एकै ठाउँमा माघी महोत्सवको तयारी

maghiकाठमाडौँ, पुस २९ गते । अघिल्ला दुई वर्ष दुई ठाउँमा माघी महोत्सव मनाएको देखेका उपत्यकावासीले यस वर्षको महोत्सव एकै ठाउँमा मात्र देख्नेछन् । एकै ठाउँमा महोत्सव मनाएर थारू एकताको सन्देश दिन खोजिएको छ । 

“विपरीत ध्रुवमा मुख फर्काएका दुई कम्युनिस्ट दल पार्टी एकताका लागि तयार हुन्छन् भने हामी थारूले एकताको सन्देश किन नदिने ?” थारू अगुवाहरूले तर्क गर्नुभयो । माघी महोत्सव २०७४ बारे शुक्रबार पत्रकार सम्मेलन गरेर थारू अगुवाले त्यस्तो भनाइ राख्नुभयो ।
थारू कल्याणकारिणी सभा (थाकस) उपत्यका समितिको संयोजनमा यसअघिसम्म माघी महोत्सव कार्यक्रम गरिँदै आएको थियो तर यस वर्ष थाकस केन्द्रीय कमिटीले आफ्नै नेतृत्वमा महोत्सव गर्न लागेको छ । थारू विद्यार्थी समाज (थाविस) केन्द्रीय कमिटीको सक्रियता र पहलमा महोत्सव एकै ठाउँमा गर्ने वातावरण बनेको दाबी विद्यार्थी अध्यक्ष चन्द्रप्रसाद चौधरीले गर्नुभयो ।
महोत्सवको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले माघ १ गते दिउँसो १२ बजे टुँडिखेलमा गर्ने कार्यक्रम तय भएको अध्यक्ष चौधरीले बताउनुभयो । महोत्सवबाट सङ्कलित रकमबाट थाकसको भवन निर्माणमा लगाउने आयोजकले बताएको छ । महोत्सवबाट उठ्ने रकम यसअघिसम्म पारदर्शी ढङ्गले राख्न नसकिएको स्वीकार गर्दै अध्यक्ष चौधरीले अबदेखि त्यसको सुरुआत हुने दाबी गर्नुभयो ।
महोत्सवलाई आन्दोलनकै अर्को रूपमा मनाउन लागिएको बताउँदै अध्यक्ष चौधरीले युवा विद्यार्थीको पहल र सक्रियताले महोत्सव एकै ठाउँमा मनाएर एकताको गतिलो सन्देश दिने तयारीमा आफूहरू रहेको जानकारी दिनुभयो ।
टीकापुर घटनाको सत्यतथ्य छानबिन, राजबन्दीहरूको तत्काल रिहाइ तथा कैलाली क्षेत्र नं. १ बाट निर्वाचित रेशम चौधरीलाई निर्वाचित प्रमाणपत्र उपलब्ध गराउने दबाबस्वरूप काठमाडौँमा महोत्सवको तयारी भएको चौधरीले बताउनुभयो ।
महोत्सव तयारीका लागि १०१ सदस्यीय मूल आयोजक समिति र दर्जन बढी विभिन्न उपसमिति निर्माण गरी तयारी थालिएको थाकसका उपाध्यक्ष प्रेमीलाल चौधरीले बताउनुभयो । उहाँका अनुसार यही पुस २९ गते मोटरसाइकल ¥याली, पुस ३० गते रक्तदान तथा जिता मार्ने कार्यक्रम र माघ १ गते महोत्सवको उद्घाटन गर्ने कार्यतालिका रहेको छ ।
महोत्सवमा करिब ११० वटा विभिन्न थारू हस्तकला, फुड फेस्टिभलका स्टल रहने बताइएको छ । महोत्सवको मुख्य आकर्षणमा थारू कला संस्कृति प्रस्तुति, झाँकी ¥याली प्रदर्शन, थारू फुड फेस्टिभलको प्रदर्शनी, रक्तदान कार्यक्रमलगायत रहने आयोजकले बताएको छ ।
विसं २०५९ देखि काठमाडौँमा थारू समुदायले माघी महोत्सव मनाउँदै आएका छन् । २०६८ को जनगणनाअनुसार नेपालमा थारूको जनसङ्ख्या १७ लाख ३७ हजार ४७० रहेको छ । त्यसमध्ये उपत्यकामा कामविशेषले करिब दुई लाख थारू बसोवास गर्छन् ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना