रानीपोखरीमा भेटिएला खजाना ?

ranipokhariकाठमाडौँ, पुस २४ गते । राणाकालमा रानीपोखरीमा के धनमाल खसालिएको थियो होला ? खसालिएको थियो भने त्यो धनमाल पाइएला कि नपाइएला ? पुरातत्व विभागले रानीपोखरीमा उत्खनन सुरु गरेपछि अहिले धेरैमा यस्तै कौतुहल उत्पन्न भएको छ । 

मल्लकालीन राजा प्रताप मल्लले बनाउन लगाएको रानीपोखरीमा राणाकालीन निर्माणको समेत अवशेष पाइएपछि यो कौतुहल देखापरेको हो । उत्खननमा संलग्न पुरातत्व अधिकारी भाष्कर ज्ञवालीका अनुसार तत्काल उत्खनन गर्दा पोखरीको निर्माणको कालक्रमलाई मात्र हेरिएको छ ।
ज्ञवालीले भन्नुभयो, उत्खननमा संलग्न समितिले पोखरीमा रहेको पानीको स्रोत र यसको निकासबारे अध्ययन हुन आवश्यक रहेको भनी प्रतिवेदन दिएको छ । पानीको निकास र स्रोत खोतल्दा गरिनुपर्ने उत्खननले रानीपोखरीमा वास्तवमै धनमाल गरगहना खसालिएको थियो, थिएन भन्ने खुल्न सक्छ । श्री ३ जङ्ग संस्थाका अध्यक्ष ७९ वर्षीय यमजितप्रताप जङ्गबहादुर राणा भन्नुहुन्छ, राणाकालमा जङ्ग र शमसेर खलकबीचको काटामारमा देश छाडी भाग्नुपर्दा राणा खलकबाट धनमाल गरगहना रानीपोखरीमा खसाली गएका भनी राणा खानदानमा सुनिँदै आएको हो । ’ उहाँका अनुसार रानीपोखरीमा धनमालका कन्तुर, सन्दुक छ कि छैन भनेर जाँच गर्ने नियतले टुँडिखेलमा घोडा दौडाइरहेका श्री ३ चन्द्रशमसेरका नाति ब्रह्मशमसेरले घोडासहित पोखरीमा हामफालेका थिए ।
यो घटनापछि मात्र रानीपोखरीमा पर्खाल लगाइएको हो । पुरातत्वको उत्खनन समितिले पर्खाललाई राणकालमै निर्माण भएको प्रतिवेदन दिएको छ भने पर्खालभन्दा तलको भागलाई मल्लकालीन निर्माण भनेको छ । श्री ३ जङ्गबहादुरद्वारा भगाएर ल्याइएका राजपूत गोरखपुरे महारानी र उनका साथमा रहेको धनमाल तथा लखनउमा लुटिएका नवाबका धनमाल कालक्रममा रानीपोखरीमा खसालिएको छ भन्ने गाइँगुइँ पछिसम्म पनि सुनिँदै आएको अध्यक्ष यमजितप्रताप जङ्गबहादुर राणा बताउनुहुन्छ ।
राणा भन्नुहुन्छ, गोरखपुरे महारानीको कालमोचनमा सालिक बनाइदिन दुईपल्ट आरति उतार्ने व्यवस्था सायद यिनै धनमालको कारणले पनि हुनसक्छ, यो चलन आजपर्यन्त चलिरहेको छ । यिनै महारानीका साथमा आएको कोहीनुरजस्तै हीरा पशुपतिनाथको ढुकुटीमा रहेको तथ्य उजागर भइसकेको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना