एक सचिवको भागमा पाँच वडा

नगेन्द्र सापकोटा

काठमाडौंँ, पुस २८ गते । उपत्यका बाहिरका अधिकांश स्थानीय तहमा अझै पनि एक जना वडा सचिवले चारदेखि पाँच वटा वडा कार्यालयमा सेवा पु¥याउँदै आएका छन् । स्थानीय तहमा कर्मचारीको अभाव हुँदा एक स्थानीय तहको एक वडामा बढीमा हप्ताको दुई दिनमात्र सेवाग्राहीले वडा कार्यालयबाट सेवा पाउने गरेका छन् ।
साबिक गाविस सचिवको रूपमा सेवा प्रवाह गर्दै आएका हालका कतिपय वडा सचिव केन्द्रमा सरुवा भएको र कतिपय सेवा निवृत्त भइसकेका छन् । सङ्घीय सरकारले कर्मचारीको अभावमा स्थानीय तहमा कर्मचारी खटाउन नसक्दा, कर्मचारी आफै पनि स्थानीय तहमा जान नमान्दा र कर्मचारी समायोजन प्रक्रिया विनियमको अभावमा अगाडि नबढ्दा स्थानीय तहमा एक जना वडा सचिवले त्यतिका वडा कार्यालयमा सेवा पु¥याउन बाध्य भएका हुन् ।
सेवाग्राहीको नजिकको सरकारका रूपमा रहेको स्थानीय तह र त्यसमा पनि वडा कार्यालय अझै नजिकको कार्यालय भएकाले स्थानीयका सेवाग्राहीको साना र महत्वपूर्ण काम वडा कार्यालयबाटै हुने गरेको छ । निजामति वडा सचिव हकहित संरक्षण केन्द्रका उपाध्यक्ष एवम् सुर्खेतस्थित चौकुने गाउँपालिका वडा नं. ८ का वडा सचिव शरण बढुवाल स्थानीय तहको निर्वाचनपछि स्थानीय तहका वडामा वडा सचिव रिक्त हुने क्रम तीव्र भएकाले एक जना वडा सचिवले पाँच वटासम्म वडा कार्यालयमा पुगेर सेवा प्रवाह गर्न बाध्य भएको बताउनुभयो ।
उहाँका अनुसार वडा सचिवलाई कुनै पनि दिन बिदा नहुने र हरेक दिन स्थानीयको सेवामा कार्यालय तथा घरमा नै पुगेर सेवा दिनुपरेको छ । पहुँच हुने वडा सचिव मन्त्रालय र अन्य कार्यालयमा सरुवा भएको पहुँच नहुने वडा सचिवहरू अझै पनि गाउँमै बसेर सेवा पु¥याउन बाध्य भएको गुनासो उहाँको छ ।
धादिङको धुनीबेसी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्य नौ वटा वडा रहेको आफ्नो नगरपालिकामा जम्मा तीन जना वडा सचिवले सेवा प्रवाह गरिरहेको बताउनुभयो । उहाँले साप्ताहिक रूपमा कार्यतालिका बनाएर एउटा वडामा हप्ताको दुईदेखि तीन जना वडा सचिवले सेवा प्रवाह गर्ने गरेका बताउँदै भन्नुभयो, ‘सेवाग्राहीलाई अत्यावश्यक पर्दा पनि वडा सचिवको अभावमा सेवाग्राहीको काम हुँदैन । ’
उहाँका अनुसार स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले काम गरेको आठ महिना बितिसक्दा पनि सेवाग्राहीले कर्मचारीको अभावमा सेवा सहज रूपमा पाउन सकेका छैनन् । स्थानीय सरकार सञ्चालन ऐनमा स्थानीय तहको वडा कार्यालयबाट नागरिकले, घर जग्गाको नक्सा पास, पञ्जीकरण (जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाइ सराइ) लगायतका सिफारिस प्रदान गर्नुका साथै स्थानीयका अन्य समस्याबारे आवश्यक परामर्श प्रदान गर्ने उल्लेख छ । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरू भए पनि कर्मचारीले गर्ने काम जनप्रतिनिधिले गर्न नमिल्ने भएकाले स्थानीय तहमा सेवाग्राहीहरू मर्कामा पर्ने परेका छन् ।
नुवाकोटस्थित बेलकोट गढी नगरपालिकाका उपप्रमुख कविता ढुङ्गाना १३ वटा वडामा जम्मा चार जना मात्र वडा सचिवले सेवा प्रवाह गर्ने गरेको बताउनुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds