सप्तकोशी करिडोरमै राजधानी किन ?

rajendra kiratiराजेन्द्र किराती

 

सङ्घ र प्रदेशको निर्वाचन सम्पन्न भइसकेको छ । तर प्रदेशको राजधानी अझै टुङ्गो लागेको छैन । यसले प्रादेशिक सभाको बैठक, मन्त्रीपरिषद् गठनलगायतका कामलाई प्रभाव पार्दैछ । तर पनि चाँडै प्रदेश सदरमुकाम तय गर्नै पर्नेछ । त्यसैले यतिखेर आम चासो प्रदेश राजधानीतर्फ केन्द्रीत भएको छ । यसमा चुनाव अघि कसैले पनि स्पष्ट धारणा सार्वजनिक गरेनन् । उम्मेदवारले आफू उठेको ठाउँमै राजधानी हुनुपर्छ भनेर भाषण गरे । त्यस्तै एक नम्बर प्रदेशको राजधानी सन्दर्भमा विगत देखिनै विवाद रहदै आएको छ । चर्चामा आएको ठाउँमा धनकुटा, धरान, इटहरी र विराटनगर रहेको छ । स्थानीयताकै आधारमा सबैले आआफ्नै ठाउँमा राजधानी हुनुपर्ने दाबी गरेका छन् ।
सर्वप्रथमतः हामी इतिहासमै पहिलो प्रदेश सरकार बनाउँदैछौँ । सङ्घीयता कार्यान्वयनको ऐतिहासिक प्रक्रियामा जुटिरहेका छौँ । प्रादेशिक सत्ताको चरित्र, विधि र पद्धति कस्तो हुन्छ भन्ने सवाल महìवपूर्ण हुन्छ । उत्पीडितको अधिकार वा पहिचान सुनिश्चित हुन्छ या हुँदैन भन्ने मुद्दा गम्भीर छ । अझै आशङ्का छन् । अर्थात्, हाम्रो मुख्य चासो भनेको प्रादेशिक सरकारले अङ्गीकार गर्ने नीति उत्पीडित मैत्री हुन्छ हुँदैन भन्ने हो । अर्थात् नीतिगत सवाल प्रधान रहेको छ । त्यसैले राजधानी र नामकरणजस्ता पक्ष नितान्त प्राविधिक हुन् । सङ्घीयताको चरित्रमा स्पष्ट हुँदै राजधानी र नामाकरणको बहस गर्नु सही नै हुन्छ ।
राजधानीका लागि पहिलो पक्ष भनेको पायक भूगोल नै हो । अर्थात् भौगोलिक रूपमा प्रदेशको केन्द्रविन्दुमा राजधानी बनाउन उपयुक्त हुन्छ । तर यो नापे–तौले जस्तो हुँदैन । किनभने यसमा अन्य आयाम निर्णायक हुन्छ । यसो गर्दा कहिलेकाँही थोरै तलमाथि र नजिक टाढा पनि हुन सक्छ । एक नम्बर प्रदेशको सन्दर्भमा पायक वा केन्द्रविन्दुलाई आधार मान्दा एक हदसम्म धनकुटा सही नै छ । तर अन्य पक्ष सबल नहुन सक्छ । भौतिक संरचनाको उपलब्धता वा यसलाई बनाउने पर्याप्त ठाउँलाई दोस्रो पक्ष मानिन्छ । किनकी प्रदेशको राजधानीमा थुप्रै भौतिक संरचना निर्माण गर्नुपर्छ । कतिपय संरचना त अन्तर्राष्ट्रिय मापदण्डमा बनाउनुपर्ने हुन्छ । प्रशासनिक भवन, रङ्गशाला, स्पोर्टस मैदान र पार्क एवं बगैँचाको लागि ठूलो खुल्ला क्षेत्र आवश्यक पर्दछ ।
राजधानीका लागि उपयुक्त जग्गा व्यवस्थापन तेस्रो पक्ष हो । यसको मतलव उर्वर खेतियोग्य जमीन र बाक्लो बस्ती भएको ठाउँमा नयाँ संरचना बनाउनु व्यावहारिक हुँदैन । यसको लागि फराकिलो खाली जमीन र रुखोपाखो क्षेत्र छुट्टयाउनुपर्छ । यद्यपि, राजधानीका लागि सबै आधार मिलेकै हुन्छ भन्ने हुँदैन । कुनै ठाउँमा एउटा पक्ष सबल भए अर्को पक्ष दुर्वल हुन सक्छ । यद्यपि अधिकतम अनुकूल क्षेत्र छनोट गर्नुपर्छ । यसका लागि आम सहमति खोज्नु पहिलो विकल्प हो नभए जनमत सङ्ग्रहमार्फत टुङ्ग्याउनु उचित हुन्छ । संविधानमा प्रदेशसभाबाट छिनोफानो गर्ने व्यवस्था छ ।
हाल दाबी गरिएको शहर सबै आधारमा पूर्णदेखिदैन । अर्कोतिर सबैले आआफ्नै ठाउँमा हुनुपर्ने रटान दिइरहेका छन् । आफ्नो अडानवाट कोहीपछि हट्ने देखिदैन । अर्थात् धरान, धनकुटा, इटहरी र विराटनगरमध्ये कुनै एउटा स्थान सिफारिसमा पर्दा अर्कोले विरोध गर्नेछ । नयाँ प्रादेशिक राजधानीको भौतिक संरचना तयार नभइन्जेलसम्मका लागि केही मन्त्रालय बाँड्फाँड गरेर राख्न सकिन्छ ।
हाल प्रस्तावित स्थान विवादित, उर्वर भूमि र बाक्लो भौतिक संरचना बनिसकेको हुनाले अर्को विकल्पमा जानु उत्तम हुन्छ । यही क्रममा धरना–चतरा क्षेत्रलाई नयाँ राजधानीमा प्रस्ताव गरिएको छ । यो प्रस्तावित राजधानीलाई पूर्वमा धरान पश्चिममा बराहक्षेत्र र उदयपुरको मैनामैनी, उत्तरमा विष्णुपादुका र दक्षिणमा इटहरी–झुम्का–इनरुवासम्म विस्तार गर्नुपर्छ । रणनैतिकरूपमा आसपासको शहर र क्षेत्रलाई यसैमा जोड्नु पर्छ । अन्तर्राष्ट्रिय सिमानावाट ४० किमी. भित्र हुनुपर्ने मन्त्रीपरिषद्को मापदण्डको आधारमा चतरा अनुकूल देखिन्छ ।
पहिलो, सप्तकोशी नदी किनारमा राजधानी बनाउने कुरा आफैँमा सकरात्मक, सिर्जनाशील र वस्तुवादी देखिन्छ । सामान्यतया विश्वका ठूलठूला धेरै शहर नदी किनारमै रहेको छ । यसकारण यो मुलुककै मौलिक राजधानी हुनेछ । यो प्रदेशको भूगोल ठूलठूला नदीको सञ्जालमा बाँधिएको हुँदा जलमार्ग विकास गरी दूरगम क्षेत्रसँग आवतजावतको छिटो र सहजमाध्यम हुन्छ । यसका लागि नेपालकै लगानी, योजना र स्वार्थमा चतरामा सामान्य बाँध बाँध्नुपर्दछ । जल यातयातका लागि आवश्यताअनुसार नदीको माथिल्लो भागमा पनि यसरी नै अरू बाँध बाँध्नु पर्छ । चतराबाट जलमार्गमार्फत सोलुखुम्बु, ओखलढुङ्गा, ताप्लेजुङ, सङ्खुवासभा, खोटाङ, पाँचथर, भोजपुर, उदयपुर र धनकुटालगायतका दूरगम जिल्ला जोड्नुपर्छ । उता सुनकोशी हुँदै सिन्धुली, रामेछाप, सिन्धुपाल्चोक र काभ्रे जिल्ला जोडिनेछ । चतरा–दोलालघाटको दुरी २७० किमी मात्र हुनाले काठमाडौँसम्मको यात्रा छिटो, सहज र किफायती हुन्छ । त्यसैगरी तमोर हुँदै ताप्लेजुङ दोभान १३१ किमी र अरूण–तुम्लिङ्टार हुँदै हेदाङनासम्म १२७ किमी क्षेत्र आर्थिक जलकोरीडोरको रूपमा विकास गर्नुपर्छ ।
त्यस्तै भोटेकोशी हुँदै तातोपानी, दूधकोशी हुँदै नाम्चेबजार, नुमहुँदै हटियागोला र ताप्लेजुङ दोभान हुँदै वलाङचुङगोलासम्मा पनि दोस्रोस्तरको आर्थिक जलकोरीडोर विकासको प्रवल सम्भावना छ । यसैगरी, यहाँबाट ४५ किमी दक्षिणमा रहेको भीमनहर र लगभग ३२० किमी. टाढा रहेको गङ्गा हुँदै बङ्गालको खाडीसम्म पनि पानीजहाज सञ्चालन गर्न सकिन्छ । यसबाट पानीजहाज, फेरी र स्टीमर सञ्चालन गरी हिन्दमहासागरदेखि दूरगम जिल्लासँग द्रुत सम्पर्क बढाउन सकिन्छ । जलमार्ग सडक सञ्जालको असाध्यै व्यावहारिक र वस्तुवादी विकल्प हुनेछ ।
दोस्रो, सर्दुखोला, पटनाली, वगुवा, वयरवन, चतरादेखि वराहक्षेत्रसम्मको भूगोल सापेक्षितरूपमा खाली रहेको छ । यो क्षेत्र त्यति उर्वर भूमि होइन । वस्ती पनि निकै पातलो रहेको छ । यसमा वगर, पाखा र जङ्गल क्षेत्र बढी पर्दछ । यही खाली क्षेत्रमा राजधानीको लागि आवश्यक पूर्वाधार निर्माण गर्नुपर्दछ । अबको राजधानी शहरको समग्र पूर्वाधार विकास आगामी पाँच सय वर्षको माग, प्रविधि र मनोविज्ञानलाई सम्बोधन गर्ने मापदण्डमा हुनुपर्छ । दीर्घकालिक शहरी गूरुयोजना बनाउनु पर्छ । सडक, भवन, गल्ली, शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, ढल, खेलकुद, मनोरञ्जन, विद्युतीय लाइन, टेलिफोन र इन्टरनेट सेवाका लागि अत्याधुनिक प्रविधि अपनाउनु पर्दछ । एकै ठाउँ एकीकृत सरकारी प्रशासनिक भवन निर्माण गर्नुपर्छ, जसलाई पूर्वको सिंहदरबारको संज्ञा दिन सकियोस् ।
तेस्रो, यो प्रशासनिक, आर्थिक तथा जल–स्थल–हवाई पूर्वाधारको त्रिवेणी हुनेछ । सप्तकोशीबीचमा रहेको खाली जमिनमा हवाई मैदान बनाउनुपर्छ । यो नेपालकै पहिलो मनोरम टापु हवाई मैदान हुनेछ । यता उद्योग, कलकारखाना, ढुवानी र व्यापार विकासको केन्द्र बन्नेछ । विकास, वैभव, समृिद्धसहितको आर्थिक राजधानी हुनेछ । कोशीपारी उदयपुरको मैनामैनी र त्रिवेणी क्षेत्र बत्ती मुनीको अँध्यारो जस्तो रहेको छ । तर राजधानी भएपछि कोशी पारी क्षेत्रको शसक्तीकरणसँगै गाइघाटसँग पनि सामाजिक–आर्थिक सम्बन्ध विस्तार हुनेछ ।
त्यतिमात्र होइन, सप्तकोशी–अरूण–किमाथाङ्का करिडोर हुँदै चिनसँग रेलमार्ग विकास गर्न सकिन्छ । यो छोटो रेलमार्ग हुनेछ । त्यस्तै धरान–हेटौडा सडक यही बाटो भएर जान्छ, जसले हाम्रो समृद्धिको अभियानलाई सहयोग पु¥याउनेछ । सप्तकोशी नदी, बराहक्षेत्र, कोशीटप्पु, विष्णुपादुका, रामधुनी, वसाहा, दन्तकाली, बुढासुब्बा, पिण्डेश्वर, त्रिवेणी अनि भेडेटारजस्ता पर्यटकीय क्षेत्र यसैको पेरिफेरीमा रहेको छ । यहाँबाट विष्णुपादुका माथि सुलीकोट, भेडेटार र मैनामैनी डाँडासम्म केवुलकार निर्माण गर्नुपर्छ । यहाँ बनेका भ्युटावरवाट सिङ्गो प्रदेशको रमणीय भूगोलको अवलोकन गर्न सकिनेछ । यस अतिरिक्त मेट्रो रेल, फास्ट ट्रेन र मोनो रेल जस्ता विद्युतीय यातयात सञ्जालबाट धरान, इटहरी, इनरुवा, विराटनगर, गाईघाट र धनकुटालाई जोडी एउटै शहरजस्तो बनाउँनुपर्दछ । यसलाई साँच्चै स्मार्ट सिटीको रूपमा विकास गर्नुपर्छ । सप्तकोशी कोरीडोरमा बन्ने यो राजधानी प्रशासनिक, आर्थिक, धार्मिक एवं पर्यटकीय सङ्गमस्थल हुनेछ । यसकारण दीर्घकालिक सोचसहित चतरामा राजधानी बनाउनु सबैभन्दा उपयुक्त देखिन्छ ।
तसर्थ, राजधानीको तानातानलाई छाडौँ । दाबी गरिएको चारै ठाउँमा तत्काललाई मन्त्रालय बाँड्फाँट गरिए पनि दीर्घकालीकरूपमा सम्भव हुँदैन । आखिर राख्ने एकै ठाउँ हो । प्रदेशको भूगोललाई केन्द्रमा राखौँ । धरान, इटहरी, विराटनगर, धनकुटावासीले अलि फराकिलो छाती बनाऔं । आत्मकेन्द्रीत स्वार्थ र स्थानीयतावादी मनोविज्ञान त्यागौं । सानो टुक्रा जमिन, व्यापार र व्यवसाय भएकै स्वार्थमा सिङ्गो प्रदेशवासीको भावनामाथि खेलवाड नगरौँ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना