नेताकेन्द्रित पत्रकारिता

रघुनाथ खकुरेल

 


नेपाली सञ्चारका माध्यममा राजनीतिक दलका नेता एवं तिनले गरेका क्रियाकलाका बारेमा दैनिक समाचार आइरहन्छन् । उनीहरूले गरेका क्रियाकलापको समाचार नबनेको दिनै हुन्न, चाहे त्यो सकारात्मक होस् वा नकारात्मक । हरेक सञ्चारका माध्यमले तिनलाई प्राथमिकताकासाथ प्रकाशन एवं प्रसारण गरिरहेका छन् ।
सञ्चारका माध्यमले प्रवाह गर्ने समाचार जबसम्म पाठक, स्रोता र दर्शकका माझसम्म पुग्दैन र पुगेर पनि उनीहरूको मन मस्तिष्कमा बस्दैन त्यसले ताìिवक रूपमा कुनै अर्थ राख्दैन । जब त्यसले पाठक, स्रोता र दर्शकको मन मस्तिष्कलाई छुन्छ, अनि मात्र समाचारको अर्थ रहन्छ । यहाँ राजनीतिक दलका नेताले गर्ने हरेक क्रियाकलापलाई समाचार बनाएर प्रकाशन एवं प्रसारण गरिदा सञ्चारका माध्यम र पत्रकार समेत राजनीतिक दलका कार्यकर्ताजस्तो देखिन थालेका छन् । यसले पत्रकारको निष्पक्ष पत्रकारितालाई चुनौती दिएको छ । आम नागरिक सत्यतथ्य समाचारबाट सुसूचित हुने अधिकारबाट वञ्चित भएका छन् ।
प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गर्ने हरेक क्रियाकलापले सामाजिक महìव राख्ला, किन कि उहाँ देशकै प्रधानमन्त्री हुनुहुन्छ । त्यसमा पनि देशकै ठूलो राजनीतिक दलको सभापति हुनुहुन्छ । देशकै प्रधानमन्त्री भएको नाताले उहाँको काँधमा देशभरिका जनताको जिम्मेवारी छ । त्यसैले उहाँप्रति सबै नेपालीको ध्यान जानु अनुचित होइन । त्यस्तै, पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष के.पी. शर्मा ओली, पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका अध्यक्ष डा. बाबुराम भट्टराई, राप्रपाका अध्यक्ष कमल थापालगायत अन्य पार्टीका शीर्ष नेताले गर्ने क्रियाकलापले अवश्य महìव राख्छ । तर यति हुँदाहुँदै पनि उहाँहरूको व्यक्तिगत जीवन, उठ्बस, खानपान आदिमा देखिने कमीकमजोरीलाई हँसी–मजाक बनाएर समाचार बनाइन्छ ।
सामाजिक सञ्जालमा समेत तिनले स्थान पाउँछन् । तर, नेपाली सञ्चार माध्यममा देशमा हुने गरेका विकास निर्माणका गतिविधि र जनहितका विषयले भने त्यति प्राथमिकता पाउँदैनन्, जति राजनीतिक दलका नेता र तिनका कार्यकर्ताले गरेका कार्यले स्थान पाउँछन्, किन ? आज यो प्रश्न पाठक, स्रोता र दर्शकले आमसञ्चारका माध्यम र सञ्चारकर्मीलाई गर्न थालेका छन् । यसको पत्यारिलो उत्तर सञ्चार माध्यमले दिन सक्नु पर्छ ।
जनहित र देश विकासका लागि राजनीतिक दल र तिनका नेता मात्र सर्वेसर्वा होइनन् । देश विकास गर्ने ठेक्का राजनीतिक दलका नेताले मात्र लिएर आएका छैनन् । देश विकास र जनहितको काम गर्नु राजनीतिक दलका नेता र तिनका कार्यकर्ताको मात्र नभई हामी सबै राजनीतिक दलका नेता, कार्यकर्ता, कलाकार, उद्योगी, व्यापारी, समाजसेवी, वकिल, डाक्टर, पत्रकार, बुद्धिजीवी, श्रमिकलगायत सबैको उत्तिकै जिम्मेवारी छ । यद्यपि, राजनीतिक दलका नेताको भूमिका अरूको भन्दा केही बढी छ । यसमा कसैको दुई मत छैन । त्यसो हो भने किन त सञ्चारका माध्यम र पत्रकार राजनीतिक दलका नेताले गरेका काम मात्र धेरै देख्ने गर्छन् र तिनका मात्र बढी समाचार बनाउँछन् । चाहे त्यो सकारात्मक होस् वा नकारात्मक होस्, समाचार बनिहाल्छ, अनि प्रकाशन र प्रसारण भइहाल्छ । राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीलगायत उच्च तहमा रहने व्यक्तिहरूले गाउँमा गएर गुन्द्रीमा बसेर खाएको, पेयपदार्थ पिएको, कसैले जुत्ता बोक्न सहयोग गरेको, खोला तर्दा कसैको सहयोग लिएको वा बोकेको, छाता ओढाइ दिएको आदि सामान्यभन्दा सामान्य क्रियाकलाप पनि समाचार बन्नु र प्रकाशन एवं प्रसारण हुनुले कतै पत्रकारिताको स्तर खस्किँदै गएको त होइन भन्ने प्रश्न उठ्छ ।
पत्रकारितालाई राज्यको चौथो अङ्गका रूपमा लिइन्छ । त्यसैले पत्रकारिता जगत् राजनीतिक दल र नेताको गुणगानमा भन्दाराज्यको विकास र जनताको सर्वोपरी हितका लागि बढी संवेदनशील हुनुपर्ने हो । तर हिजोआजका सञ्चार माध्यम र पत्रकार बढी राजनीतिक शक्ति केन्द्रको वरिपरि घुमिरहेका देखिन्छन् । राजनीतिक शक्तिकै गुणगान गाउनमा मस्त रहेका देखिन्छन् । देश र जनताको जीविकाको सवालमा, उन्नति र प्रगतिका सवालमा, गरिबी अन्याय र अत्याचारका सवालमा, श्रमिक र शोषणका सवालमा, भौतिक निर्माण र विकासका सवालमा, ग्रामीण बस्ती र तिनका दुःख पीडा आदि विषयमा सशक्त रूपमा कलम चलाउनु पर्ने पत्रकार हिजोआज सिंहदरबार वरिपरिका शक्ति पुञ्जको गुणगान गाउनमा व्यस्त रहनुले नेपाली पत्रकारिता जगत्लाई कसले हाँकेको छ । यो जगत् कताबाट नियन्त्रित छ भन्ने कुरा घाम जत्तिकै छर्लङ्ग भएको छ ।
सत्य, तथ्य र जनहितका लागि उपोगी समाचार सङ्कलन गर्नु र त्यसलाई इमानदारीका साथ प्रकाशन र प्रसारण गर्नु सञ्चार माध्यम र पत्रकारको कर्तव्य हुन आउँछ । समय र सन्दर्भअनुसार आफूलाई नियम र कानुनको परिधिमा राखेर परिमार्जित हँुदै जानु आजको आवश्यकता हो ।
त्यसैले अबका दिनमा पत्रकार एवं सञ्चाकारका माध्यमलाई बढी संवेदनशील हुने शिक्षा दिनु र तिनलाई आफ्नो आचरणमा बस्न बाध्य पार्ने नियम लागू गर्न ढिला भइसकेको छ । नत्र यसले नेपाली पत्रकारिता क्षेत्रको अवमूल्यन गर्नुका साथै मर्यादालाई समेत मर्दन गर्नेछ । त्यसैले राज्य, सरकार, सरकारी निकाय, पत्रकारिता जगत्सँग सम्बद्ध सबै पक्ष एक जुट भएर पेशागत हित र पत्रकारिताको मर्यादालाई जोगाउन तिर लागौँ । शक्ति केन्द्रहरू र तिनका पछि नलागौँ । राज्यको चौथो अङ्गले आफू पनि मर्यादामा बसेर कर्तव्यको पालना गराँै र अरूलाई पनि खबरदारी गरौँ । अन्य देशका पत्रकारझै सम्मानित भएर पत्रकारिता पेशालाई अँगालौं ।

 प्रकाशित मिति: २०७४/९/२३

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना