चयन हुन नसकेका थुप्रै उदाहरण छन् । यस्ता साहित्य चयन नभएकोमा अमेरिकीहरूले त असन्तुष्टि समेत प्रकट गरेका छन् तर विज्ञान कथा र त्यसमाथि पनि कडा विज्ञान कथाहरू, जसको प्रमाण अहिले पृथ्वीमा भेट्न सकिन्छ, त्यस्ता कथाहरू र कथाकारहरू चाहिँ नोवेल पुरस्कारबाट पुरस्कृत भएका छन् । सन् २००७ मा पुरस्कृत विज्ञान कथाकार डोरिस लेसिङ्ग यसका पछिल्लो उदाहरण हुन् ।
हुन त अक्सफोर्ड विश्व विद्यालयले प्रकाशित गरेको जर्नलमा अन्तर्राष्ट्रिय साहित्य भनेकै अन्य देशको कला संस्कृति लगायत जीवनशैली रहनसहनको जानकारी प्राप्त गर्ने साधन भनिएको छ तर नोवेल पुरस्कारसँंग जोड्ने हो भने अक्सफोर्डको त्यो परिभाषा नोवेल कमिटीमा लागू भएको आधारहरू चाहिँ पाइँदैन र ब्रह्माण्डभरि नै पढ्दा सुन्दा सबै पाठकहरूलाई उस्तै उस्तै अनुभूति दिने खालका कृतिहरू नै पुरस्कृत भएको पाइन्छ । यसैले नोवेल पुरस्कार कमिटीले कृति पुरस्कृत गर्दा अपनाएको प्रचलनबारे जानकारी राख्नु पनि साहित्यकारहरूका लागि फाइदाजनक नै हुन्छ ।
अनुवाद कला
कृतिको छनोट मात्रै होइन अनुवाद पनि स्तरीय भएन भने कृतिको गुण, लोकप्रियता जस्तो भए पनि त्यो पुरस्कारको लागि असफल हुन्छ । यसैले अनुवादलाई अनुवाद मात्र नभनी साहित्यमा चाहिँ कला भन्ने गरिन्छ । त्यस्तो कला साहित्यको परख नभएका र साहित्यसँग साक्षात्कार नभएका अनुवादक, भाषाविद्हरूसँग हुन सक्दैन । अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन पुर्नलेखन समेत गर्नु पर्दछ र यस्को लागि अनुवादक र मूल लेखक दुवैले अत्यन्त सहजता र हार्दिकता साथ काम गर्नुपर्दछ ।
नेपाली साहित्यको विकास अत्यन्त द्रुत गतिमा भएको र संख्यात्मक तथा गुणात्मक दुवै रूपले विकास भएको छर्लङ्गै नै छ तर दुर्भाग्य के हो भने पुर्नलेखन नगरिकनै अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गरिएका नेपालको धेरैजसो साहित्यिक कृतिहरू अन्तर्राष्ट्रिय स्तरमा पुग्न भने सफल भएको पाइँदैन । भविष्यमा गरिने अनुवाद पनि अन्तर्राष्ट्रिय लेखन शैलीलाई पछ्याउन सकिएन भने हाम्रो साहित्य अन्तर्राष्ट्रिय हुन सक्दैन । परिणामस्वरूप नेपाली साहित्यले नोवेल पुरस्कारको त कुरै छोडौँ अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व समेत हुन सक्ने सम्भावना हुदैन ।
साहित्यिक संस्कृतिको कमी
अन्तर्राष्ट्रिय स्तरमा साहित्य पु¥याउन देश भित्र साहित्यिक संस्कृतिको विकास हुन जरुरी छ । अनुवाद, पुनर्लेखन एउटा पाटो हो तर समष्टिगत साहित्यिक संस्कृतिको विकास अझै पूर्ण छ । साहित्यले नै मानव जीवनलाई आधुनिकता र सन्तुष्टि दिन सक्छ । संस्कृतिका अरु पक्षहरू महìवपूर्ण हुँदाहँुदै पनि अलौकिक सुखानभूति मानिसहरूलाई साहित्यले बाहेक अरुले दिन सक्दैन किनकि साहित्य स्पष्टसंग छापामा मात्र अभिव्यक्त गर्न सकिन्छ भन्ने धारणा छ । हालसम्म साहित्य विधाका कथा, कविता, उपन्यास आदिलाई छापामा प्रस्तुत गर्दा मानिसहरूले वढी मन पराएका पाइन्छन् । यसैले छापा माध्यममा प्रवद्र्धन गर्नको लागि सरकार संग अथवा भनौं देश भित्र अन्य देशहरूले अपनाएको पद्धति पनि अनुसरण गर्न आवश्यक छ । नेपालीहरूले लेखेका अनुवाद गरेको अङ्गे्रजी कृतिहरू कम प्रचलनमा भएका केही पुस्तक पसलमा मात्र पाइने र सहज रूपमा समेत विश्वभरि प्राप्त गर्न असम्भव नभए पनि मुश्किल भने पर्दछ । यो व्यवस्थापकीय पक्ष हो तर महत्वपूर्ण छ र यसलाई पनि साहित्यिक संस्कृतिको एउटा पाटोका रूपमा लिन सकिन्छ । अहिले विभिन्न किसिमका अन्तर्राष्ट्रिय पुरस्कारहरूको लागि कृतिहरूको प्रचार तथा प्रसार कहाँ कहाँं भएको छ भन्ने पनि मापनको आधार हुन थालेको छ ।
साहित्यिक संस्कृतिको कुरा गर्दा विश्व भरिनै रोमान्चक प्रचलनहरू व्याप्त छ । अमेरिकामा व्यक्तिहरूले साहित्यमा लगानी गर्दछन् । ठूला ठूला व्यापारिक घरानाहरू, धनी व्यक्तिहरू आफै अग्रसर भई सहयोगको हात बढाउँछन् । यहाँसम्म कि मेरो उपन्यास छापिएन तर मलाई लेख्ने इच्छा छ । म लेखिरहन्छु मलाई सहयोग चाहियो भनेर माग्यो भने अमेरिकामा सहज रूपमा मानिसहरू सहयोग गर्न तँछाडमँछाड गर्छन् भने फ्रान्स र युरोपमा सरकारले नै प्रशस्त सहयोग गर्दछ । किनकि उनीहरू साहित्यलाई आफ्नो संस्कृतिको विशिष्टता फैलाउने औजारको रूपमा लिन्छन् ।
यस बाहेक नेपाली साहित्यमा विविधताको समेत अभाव देखिन्छ । झण्डै १४ अर्ब डलरको व्यवसाय हुने विज्ञान कथा नेपाली भाषामा त्यति प्रकाशनमा देखिँदैन । समानान्तर ब्रह्माण्ड र केही अलौकिक शक्तिको एकदमै सीमित कथाहरू बाहेक भविष्य विज्ञान तथा प्रविधि, नक्षत्र यात्रा, समय यात्रा, प्रकाश वर्ष भन्दा पनि तीव्र गतिमा चल्ने कथाका पात्रहरूमा आधारित आधुनिक विज्ञान प्रयोग गरिएको कथाहरूको खडेरी नै परेको छ नेपाली साहित्यमा ।
सरकार व्यवसायी र धनी व्यक्तिहरू मात्र नभइ साहित्य प्रर्वद्धनको लागि सबै तह र तप्काका मानिसहरू लाग्नु पर्दछ । साहित्यले नै कुनै विषयको गहिराइसम्म प्रवेश गर्न सक्ने क्षमताको अभिवृद्धि गर्दछ । यसको कुनै सीमा पनि हुँदैन र योसँग विश्वभरिकै मानिसहरूले शत्रुता पनि गर्दैनन् भन्ने गरिन्छ । साहित्य स्वतन्त्र, मर्यादित र पुरस्कृत भयो भने देशको गौरव बढ्ने मात्र होइन प्रभाव समेत विश्वव्यापी रूपमा पर्ने गर्दछ । यसैले साहित्यलाई सम्मानित, मर्यादित र अन्तर्राष्ट्रियकरण गर्नको लागि कृतिहरूको छनोट लगायत साहित्यिक संस्कृतिको विकासको लागि सबै सरोकारवालाहरूले प्रयास गर्न आवश्यक भैसकेको छ ।

 

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना