वृद्धाश्रम होइन परिवारमै राखौँ


प्रा. माधवप्रसाद ढकाल

नेपालमा मानिसको जीवनको साठी वर्षलाई ज्येष्ठ नागरिकको प्रारम्भिक बिन्दु कानुनी रूपमा मानिएको छ । मानिसको जीवन उमेर बढ्दै जानु, बुढेसकालमा पुग्नु र मृत्यु हुनु शासत् सत्य हो । मानिस जन्मँदा मनका कुरा के थिए, वर्तमानमा व्याख्या गर्न कठिन छ तर भोक, तिर्खा, चिसो, तातो, आमाको स्नेह, जसलाई मनका कुरा थिए होलान् भन्न दुईमत हुँदैन । मानिसको जन्मपश्चात् उमेर बढ्दै जाँदा जे–जे अनुभव गर्दै जान्छ, सोहीअनुसार व्यवहार प्रदर्शन गर्दै जान्छ । यस्तो व्यवहार प्रदर्शन गर्नु भनेको मन (चेतना) र बाह्य वातावरणबीचको सम्पर्कबाट मनका कुरा व्यक्त गरिन्छ । वास्तवमा मनका कुरा उमेर बढ्दै जाँदा शारीरिक, जैविक, वंशानुगत र वातावरणको सम्मिश्रणको प्रतिफल हो । जसलाई उमेरजन्य विषयका आधारमा मनका कुरा व्यक्त गरिन्छ र प्रदर्शनसमेत गरिन्छ । ज्येष्ठ नागरिकका मनका कुरा अन्य उमेरभन्दा भिन्न हुन्छन् किनभने जीवनको उत्तरार्ध अवस्था भनेको नै ज्येष्ठ नागरिक हुन् ।
हरेक मानिसको जीवनको आधारभूत कार्यथलो भनेको परिवार र समाज हो । मानिस यसै परिवेशमा जन्मन्छ, हुर्कन्छ, बढ्छ र मृत्युसमेत वरण गर्नुपर्छ । परिवार र समाज नै मानिसलाई मानवीय गुणको विकास गराउने पहिलो अनियमित पाठशाला हो । जसबाट मानिसको मनलाई उजागर गराइदिन्छ ।
ज्येष्ठ नागरिकको पहिलो र अन्तिम भौतिक घरपरिवार र समाज हो, वृद्धाश्रम होइन तर समयक्रमसँगै नयाँ पुस्ता (छोरा÷बुहारी) को जीवन शैलीमा तीव्र गतिले परिवर्तन आउन थालेको छ, मान्यता बदलिँदै गएका छन्, परिवार र समाजमा समताको अभाव बढ्दै गएको छ, एकल परिवारले मान्यता पाएको छ । यसबाट ज्येष्ठ नागरिकमा कुण्ठाको भावना उत्पन्न हुन गएको छ । यसका पछाडि विभिन्न कारण छन् ।
ज्येष्ठ नागरिकको पारिवारिक एवं सामाजिक रूपमा हैसियत खस्किँदै जान्छ, पारिवारिक नेतृत्व छोरा बुहारीमा जानु, सामाजिक मान सम्मान कम हुँदै जानु स्वाभाविक पक्ष हुन् तर ज्येष्ठ नागरिकका मनमा आफू हेपिएको महसुस गर्छन् । मनमा खिन्नता बढ्न जान्छ, उत्साह र जाँगर कम भएर जान्छ, परिणाम अर्को सामाजिक मनोविज्ञानमा प्रभाव पर्छ ।
मानिस महिला र पुरुषमा विभाजन छ भने परिवार धनी÷गरिब, शिक्षित÷निरक्षर, संस्कृति÷संस्कार आदि विविधताले भरिएको छ तर यो विविधता भित्रका ज्येष्ठ नागरिकका कुरामा खासै भिन्नता भएको पाइँदैन ।
महिला र पुरुषबीचको ज्येष्ठ नागरिकका मनका कुरा भिन्न भएको पाइन्छ । आफ्नो जीवनलाई एकले अर्कोलाई प्राथमिक दिएको पाइन्छ । पुरुष ज्येष्ठ नागरिकको मनका कुरामा– बालक कि आमा र बूढा कि स्वास्नी पहिले नमरोस् तर महिला ज्येष्ठ नागरिकको मनका कुरा के छ भने श्रीमान्को काखमा मर्न पाए हुन्थ्यो । यी महिला र पुरुष अर्कोतर्फ दुवै प्रकारका ज्येष्ठ नागरिकका मनका कुरा मिल्न जान्छ, हामी त डाँडा माथिको डुब्न लागेको घाम भइसक्यौँ । हामीले दुःख पाए पनि छोरा, नातिले सुखसँग बाँच्न पाऊन्, उनीहरूको उमेर छ– पढ्नु, लेख्नु, जागिर खानुपर्छ, हामीलाई स्याहार सुसार गरेर के गर्नु ?
हरेक ज्येष्ठ नागरिकका परिवार र समाज अपरिहार्य आवश्यकता हो । परिवार जीवन निर्वाह गर्ने मानवीय आवश्यक हो भने समाज जन्मदेखि मृत्यु पर्यन्तको आवश्यक थलो हो । परिवारले मनोभावलाई ह्रास हुनबाट बचाउँछ भने समाजले व्यक्तिलाई सामाजिक सुरक्षा र सम्मान प्रदान गरी आत्मामा रहेका कुण्ठालाई न्यूनीकरण गर्छ । परिवार र समाजले ज्येष्ठ नागरिकको जीवनलाई क्रियाशीलता बढाउँछ, समाज शास्त्रीहरूको कथन छ, व्यक्तिको जीवन निर्वाह गर्नका लागि समाजलाई सामाजिक खानाका रूपमा स्वीकार गरेका छन् । सामाजिक सम्पर्कबाट नै ज्येष्ठ नागरिकमा उब्जने नकारात्मक मनका कुरालाई सकारात्मक सोचमा वृद्धि गर्छ । एकलपनलाई न्यूनीकरण गर्छ । हाँसेर बाँच्न सिकाउँछ ।
ज्येष्ठ नाकरिकले पारिवारिक एवं सामाजिक न्यानोपन पाएको खण्डमा काल आएन, भगवान् मलाई चाँडै बोलाऊ, भन्ने जस्तो कुरा मनमा खेल्ने अवसर आउँदैन, जीवन सक्रिय बनाई परिवारको वातावरणलाई सहज बनाउन सक्रिय हुन्छ । भावनात्मक रूपमा सुरक्षित भएको महसुस गर्छ ।
नेपालका ज्येष्ठ नागरिकमा परम्परागत संस्कार र आनीबानीले गर्दा आफूलाई मूल्यहीन मानव अस्तित्व महसुस गरिरहेका छन् । हिन्दु धर्मले समेत उत्पादन गरेका वृद्धप्रतिको सोचले बुढेसकालमा मन साँगुरो बन्दै गएको हो ।
वास्तवमा ज्येष्ठ नागरिक अनुभव सीप र ज्ञानका स्रोत हुन् र यस्ता पुराना पुस्ताबाट हामी नयाँ पुस्ताले सिक्नुपर्छ भन्ने सोचलाई प्राथमिकता दिनुपर्छ । विद्यालयमा दिइने नैतिक शिक्षा आफैँमा एउटा स्रोत हो । परिवारको व्यवहारबाट स्वयंपाके हुने, मृत्युवरण गर्ने पाए हुन्थ्यो भन्ने सोच हुन् जस्ता विषय परिवार र समाजले सकारात्मक विभेदीकरण गर्नसके उपचार हुने सम्भावना छ ।
माया भन्ने विषय मानवीय संवेगात्मक विषय हो । समाजमा पढे लेखेका नयाँ पुस्ताले मायाको विषयमा उकालो पनि लाग्छ, ओरालो मात्र होइन भन्ने परम्परागत सोच एवं व्यवहारलाई साबित गर्नुपर्छ । हाम्रो कथन बुबाआमालाई देवता सरह मान, जसले यो जीवन दिए । वृद्धाश्रममा बुबाआमालाई राख्नेभन्दा परिवार र समाजमा हाँसीखेली जीवन बिताउने अवसर प्रदान गर्नुपर्ने आजको अपरिहार्य आवश्यकता हो ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds