सत्ता समीकरण साझा ढङ्गले अगाडि बढाइने

राजेश चाम्लिङ

काठमाडौँ, पुस २७ गते । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पार्टी सत्ता समीकरणका लागि साझा ढङ्गले अगाडि बढ्ने भएका छन् । मङ्गलबार दुवै पार्टीका अध्यक्षसहितको बैठकले पार्टी एकीकरणअगावै एउटै पार्टीको झल्को दिने गरी प्रदेशदेखि केन्द्रसम्मको सत्ता समीकरण साझा ढङ्गले अगाडि बढाइने जनाएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली बुधबार उपचारका लागि बैङ्कक जानुअघि बसेको बैठकमा दुवै पार्टीका अध्यक्षले विस्तृत प्रतिवेदन तयार गर्ने जिम्मेवारी भने कार्यदललाई दिनुभएको छ । दुई पार्टीबीच एकीकरण र सत्ता समीकरणका लागि काम गर्न मङ्गलबार कार्यदल गठन गरिएको थियो । दुवै पार्टीको संयुक्त कार्यदलमा रामबहादुर थापा, सुवास नेम्बाङ, वर्षमान पुन, शङ्कर पोखरेल, सुरेन्द्र पाण्डे र मातृका यादव सदस्य रहनुभएको छ ।
ओली निवास बालकोटमा भएको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष ओलीले कार्यदलका सदस्यहरूलाई ‘साझा ढङ्गले अगाडि बढ्न’ निर्देशन दिनुभएको थियो । “कार्यदलले प्रदेश सरकार, मुख्यमन्त्री, राष्ट्रियसभाको उम्मेदवार लगायतका विषयमा साझा अवधारणा बनाउने छ”, बैठकपछि माओवादी नेता वर्षमान पुनले भन्नुभयो, “कार्यदलले भोलिदेखि नै काम गर्नेछ । र, सकभर चाँडै पार्टी एकता संयोजन समितिलाई प्रतिवेदन दिनेछ । ” उहाँका अनुसार जिम्मेवारी तोकिएको सबै क्षेत्रमा साझा उम्मेदवार बनाइनेछ । KP-oli-Prachanda
माओवादी निकट स्रोतका अनुसार प्रदेश सरकार गठन गर्दा पार्टी एकताको भाव दिनका लागि एमालेले एकल बहुमत ल्याएको प्रदेशमा पनि मन्त्रिपरिषद्मा माओवादीको सहभागिता हुनेछ । एमालेले प्रदेश १ र ३ मा प्रदेश सरकार गठनका लागि पुग्ने गरी एकल बहुमत ल्याएको छ । “ती स्थानमा पनि माओवादीलाई सहभागी गराइनेछ”, बैठकमा सहभागी एक नेताले भन्नुभयो, “सङ्ख्या के कति भन्नेबारेमा भने पछि नै तय गरिनेछ । ”
माओवादी केन्द्रका नेता पुनले पार्टीले पाएको जनतम र पार्टी एकताको भावलाई आत्मसात गर्ने गरी प्रतिवेदन तयार गर्ने बताउनुभएको छ । कार्यदलले सबै पदका लागि व्यक्तित्व, योगदान र पार्टी एकताको सन्तुलन मिलाएर उम्मेदवार सिफारिस गर्ने बताइएको छ । पार्टी एकता प्रक्रियामा पछिल्लोपटक समाहित भएका नेताहरूलाई पनि अवसर दिने गरी यस्तो कार्यविधि बनाइएको हो । “कतिपय नेताहरूको व्यक्तित्व आममानिसबीच उच्च भए पनि पार्टीमा स्थापित नभएको हुनसक्छ”, माओवादीका एक नेताले भन्नुभयो, “उहाँहरूलाई पनि समेट्ने गरी कार्यदलले काम गर्नेछ । ”
कार्यदलले प्रतिवेदन तयार गर्नुअगावै पार्टी एकता भएमा कार्यदलको रिपोर्टसहित बाँकी जिम्मेवारी स्वतः एकीकृत तहको शीर्ष कमिटीमा जाने पनि पुनले जानकारी दिए ।
कार्यदलले तयार गरेको प्रतिवेदनका आधारमा एकता संयोजन समितिको बैठकले सबै क्षेत्रको उम्मेदवारको अन्तिम टुङ्गो लगाउने बताइएको छ । सात सदस्यीय समितिमा दुवै पार्टीका अध्यक्षसहित एमालेबाट माधवकुमार नेपाल, वामदेव गौतम र ईश्वर पोखरेल माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा सदस्य रहनुभएको छ ।
दुई पार्टीबीच एकीकरणको प्रक्रियाले समय लिँदै गएपछि नीतिगत काम संयोजन समितिमार्फत गर्दै जाने बुझिएको छ । “एकीकरणलाई परिणाममुखी नबनाउँदासम्म समितिले नै काम गर्नेछ”, माओवादीका एक नेताले भन्नुभयो, “यसबाट दुई पार्टीबीच साझा मनोविज्ञान निर्माण गर्दै पार्टी एकतामा पु¥याइनेछ । ”

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना