पृृथ्वीनारायण शाहको योगदान

Dirgh raj prasaiदीर्घराज प्रसाई


विशाल–नेपालको सिर्जना पृथ्वीनारायण शाहको नेतृत्वमा साम्राज्यवादी शक्तिसँग भिडेर स्थापित भएको राष्ट्र हो । पृथ्वीनारायण शाहको जन्म वि.सं. १७७९ पौष २७ गते भएको थियो । विक्रम संवत् १७९९ साल चैत २५ गते, रामनवमीका दिन २० वर्षको उमेरमा पृथ्वीनारायण शाहबाट राज्यरोहण सम्पन्न भएपछि वि.सं. १८०० मा तीर्थयात्रा स्वरूप बनारसको भ्रमण गरेका थिए । बनारस भ्रमण गरेको अवस्थामा विश्वनाथको मन्दिर मुसलमान सम्राट औरंगजेवले भत्काएको र त्यो बेलासम्म भग्नावशेषको अवस्थामा नै थियो । त्यसले पृथ्वीनारायण शाह साह्रै चिन्तित थिए । उता इष्ट इण्डिया कम्पनीले भारतका विभिन्न राज्यमा हिन्दु धर्म र संस्कृतिको नास गराउन भारतीय परम्परा र संस्कृति ध्वस्त पार्दै, मन्दिर भत्काउने, धम्क्याउने फिरङ्गीको अनेकौँ अत्याचार देखेर हिवतखण्डको यो क्षेत्र जोगाउन पृथ्वीनारायण शाहलाई प्रेरणा जागृत गरायो । यसरी भारतमा अनेकौँ प्रकारले फिरङ्गीले सताएको प्रत्यक्ष जानकारी पाउने मौका मिलेको थियो । यसरी नै नेपाललाई पनि फिरङ्गीबाट आक्रमणको खतरा देखेर पृथ्वीनारायण शाहले बनारसको भ्रमण गरेको बेलामा हातहतियार बनाउने कारखानाको निरीक्षण गरी, हतियार मर्मत गर्ने कालीगढ मुसलमान र केही हातहतियार ल्याएका थिए ।
वि.सं. १८०१ मा नुवाकोट विजय गरेपछि पृथ्वीनारायाण शाहबाट कीर्तिपुरलाई अथक प्रयत्न, साम, दाम, दण्ड, भेदको नीतिबाट विजय हासिल भएपछि कान्तिपुर विजय गर्न बाटो खुल्यो । कीर्तिपुर विजयपछि आर्थिक नाकाबन्दी हटाएर आवश्यक सामग्री उपलब्ध गराउने कार्य भएकाले कान्तिपुरका जनता पनि भित्रभित्रै गोर्खाको समर्थक बन्न लागेका थिए । पृथ्वीनारायण शाहको नीति थियो कि आफूले विजय गरेका राज्यका जनताको भलो गर्नु । पृथ्वीनारायण शाहको नेतृत्वमा कीर्तिपुर विजय गरेपछि कान्तिपुर पनि दखल गर्न सक्ने भयले जयप्रकाश मल्लले केपुचिन पादरीको सहयोग र सल्लाहमा इष्ट इण्डिया कम्पनीबाट कर्नेल किल्लोकको नेतृत्वमा पृथ्वीनारायण शाहलाई परास्त गर्न २४०० सय अङ्ग्रेजी फौज पठाएको थियो । अङ्ग्रेजी फौज आक्रमण गर्न आउन लागेको कुरा थाहा पाएर सिन्धुलीबाट रामचन्द्र प्रसाईले पृथ्वीनारायण शालाई पत्र लेखेर पठाएका थिए । त्यही पत्रको आधारमा रामचन्द्रलाई उतिउत्तर पठाई आफ्ना सेनापति रामकृष्ण कुँवर र अन्य फौज पठाइएको थियो । सिन्धुलीबाट अङ्ग्रेजी फौज उकालो लाग्न थाले पछि जय नारायण मगरलगायत गोर्खाली फोजले अङ्गे्रजी फौज लखेटेका थिए, जसमा केही मारिए, केही औलोके जरोबाट मरे अरू केही भागेका थिए । त्यसपछि मकवानपुरका सेनवंशी राजाको अनुरोधमा काडमाडाँैमा आक्रमण गर्न मिरकासिमको नेतृत्वमा आइलागेका मुस्लिम फौज र अङ्ग्रेजी फौजको षडयन्त्रलाई पृथ्वीनारायण शाहका फौजबाट मकवानपुरगढीबाटै लखेट्ने काम भयो ।
यता जयप्रकाश मल्लको समयमा कान्तिपुरमा अङ्ग्रेजको दूत भएर इशाई धर्मको प्रचार गर्र्ने पादरी ‘व्यापारको साथ वाइवल र वाइवलको साथ तरबार भन्ने उक्ति पृथ्वीनारायण शाहलाई जानकारी भइसकेको थियो । यसक्षेत्रमा इसाईकरण गर्न कटिबद्ध रहेका यस्ता परचक्रीलाई थुम्थुम्याएर राखिछाड्नुभन्दा, उपत्यका विजय गरेपछि, क्रिस्चियन धर्म प्रचारक पादरीलाई यहाँबाट धपाएर चर्चलाई घोडाको तबेलामा प्रयोग गरेकाले केपुचिन पादरी आक्रोशित थिए । त्यसपछि पृथ्वीनारायण शाहलाई बदनाम गर्न पृथ्वीनारायण शाहले कीर्तिपुरेको १७ धार्नी नाक काटेका थिए भनेर केपुचिन पादरीले झुुठा कुरा नेपाल भ्रमण गरिसकेका बेलायतका कर्कपेट्रिकलाई लेख्न लगाएका थिए ।
पृथ्वीनारायण शाहले गोर्खाली फौजलाई तीन तीन भागमा विभाजन गरी पूर्व, पश्चिम, उत्तरतर्फबाट आक्रमण गर्ने योजना मिलाए । यसअनुसार टुँडिखेल भीमसेनस्थान र नरदेवीबाट आक्रमण गर्न सम्पूर्ण प्रबन्ध मिलाई निश्चित साइतमा आक्रमण गरे । कान्तिपुरका राजा जयप्रकाश मल्ल आश्विन १३ गतेको साँझदेखि नै कुमारीको रथमा बसी गणेश र भैरवको रथ अघि लगाई रथ यात्रा गरेको समयमा गोर्खाली फौजले आक्रमण गरी गोर्खालीले हनुमानढोका राजदरबारमा अधिकार गरेपछि रिक्त राजगद्दीमा पृथ्वीनारायण शाह विराजमान भए ।
राष्ट्रिय एकीकरणको सन्दर्भमा नेपालको सीमाना पूर्वमा टिष्टा नदीसम्म पुगेपछि स्व. इमानसिंह च्याम्जुङले किरातकालीन विजयपुरको इतिहासमा उल्लेख गरेका छन् कि वि.सं.१८३१ साउनमा –‘हामी किरातवंश सत्धर्ममा मन राखी गोर्खावंशसँग एकैवंश भई मिल्नेछौँ । साथै कुनै विदेशीले तिमीको राजाको हो र कहाँ छ भनी सोधेमा हामीको राज्य गोर्खा हो, महाराज गोर्खामा छन् र हामी गोर्खावंशका हौं भनी जवाफ दिनेछौं । ’ यसबाट पनि थाहा हुन्छ कि नेपालको एकीकरण भएपछि कुनै पनि जाति थरले परदेशी वा दोस्रो दर्जाको निरीह रैतीजस्तो भएर शासक पक्षबाट पेलिएर, आँशुका धारा बगाएर खुम्चिएर बस्नु परेन । पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरेपछि सबै राज्यका जाति जनजातिको रीतिथिति, संस्कृति, धर्म, भाषा र भेषभूषालाई नेपालकै साझा सम्पत्तिको रूपमा ग्रहण गरेर आफूले जितेका राज्यमा ‘जग्गा माथि रैतीको अधिकार भन्ने पृथ्वीनारायण शाहको नीति भएकाले कुनै राज्यका जनता सन्तुष्ट थिए । यसरी हिमवत्खण्डका स–साना हिन्दु राज्यको एकीकरण गर्नमा पृथ्वीनारायण शाह र उनीपछि उनका कान्छा छोरा बहादुर शाहको नेतृत्वमा पूर्वमा टिष्टा र पश्चिममा सीमलासम्मका ५४ भन्दा बडी हिन्दु राज्य एकीकरण गरेर विशाल नेपालको सिर्जना भई त्यो बेलादेखि विश्वको एक मात्र हिन्दु राज्यको रूपमा नेपाल स्थापित हुन सकेको हो । एकीकृत नेपालको पूर्व र पश्चिमका सबै साना राज्य मिथिला प्रदेश, विराट प्रदेशमा हिन्दुपति सेनवंशी राज्य हिन्दु र बौद्ध धर्मका अनुयाई भएकाले एकीकरणमा सहयोग पुग्न गएको थियो । पृथ्वीनारायण शाहमा प्रजाको इच्छाअनुसार राज्य चल्नुपर्छ भन्ने धारणा थियो । उसबेलामा पृथ्वीनारायण शाहले बिराज बखतीलाई मूलकाजी अर्थात् प्रधानमन्त्री बनाउन इच्छा गरेका थिए ।
मेरा साना दुःखले अज्र्याको मुलुक होइन, सबै जातको फूलबारी हो, सबैलाई चेतना भया भन्ने पृथ्वीनारायण शाहबाट दिव्य उपदेशबाट सबैलाई सन्देश दिएका थिए । पृथ्वीनारायण शाहले उत्तरमा ठूलो राष्ट्र चीन र दक्षिणमा ठूलो राष्ट्र भारतको बीचमा कसरी सुरक्षित भएर कस्तो कूटनीति अवलम्बन गर्नुपर्छ भन्ने कुरा उसैबेला राम्ररी बुझेका थिए । पृथ्वीनारायण शाहले उत्तर र दक्षिणका राष्ट्रसँग कस्तो सम्बन्ध कायम राख्नु भन्ने कुरामा निर्देश्न गरेका थिए । ‘चीनको बादशाहसँग ठूलो घाहा(राम्रो सम्बन्ध) राख्नु, दषिनको समुन्द्रको वादशाहसित घाहा त राख्नु तर त्यो महाचतुर छ । देशका महाजन हाम्रा मुलुकमा आया भन्या दुनियाँ कंगाल गरी छाड्छन्’ भन्ने कुरा उनले आफ्ना उपदेशमा उल्लेख गरेका थिए । पृथ्वीनारायण शाहको व्यापार नीति भोटबाट सुन खरिद गर्ने र उक्त भारतमा सुन लगेर बिक्री गर्ने र त्यहीबाट सस्तोमा चाँदी खरिद गरी उक्त चाँदीको टक बनाई तिब्बतमा पठाउने नीति ल्याएका थिए ।
पृथ्वीनारायण शाहले उद्योगधन्दाको विकास र स्वाभलम्वन बनाउनका लागि भाइ–भारदारलाई निर्देशन गरेका थिए । खेतीयोग्य जग्गामा घर भए पनि घर अरू जग्गामा सारी कुुलो काटी खेत बनाई आवाद गर्नु । नाँचगाँन बारेमा पृथ्वीनारायण शाहले दिव्य उपदेशमा उल्लेख गरेका छन्– ‘राग–तानमा बढो ठूलो मोह हुन्छ र दौलत पनि रित्तिन्छ, देशको भेद पनि तिनै नाँचगाँन गर्ने मुग्लानीयालेले लैजान्छन् र हरीपले दगा गर्छ । आफ्नो शोख–सयललाई शास्त्र बमोजिमको तीन शहर नेपालका नेवारहरूका नाँच भिकाई हेरे पनि हुन्छ । यिनमा दिएको पनि आफ्नै देशका रहन्छ । यसो भए आफ्नो देश सुरक्षित हुन्छ । ’ अतः नेपालको राष्ट्रियता भनेको भावनात्मक कुरा मात्र होइन, यो एक क्रियाशीलताको द्योतक हो । नेपालको राष्ट्रियता तथा यहाँका राष्ट्रियताका आधारभूत मान्यतालाई निरन्तरता दिलाएर नेपालको सुदृढ राष्ट्रियताको निरन्तरताका लागि जसरी यो देशको सिर्जना भएको थियो त्यसरी नै नेपालको अस्मिता, एकता, सार्वभौमसत्ता अटल राख्न राष्ट्र निर्माता पृथ्वीनारायण शाहका दिव्य उपदेश मनन् गरेर राष्ट्र निर्माता पृथ्वीनारायण शाहप्रति श्रद्धासुमन अर्पण गर्दै पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवसलाई आत्मसाथ गरौँ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना