दुई वर्षमा १६८ मेगावाट बिजुली

sanjenरसुवा, पुस २७ गते । रसुवामा दुई वर्षभित्र १६८ मेगावाट बिजुली उत्पादन हुनेभएको छ । रसुवामा निर्माणाधीन आठवटा जलविद्युत् आयोजनामध्ये दुई वर्षभित्र तीन आयोजना सम्पन्न भई १६८ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिने निश्चित भएको छ । 

चिलिमे आयोजनाको सफलतापछि माथिल्लो साङ्जेन, साङ्जेन, रसुवागढी, त्रिशूली १, माथिल्लो त्रिशूली थ्री ए, माथिल्लो त्रिशूली थ्री बी, अपर मैलुङ, लाङ्टाङलगायत आयोजना निर्माणाधीन छन् । मैलुङ आयोजना भने सम्पन्न भएको छ ।
यी जलविद्युत् आयोजनाबाट जलविद्युत् विकास र सेयर मात्र नभई स्थानीयस्तरमै रोजगारी र उद्यमको अवसर सिर्जना गरी जिल्लावासीको समृद्धिको सम्भावना रहेको जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्टले बताउनुभयो ।
गोसाइँकुण्ड गाउँपालिकामा निर्माणाधीनमध्ये १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना, १४.८ मेगावाटको साङ्जेन माथिल्लो जलविद्युत् आयोजना र ४२.५ मेगावाट क्षमताको साङ्जेन जलविद्युत् आयोजना दुई वर्षभित्रमा निर्माण सम्पन्न हुने गरी काम भइरहेको छ ।
रसुवाको टिमुरेमा निर्माण भइरहेको रसुवागढीले २०७५ चैतभित्रै निर्माण सक्ने लक्ष्यका साथ उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिसक्ने रसुवागढी जलविद्युत् आयोजना प्रमुख छवि गैरेले बताउनुभयो । गैरेले भन्नुभयो, २०१९ डिसेम्बरसम्म निर्माण सम्पन्न गर्ने र २०२० मार्चदेखि उत्पादन सुरु हुने गरी काम भइरहेको छ ।
२०७० माघदेखि निर्माण कार्य सुरु भएको आयोजनाको ६५ प्रतिशत काम सकिएको आयोजनाका वातावरण तथा जनसम्पर्क अधिकृत तेज साउदले बताउनुभयो ।
त्यसैगरी रसुवाको पार्वतीकुण्ड गाउँपालिकामा निर्माण भइरहेका साङ्जेन र साङ्जेन माथिल्लोले २०७६ को अन्तिमसम्ममा निर्माण सक्ने गरी काम भइरहेको जनाएका छन् । अहिलेसम्म साङ्जेन माथिल्लोको ६० प्रतिशत र साङ्जेनको ४० प्रतिशत काम सकिएको आयोजनाका प्रशासकीय अधिकृत सुनील रेग्मीले बताउनुभयो ।
उहाँका अनुसार सिभिल ठेकेदार इसिआई बज्रगुरुले निर्माण गरिरहेको साङ्जेन माथिल्लो आयोजना २०७५ माघसम्ममा निर्माण सम्पन्न गरिनेछ । सन् २०१४ बाट निर्माण सुरु भएको १४.८ मेगावाटको आयोजनाको सुरुङ निर्माणको काम सकिएको छ । सुरुङ निर्माण सकिएसँगै सुरुङको सर्पोटको काम भइरहेको आयोजनाले जनाएको छ । यो आयोजनाको भूमिगत सुरुङ एक हजार तीन सय मिटर रहेको छ । साङ्जेन आयोजनाचाहिँ डेढ वर्षमा पूरा हुने उहाँले बताउनुभयो । यो आयोजनाको सुरुङ मार्गको काम ५६.३३ प्रतिशत सकिएको छ । पाँच हजार २८४ मिटर सुरुङमध्ये तीन हजार मिटर सुरुङ निर्माण भइसकेको छ । पावरहाउस र हेडवर्कसतर्फको कामले समेत तीव्रता पाएको छ ।
निर्माणाधीन दुवै साङ्जेन आयोजनाको कुल सात अर्ब २४ करोडको लागतमा अनुमान रहेको छ । गतमा माथिल्लो साङ्जेनको एक हजार तीन सय मिटर लामो सुरुङ खन्ने कार्य सकेर ब्रेक थु्र गरिएको थियो । साङ्जेन जलविद्युत् आयोजनाको पावरहाउस र हेडवक्र्सको सुरुङ खन्ने कार्य दु्रतगतिमा भइरहेको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना