राष्ट्रियसभा निर्वाचनको तयारी तीव्र

Election-Commission-Nepalकाठमाडौँ, पुस २५ गते । निर्वाचन आयोगले २०७४ माघ २४ गते बुधबार सातवटै प्रदेशमा हुने राष्ट्रियसभा सदस्य निर्वाचनको आन्तरिक तयारीलाई तीव्र बनाएको छ । निर्वाचन आयुक्त इश्वरीप्रसाद पौड्यालले गोरखापत्रसँग सोमबार कुरा गर्नुहुँदै निर्वाचनका लागि नियमावली, निर्देशिका निर्माण गर्ने, जनशक्तिको व्यवस्थापनलगायत कार्यको तयारीमा तदारुकताका साथ आयोग जुटेको छ भन्नुभयो । उहाँले राष्ट्रियसभा सदस्य निर्वाचनको निर्वाचन कार्यक्रम पनि आयोगले एक÷दुई दिनभित्रै सार्वजनिक गर्ने बताउनुभयो । 

सातवटै प्रदेशमा हुने निर्वाचनका लागि निर्वाचन अधिकृतको नियुक्ति गर्नुपर्ने भएकाले आयोगले न्याय परिषद्सँगको परामर्शमा एक जना जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृत नियुक्तिको प्रक्रिया अगाडि बढाएको जनाएको छ ।
नेपाल सरकारले प्रदेशहरूको अस्थायी राजधानी नतोकेका कारण राष्ट्रियसभा निर्वाचनको मतदानस्थल कहाँ राख्ने भन्ने टुङ्गो भने लागेको छैन । आयोग स्रोतका अनुसार जहाँजहाँ उच्च अदालत रहेका छन्, तिनै जिल्लामा मतदान गराउने कि भन्ने तयारी गरिए पनि कुनै टुङ्गो लागेको छैन ।
आयोगले सोमबार निर्वाचनको मतदान र मतगणना कसरी गर्न सकिन्छ भनेर प्रारम्भिक चरणमा मतदान र मतगणना गराएको छ । मतदान र मतगणना कार्यमा आयुक्तहरू ईश्वरीप्रसाद पौड्याल, सुधीरकुमार शाह, सचिव बेगेन्द्रराज शर्मा पौड्याल तथा आयोगका अन्य उच्चपदस्थ कर्मचारीसमेत सहभागी हुनुभएको थियो ।
राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश २०७४ मा राष्ट्रियसभा सदस्यको निर्वाचन एकल सङ्क्रमणीय मत प्रणालीद्वारा हुने व्यवस्था छ । प्रत्येक प्रदेशबाट तीन जना महिला, एक दलित, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायबाट एक तथा अन्य तीन गरी जम्मा आठ जना निर्वाचित हुने व्यवस्था छ ।
अध्यादेशमा कुनै समूहबाट एक जनामात्रै सदस्य निर्वाचित गर्नुपर्ने अवस्थामा सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार निर्वाचित हुने थप व्यवस्था गरेकाले निर्वाचन प्रणाली दुईथरीको हुनेछ ।
आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको नियमावली र निर्देशिकालाई अन्तिम रूप दिनुअघि मतपत्र, कलम र कागजको सहयोगमा मतगणना गर्ने, त्यसैबाट कसरी मत अर्को उम्मेदवारमा सर्छ भन्ने विषयमा अध्ययनका लागि नमुना मतदान र गणना सञ्चालन गरेको बताइएको छ ।
राष्ट्रियसभाको निर्वाचनमा सात प्रदेशबाट निर्वाचित हुने ५५० जना र ७५३ वटा स्थानीय तहबाट निर्वाचित गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिका प्रमुख एवं उपप्रमुख गरी एक हजार ५०६ सहित जम्मा दुई हजार ५६ जना मतदाताले मतदान गर्नुहुनेछ ।
त्यस निर्वाचनमा प्रदेशसभाका सदस्यको मतभार ४८ छ भने स्थानीय तहका जनप्रतिनिधिको मतभार १८ रहेको छ । यस हिसाबले प्रदेशसभाको मतभार २४ हजार चार सय र स्थानीय तहको मतभार २७ हजार १०८ गरी जम्मा ५३ हजार ५०८ मतभारबाट जम्मा ५६ जना सदस्य निर्वाचित हुनेछन् । ५९ सदस्यीय रहेको राष्ट्रियसभामा एक महिलासहित तीन जनालाई राष्ट्रपतिबाट मनोनीत गरिने व्यवस्था छ ।
मतदान गर्दा मतदाताले पहिलो, दोस्रो र तेस्रो प्राथमिकता तोकेर मतदान गर्नुपर्नेछ । आयोग र राजनीतिक दलहरूले मतदातालाई राम्रो प्रशिक्षण दिएमा मात्रै बदर मत कम भई निर्वाचनमा अपेक्षित नतिजा आउने छ ।
काँग्रेससहित नौ दल दर्ता
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेसले निर्वाचन आयोगमा दल दर्ता गराएको छ । सोमबारसम्म नौवटा राजनीतिक दलले दल दर्ता गराएको जानकारी आयोगका प्रवक्ता नवराज ढकालले दिनुभयो ।
आयोगमा नेपाली काँग्रेस, नेपाल सङ्घीय समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, बहुजन शक्ति पार्टी, नेपाल परिवार दल, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र नौलो जनवादी पार्टीले निवेदन दर्ता गराएका छन् ।
प्रवक्ता ढकालका अनुसार यही पुस २८ गतेसम्म दल दर्ताको समय तोकिएको जानकारी दिनुभयो । हरेक निर्वाचनमा दल दर्ता गर्नुपर्ने प्रावधान रहेको छ । प्रदेशसभा र स्थानीय तहको एक स्थान पनि नजितेका दलले पनि दल दर्ता गराएका छन् ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना