टिएमजेका ताल–पोखरी सुक्न थाले

तेह्रथुम, पुस २९ गते ।प्राकृतिक एवम् जैविक विविधताले भरिपूर्ण तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रका प्राकृतिक पोखरी संरक्षणका अभावमा सुक्न थालेका छन् ।


तेह्रथुम, संखुवासभा र ताप्लेजुङ जिल्लाको संगमस्थल तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्र गुराँसको राजधानी भनेर चिनिन्छ । यस क्षेत्रमा नेपालमा पाइने ३२ मध्ये २८ प्रजातिका गुराँस पाइन्छन् ।

यो क्षेत्रमा गुराँस मात्र होइन, प्राकृतिक ताल र पोखरीले पनि भरिपूर्ण छ । तर उचित संरक्षण हुन नसक्दा ती प्राकृतिक ताल र पोखरी बर्षेनि सुक्दैछन् । यस क्षेत्रको पदमार्ग आसपासका धेरैजसो ठाउँको नाम पनि पोखरीकै नामबाट राखिएको छ । पछिल्लो समयमा पदमार्ग मासेर सडक विस्तार तथा बस्ती बढ्दै जाँदा प्राकृतिक पोखरी भने सुक्न थालेका हुन् ।

तेह्रथुमको वसन्तपुरदेखि माथिल्लो क्षेत्र जलजलेसम्म २० वर्षअगाडि दुई दर्जन स–साना ताल तथा पोखरी रहेको स्थानीयवासी बताउँछन् । दुई दशकको अवधिमा यस क्षेत्रका पाँचपोखरी, सुकेपोखरी, भुतेपोखरी, जोरपोखरी, खोप्किन पोखरी लगायतका प्राकृतिक पोखरी सुकेका छन् ।

गुफापोखरी, लामपोखरी, सभापोखरीलगायत केही पोखरी अहिले अस्तित्वमा रहे पनि बर्षेनि पानीको सतह घटिरहेको त्यहाँ पुग्ने जो कोहिले पनि सजिलै देख्न सकिन्छ । उच्च क्षेत्रको सभापोखरीबाहेक अहिले लामपोखरी र गुफापोखरीमा बर्षेनि पानीको सतह घटेर बालुवा मात्रै देखिन थालेका छन् ।

यही क्षेत्रमा पर्ने तेह्रथुम र धनकुटाको सीमावर्ती क्षेत्रमा रहेको मार्गापोखरीमा पनि पानीको सतह घट्दो छ । पहिले–पहिले पोखरीको घेरा नाघेर बस्ती जोखिममा पार्ने मार्गापोखरीमा यस वर्ष पानीको मात्रा शून्य भएपछि स्थानीय युवाले कुलो खनेर पानी ल्याई पोखरीमा लगाउने अभियानसमेत चलाएका थिए ।

यही क्षेत्रमा पाँचपोखरी नाम मात्रको छ । पाँचवटा पोखरी एकै ठाउँमा भएकै कारण यहाँको सानो बजारको नाम नै पाँचपोखरी राखिएको थियो । तर अहिले यहाँका सबै पोखरी सुकेका छन् । “हामीले थाहा पाउँदासम्म पाँचपोखरीमा नजिकै पाँचवटा पोखरी थिए”, श्रीजुंगका नारायण दाहालले भन्नुभयो, “अहिले त पोखरी हैन, खाल्डा मात्र हेर्न पाइन्छ ।”

गुफापोखरीकै छेउमा विकास भएको बस्तीको नाम गुफाबजार हो । नजिकै एउटा पानी सुक्न लागेको पोखरी थियो । सुक्न लागेको पोखरीको नजिकै बस्ती बस्यो, अहिले त्यो बजारको नाम सुकेबजार राखिएको छ । तर सुक्न लागेको पोखरीको अवशेष मात्र बाँकी छ । अझै माथि छ जोरपोखरी बजार । दुईवटा पोखरी एकै ठाउँमा भएका कारण बस्तीको नाम नै जोरपोखरी भनिएको यहाँ पनि पोखरीको अस्तित्व संकटमा छ ।

प्राकृतिक सुन्दरताले भरिपूर्ण सुकेपोखरी र जोरपोखरी कहाँ पुगे भन्ने कुनै अत्तोपत्तो छैन । आफ्नो बाल्यकालको सम्झना गर्दै दाहालले भन्नुभयो, “म सानो छँदा गोठालो जान्थेँ, त्यो बेला सारै राम्रो पोखरी थियो, अहिले त्यो सुकेर हराइसक्यो ।”

ताप्लेजुङ सँगको सीमावर्ती जोरपोखरी बजारमा रहेका पोखरी पनि उसैगरी सुकेका खनालले बताउनुभयो । ताप्लेजुङको ओलाङचुङगोलाबाट १५ वर्षअगाडि बसाइ सरेर जोरपोखरी आएका नोर्गे लामाले भन्नुभयो, “म आउँदा दलदले हिलो सहितको पोखरी चाहिँ थियो, अहिले त खाल्डो मात्रै छ ।”

आसपासका सबै पोखरी सुक्दै गएकाले गुफापोखरीमा समेत पानीको सतह घटेर सुक्ने अवस्थामा पुगेको स्थानीयवासी हरि खनालले बताउनुभयो । “बर्षेनि पानीको सतह घट्दो छ, अब आठ–दश वर्षसम्म पनि यस्तै अवस्था रहे गुफापोखरीको पनि के हालत हुने हो ? थाहा छैन,” उहाँले भन्नुभयो । पानी भरिएर फुट्ने डरले केही वर्षअघि पोखरीका दुई छेउमा बाँधसमेत लगाइएको थियो । तर अहिले पोखरीको पानी बाँधभन्दा धेरै तल पुगिसकेको छ ।

“पहिले पहिले पोखरीमा टाढाबाट उडेर विभिन्न प्रजातिका चरा बास बस्न पनि आउने गर्थे, तर अहिले पानी सुक्यो र पोखरीमा आएर महिनौँ बास बस्ने चरा पनि आउन छाडे,” खनालले भन्नुभयो । पोखरी सुक्दा जनजीवनमा पनि समस्या हुन थालेको छ । वस्तु भाउलाई खुवाउने पानीकै पनि अभाव हुन थालेको छ । हिउँदको समयमा पर्ने हिउँले केही पानी जम्मा भए पनि त्यसले वर्षभरि धान्न नसक्नाले स्थानीयवासीले सो क्षेत्रमा राखेका गाईगोठका वस्तुलाई पानी खुवाउन समस्या भएको बताउँछन् ।

गुफापोखरीको सुन्दरतामा रमाउन आउने पनि निराश भएर पकmर्ने गरेका छन् । पोखरी संरक्षणका लागि कसैले पनि चासो नदेखाएको स्थानीयवासीको गुनासो छ । पोखरी सुक्दै गएको भए पनि पानी संरक्षण गर्नतर्पm कसैले चासो देखाएको छैन । यही गतिमा पानी सुक्दै गयो भने अबको ५–७ वर्षपछि गुफापोखरीको अस्तित्व पनि लोप भइसक्ने वातावरणविद् मौसम खनालको अनुमान छ ।

“पानीको सतह गिर्दो छ, मैले पाँच वर्ष यहाँका प्राकृतिक सम्पदासँगै बिताएँ,” उहाँले भन्नुभयो, “यही रफ्तारले पानी सुके ७ वर्षपछि पोखरी अस्तित्वमा हुन मुस्किल छ ।” समय समयमा प्रशस्त पानी नपर्नु र प्राकृतिक स्रोत र सम्पदाको उचित संरक्षण नहुँदा यस क्षेत्रका ताल पोखरी सुक्दै गएको स्थानीयवासीको बुझाइ छ ।

करिब दुई हजार ५०० मिटर माथिको उचाइ पर्ने यी क्षेत्रमा पानीका मुहान सुक्न थालेपछि यहाँ राखिएको गोठ र बस्तीसमेत पातलिने क्रममा छन् । सडक निर्माणसँगै घुर्मिसे, पाँचपोखरी, चौकी, मंगलबारे, गुफाबजारलगायत क्षेत्रमा बसोबास गर्नेको सङ्ख्यासमेत घट्न थालेको छ । हाल तेह्रथुमको वसन्तपुरदेखि ताप्लेजुङको साँघुसम्म नियमित सवारी सञ्चालनमा छन् ।

वर्षाको समयमा सडक हिलाम्मे भएर अवरुद्ध भए पनि हिउँदका अधिकांश महिना यातायात सञ्चालनमा रहेको व्यवसायी सन्तोष निङ्लेकुले बताउनुभयो ।

“सडक निर्माणले मानिस पैदलमार्फत आवत–जावत कम मात्रै गर्छन्, आए पनि यहाँ बस्दैनन्, घुमेर एकै दिन फिर्छन् त्यसैले यहाँका बजार सुक्न थालेका हुन्,” गुफाका व्यवसायी खनालले भन्नुभयो । सडक निर्माणले विकासको आभास भए पनि आफूहरुलाई घाटा भएको व्यवसायीको गुणासो छ ।

यो क्षेत्रमा गुराँसका विभिन्न प्रजातिको अवलोकन, विभिन्न तालपोखरी, डाँडाकाँडा, हिमशृंखलाको अवलोकन र कञ्चनजङ्घा हिमालसम्म पुग्ने पर्यटक आउने गर्दछन् ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds