जाडो बढेसँगै बिरामी पनि बढे

सरोज ढुङ्गेल

काठमाडौँ, पुस २८ गते । जाडो बढेसँंगै अस्पतालमा बिरामीको सङ्ख्या पनि वृद्धि हँुदै गएको छ । चिसो मौसमका कारण दम, निमोनिया, ब्रोन्काइटिस, झाडापखाला लगायतका रोगबाट अस्पताल आउने बिरामीको सङ्ख्यामा बढ्न थालेको हो ।
वरिष्ठ बाल रोग विशेषज्ञ तथा कान्ति अस्पतालका निमित्त निर्देशक डा. कमलराज शर्माले चिसोको कारणबाट हुने बिरामीको सङ्ख्यामा बढेको बताउनुभयो । चिसो मौसमबाट बच्चा तथा वृद्धहरू बढी प्रभावित हुने गरेको उल्लेख गर्दै डा. शर्माले त्यसबाट बच्नुपर्नेमा जोड दिनुभयो ।
जाडोमा मानिसलाई दुई किमिसले रोग लाग्ने गरेको जानकारी दिँदै शर्माले मकल तथा दाउरा बाल्दा त्यसबाट निस्कने धुँवाले श्वासप्रश्वाससम्बन्धी समस्या देखिने बताउनुभयो । उहाँले घरभित्रै जाडो छल्न अविभावकले चुरोट, बिँडी लगायतका सुर्तीजन्य पदार्थको सेवन गर्दा पनि बालबालिकामा निमोनिया र श्वासप्रश्वाससम्बन्धी रोग लाग्ने गरेको उल्लेख गर्दै बालबालिकालाई चिसोबाट जोगाउनुपर्ने बताउनुभयो ।
डा. शर्माले छ महिनाभन्दा कम उमेरका बच्चामा अत्यधिक चिसोको कारणले हाइपोथर्मिया हुनसक्ने भन्दै नवजात शिशुलाई चिसोबाट जोगाउनुपर्ने बताउनुभयो । उहाँले अत्यधिक चिसोको कारण हाइपोथर्मिया भएर मानिसको मृत्यु हुनसक्ने भन्दै जाडो मौसममा रोगबाट बच्न न्यानो कपडा लगाउनुका साथै अत्यधिक चिसोमा घर बाहिर ननिस्कन सुझाव समेत दिनुभयो ।
उहाँले कान्ति अस्पतालमा गर्मीयाममा भन्दा जाडोमा बिरामीको सङ्ख्या कम भए पनि निमोनिया, पखाला, श्वासप्रश्सास लगायतका समस्या लिएर आउने बिरामीको सङ्ख्यामा भने वृद्धि भएको बताउनुभयो ।
परोपकार तथा प्रसूति अस्पताल थापाथलीका निर्देशक प्राडा जागेश्वर गौतमले सुत्केरी महिलाहरू बच्चाको तुलनामा कम जोखिममा रहे पनि सावधानी भने अपनाउनुपर्ने बताउनुभयो । प्रसूति गृहमा चिसोकै कारण आउने बिरामी नभए पनि सुत्केरी हुनेलाई न्यानोमा राख्नुपर्ने बताउनुभयो ।
उहाँले अत्यधिक चिसोका कारण दम, निमोनिया, रुघाखोकी, ज्वरो, टन्सिल, डायरिया, भाइरल ज्वरो, पिनास, ब्रोन्क्राइटिस लगायतका रोग लाग्ने बताउनुभयो । उहाँले चिसोमा ननिस्कन, न्यानो कपडा लगाउन, बालबालिका र वृद्धलाई चिसोमा नराख्न, मादक पदार्थ सेवन नगर्न, प्रशस्त पानी पिउन, तातो खानेकुरा खान सुझाव दिनुभयो ।
शिक्षण अस्पतालका निर्देशक डा. दीपक महराले चिसो मौसमका कारण आउने बिरामीको सङ्ख्या वृद्धि भएको बताउनुभयो । उहाँले ‘कोल्ड डायरिया’, दम, श्वासप्रश्सास लगायतका समस्या लिएर अस्पताल आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको बताउनुभयो । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा. गणेश गुरुङले चिसोमा सावधानी अपनाउन सुझाव दिनुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds