ऐतिहासिक व्यक्तित्व पृथ्वीनारायण

binayak p dhitalविनायकप्रसाद धिताल

 

नेपाल राष्ट्र भनेर आज विश्वसामु गर्वको साथ हामी जसरी चिनिएका छौँ वा विश्वमान चित्रमा नेपालको नक्सा हेरेर गौरवको अनुभव गरिरहेका छौँ, त्यो सबै अदम्य शाहस, वीरता, कुशल नेतृत्व दूरदृष्टिका चिन्तनका धनी पृथ्वीनारायणकै अतुुलनीय योगदानका कारण सम्भव भएको हो भन्ने तथ्यलाई कुनै पनि नेपालीले बिर्सनुहुन्न । नेपालभित्र बसोबास गर्ने जुनसुकै जाति, जनजाति, धर्म, लिङ्ग आदि जो भए पनि उनकै देनका कारण वीर गोर्खाली, बुद्ध र सगरमाथा देशका बासिन्दा भनेर चिनिन पाएका हुन् । पृथ्वीनारायण शाह त्यसैले नेपाल राष्ट्रको राष्ट्रनिर्माता, राष्ट्रिय एकताका प्रतीक हुन् । उनले टुक्रिएर रहेका स–साना राज्यहरूलाई एकीकरणको अभियानद्वारा नेपाल राष्ट्रनिर्माण गरी चार वर्ण छत्तीस जातको फूलबारी रचना गर्ने जुन स्तुत्य कार्य गरे, त्यसको सबै नेपालीले अति श्रद्धा र सम्मानका साथ नमन गर्नैपर्दछ । राष्ट्रनिर्माण गर्ने कार्य निश्चय नै सहज थिएन । युवराजाधिराजको अवस्थादेखि नै पृथ्वीनारायण शाहको ब्रिटिस शासनले आफ्नो राज्य विस्तार गर्नेक्रममा नेपालका स–साना राज्यका राजाको अस्पष्ट नीति, परस्परमा वैरभाव आदिको मौका छोपेर नेपाललाई आफ्नै अधिनमा राख्ने जमर्को गरी नेपालतर्फ आँखा लगाएको र भारतका राज्यमा आक्रमण गरेको देखेबुझेका हँुदा त्यसबाट जोगिन नेपालभित्र रहेका स–साना बाइसे चौबीसे राज्यलाई एकढिक्का बनाउन एकीकरणको अभियान सुरु गर्ने भावना उनीभित्र विकसित भएको थियो । पृथ्वीनारायण गोरखा राज्यको राज्यारोहण गर्दाको बेला गोरखा राज्य एक निर्धन र कम शक्तिशाली राज्य थियो । त्यस समय कतिपय पूर्वका सेन राज्यहरू, पञ्चिमका बाइसे चौबीसे राज्यहरू र उपत्यकाका मल्ल राज्यहरू आन्तरिक छलकपट र कलहमा अल्झिएका थिए । राष्ट्रिय एकीकरणको शोच उनीहरूमा थिएन । गोरखा राज्य अरू राज्यभन्दा निर्घन भएकाले उसलाई बाह्य आक्रमणबाट सदैव त्रास थियो । यो अवस्थालाई चित्रण गर्दै पृथ्वीनारयण शाहले भनेका छन्, ‘लमजुङ भन्याको गरुड हो, गोरखा भन्याका. सरप हो, नेपाल भन्याको भ्यागुता हो । गरुडको आँखा छल्नु तब सरपले भ्यागुता खान पाउँछ । ’ त्यसैले लमजुङलाई अरू बाइसे चौबीसे राज्यबाट अलग्याउने प्रयासस्वरूप लमजुङसँग कालु पाँडेमार्फत कूटनीतिक सम्बन्ध स्थापना गर्ने कार्य पृथ्वीनारायण शाहले गरेका थिए । तनहुँ पनि शक्तिशाली राज्य भएकाले तनहुँ र लमजुङलाई एकजुट हुन नदिने पर्वत र पाल्पा राज्यसँग सम्बन्ध विस्तार गर्ने र कास्कीलाई कुनै प्रलोभनमा पारी लमजुङमाथि आक्रमण गर्न लगाउनेजस्ता चतुर कूटनीतिक चाल उनले चालेका थिए । पश्चिमतिरबाट सुरक्षित महसुस भएपछि उनी पूर्वतर्फ एकीकरणको अभियानमा लागे । आफ्नो एकीकरणका अभियानलाई सफलीभूत पार्न त्यसबेलाको नेपाल उपत्यकामाथि जसरी भए पनि विजय हासिल गर्नुपर्छ भन्ने दूरगामी सोचका साथ उनले आफ्नो अभियानलाई सशक्त रूपमा अघि बढाए । त्यसका लागि नुवाकोट राज्य जित्नुपर्ने बाध्यात्मक अवस्था थियो । त्यसैले उनले पहिले नुवाकोटमाथि विजय प्राप्त गरे र नुवाकोटमै आफ्नो राजधानी बनाए र तत्पश्चात् नेपाल उपत्यकालाई चारैतिरबाट आर्थिक नाकाबन्दी गरी सङ्कटमा पारे । नेपाल उपत्यकाभित्रका काठमाडौँ, ललितपुर, भक्तपुरका मल्ल राजामा आपसी मेलमिलाप थिएन, वैरभाव थियो । त्यसैको फाइदा उठाउँदै साम, दाम, दण्डभेदको नीति अख्तियार गरी उपत्यकामाथि पटक–पटकको आक्रमणपछि विजय प्राप्त गरे । यो विजयपश्चात् उनले नेपाल उपत्यकाभित्रको काठमाडौँलाई नै स्थायी राजधानी बनाए, शासन सञ्चालन गरे ।
नेपाल राष्ट्रको निर्माणको जग बसाउन पृथ्वीनायारण शाहले विजय कार्यबाहेक अरू प्रशस्त कार्यहरू गरेका थिए । लडाइँ गरेर राज्य विस्तार गर्ने लक्ष्यमात्र उनको थिएन । जुन कुरा उनले विजय कार्यपछि अपनाएको नीतिबाट स्पष्ट हुन्छ । उनले जहाँ–जहाँ विजय प्राप्त गरे, त्यस–त्यस ठाउँको संस्कृति कला र साहित्यलाई संरक्षण प्रदान गर्न र अपनाउन जुन उदारता उनले देखाए, त्यही कारणले नै वर्तमान नेपाल राष्ट्र अस्तित्वमा आउन सकेको हो. । अन्य राज्यमाथि युद्ध गरी विजय प्राप्त गर्ने र गोरखा राज्यमा गाभ्ने र गोरखालाई नै राजधानी केन्द्र बनाएको भए, अन्य राज्यहरू र काठमाडौँ उपत्यकाको संंस्कृति, कला र साहित्यप्रति उदासिनता देखाउनेजस्ता कार्यहरू गरेका भए वा ती राज्यहरूका सम्पत्ति लुटेर लगेका भए निश्चय नै पृथ्वीनारायण शाह राष्ट्रनिर्माता नभएर ”विस्तारवादी” राजा कहलिन्थे । तर, त्यसो नगरेर व्यापक दृष्टिकोण राखी उदार नीति र सहिष्णुताको धरातलमा टेकेर राज्यहरूकोे एकीकरण गरे । त्यही कारणबाट उनी राष्ट्रनिर्माता र राष्ट्रिय एकताको प्रतीक बन्न सकेका हुन् ।
आफ्ना प्रजाको साथसाथै आफ्ना सैनिकलाई पनि निकै स्नेह र सद्भाव देखाउने भएका हुनाले सैनिकहरू पृथ्वीनारायणप्रति आज्ञाकारी तथा वफादारीका नमुना थिए । सम्भव भएसम्म पृथ्वीनारायण शाह युद्धभूमिमा सेनाको कमाण्डरमात्र नपठाई आफैँ पनि युद्धमोर्चामा सहभागी हँुदा सेनाहरू निकै उत्साहित हुन्थे । उनले नेपाल दुई ढुङ्गाबीचको तरुलको भौगोलिक अवस्थामा रहेको यथार्थतालाई मनन गर्नुपर्ने कुरा औँल्याए । उक्त ढुङ्गालाई हल्लन नदिई ढुङ्गाबाट सतर्क रहन दक्षिण भारत र उत्तर चीनसँग समदूरी राखी विशेषतः भारतसँगको व्यवहारमा निकै चनाखो हुन सुझाए । उनको त्यस अवस्थाको दूरदर्शिता आजसम्मको नेपाली कूटनीतिको आधार स्तम्भका रूपमा लिइन्छ ।

 प्रकाशित मिति: २०७४/९/२७

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना