समाजमा बौद्धिक अपाङ्गता

शर्मिला विश्वकर्मा


वि.सं. २०६३ सालदेखि नेपाल सरकारको परिभाषाअनुसार अपाङ्गतालाई सात भागमा विभाजन गरिएको थियो । यो पछिल्लो समयमा अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ आएको छ । सो ऐनअनुसार अपाङ्गता भएका व्यक्ति भन्नाले शारीरिक, मानसिक, बौद्धिक वा इन्द्रीयसम्बन्धी दीर्घकालीन अशक्तता, कार्यगत सीमितता (फङ्सनल इम्पेरिमेन्ट) वा विद्यमान अवरोधको कारण अन्य व्यक्ति सरह समान आधारमा पूर्ण र प्रभावकारी ढङ्गले सामाजिक जीवनमा सहभागी हुन बाधा भएका व्यक्ति सम्झनुपर्छ भनेर उल्लेख गरेको छ । यो ऐनअनुसार शारीरिक अपाङ्गता, दृष्टिसम्बन्धी अपाङ्गता, सुनाइसम्बन्धी अपाङ्गता, श्रवण दृष्टिविहीन अपाङ्गता, स्वर र बोलाइसम्बन्धी अपाङ्गता, मानसिक वा मनोसामाजिक अपाङ्गता, बौद्धिक अपाङ्गता, अनुवंशीय रक्तश्राव (हेमोफिलिया) सम्बन्धी अपाङ्गता, अटिजामसम्बन्धी अपाङ्गता र १० बहुअपाङ्गता गरी अपाङ्गतालाई १० प्रकारमा वर्गीकरण गरेको छ । यी १० प्रकारका अपाङ्गतामध्ये बौद्धिक अपाङ्गता पनि एक हो । नेपाल सरकरको परिभाषाअनुसार १८ वर्षको उमेर अगावै बौद्धिक विकास नभएको कारणले उमेर वा वातावरण (सापेक्ष) अनुसार क्रियाकलाप गर्न कठिनाइ हुने व्यक्तिलाई बौद्धिक अपाङ्गता भनिन्छ । उनीहरूमा उमेरअनुसार बौद्धिक विकास भएको हँुदैन । बौद्धिक अपाङ्गता भएका व्यक्तिको बौद्धिक क्षमता, शारीरिक अवस्था लगायतका आधारमा साधारण, मध्यम, अशक्त र अति अशक्त गरी चार भागमा विभाजन गरिएको छ । यी चार प्रकारका बौद्धिक अपाङ्गतामध्ये अति अशक्त र अशक्त बौद्धिक अपाङ्गता भएका व्यक्तिलाई चौबीसै घण्टा अर्को व्यक्तिको सहयोगको आवश्यकता हुने हुन्छ । यस्ता व्यक्तिलाई सहयोगीले नै खान खुवाइदिने, लुगा लगाइदिने, सरसफाइ गरिदिनुपर्ने, दैनिक क्रियाकलाप गराइदिनुपर्ने हुन्छ । अति अशक्त तथा अशक्त बौद्धिक अपाङ्गताको तुलनामा मध्यम र साधारण बौद्धिक अपाङ्गता भएका व्यक्तिले साधारणतया आफ्ना दैनिक क्रियाकलाप आफैँ गर्न सक्ने, सिकाएको काम गर्ने वा सीप सिक्ने तर अन्य व्यक्तिको तुलनामा सिकाइमा कमी हुने हुन्छ ।
साधारण तथा बौद्धिक अपाङ्गता भएका व्यक्तिले सामान्यतया आफ्ना दैनिक क्रियाकलाप वा सामान्य काम आफैँ गर्न सकेता पनि सिकाइसम्बन्धी तालिमको आवश्यकता हुने हुन्छ । यस्ता व्यक्तिलाई उपयुक्त तालिम दिन सकेमा उनीहरूको जीवनयापनमा केही सहजता हुन्छ । बौद्धिक अपाङ्गता भएका व्यक्तिको शारीरिक बनावट अन्य व्यक्ति जस्तै देखिए पनि समय र उमेरअनुसार कार्य सम्पन्न गर्न, भनेको कुरा बुझ्नलाई कठिनाइ भएको पाइन्छ । वैज्ञानिकहरूको भनाइअनुसार १८ वर्षभन्दा कम उमेरमा गर्भवती भएमा, आमाले गर्भवती अवस्थामा कुनै लागूपदार्थ सेवन गरेमा, आमा गर्भवती हुँदा कुनै दुर्घटनामा परेमा, कडा औषधिको सेवन गरेमा, केमिकलहरूले असर गरेमा वा भिटामिन, प्रोटिन, कार्बोहाइड्रेड जस्ता खानेकुराको कमी भएमा बालबालिकामा बौद्धिक अपङ्गता हुने गरेको पाइन्छ । अधिकांश बौद्धिक अपाङ्गता भएका व्यक्तिमा स्मरण शक्ति कम हुने हुन्छ भने सिकाइ क्षमतामा पनि केही ढिलाइ हुने गर्छ । जसले गर्दा उनीहरू आफू को हो ?, मैले के गर्नुहुन्छ वा हुँदैन ?, आफन्तहरू को हुन् ? भन्ने कुराको स्मरण नहुँदा अन्य नागरिकको तुलनामा बौद्धिक अपाङ्गता भएका व्यक्तिले पारिवारिक तथा सामाजिक विभेदको समाना गर्न परेको छ । कतिपय अवस्थामा हाम्रो समाजमा बच्चा बौद्धिक अपाङ्गता जन्मेकै कारण बच्चा र आमाले परिवारबाट निकालिन परेको घटना पनि विभिन्न समयमा सञ्चार माध्यममा आउने गर्छन् । आजको यो २१ औँ शताब्दीमा पनि हाम्रो समाजमा अन्धविश्वास र परम्परावादी सोचका कारण अपाङ्गतालाई पूर्व जन्मको पापका रूपमा लिने गरिन्छ र पारिवारिक, सामाजिक रूपमा यस्ता व्यक्ति, आमा र घर परिवारलाई नकारात्मक दृष्टिकोणले हेर्ने गरिन्छ ।
हाम्रो समाजमा बौद्धिक अपाङ्गतालाई मानसिक अपाङ्गताको रूपमा पनि हेर्ने गरिन्छ । वि.सं. २०६३ सालमा नेपाल सरकारको परिभाषामा नै मानसिक अपाङ्गताभित्र बौद्धिक अपाङ्गता, मानसिक अस्वस्थता र अटिजमलाई राखिएको थियो, अहिले वि.सं. २०७४ को अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐनमा भने बौद्धिक अपाङ्गता, मनोसामाजिक अपाङ्गता र अटिजम अपाङ्गता भनि छुट्टाछुट्टै वर्गमा राखेर परिभाषित गरेको छ । यो बौद्धिक अपाङ्गता मानसिक अपाङ्गता होइन किनकि मानसिक अपाङ्गता जन्मपश्चात् दुर्घटनामा परेर वा मानसिक विचलनका कारण मस्तिष्कमा आउने विचलन हो । मानसिक अपाङ्गता समयमा नै औषधि उपचार पाएमा निको हुन्छ तर बौद्धिक अपाङ्गता जन्मजात हुने एक अवस्था हो । राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालको कुल जनसङ्ख्या दुई करोड ६४ लाख ९४ हजार ५०२ मध्ये अपाङ्गता भएका व्यक्तिको सङ्ख्या पाँच लाख १३ हजार ३२१ छ ।
बौद्धिक अपाङ्गता भएका व्यक्ति अधिकांश विभिन्न हिंसामा पर्ने गरेको विभिन्न समयमा विभिन्न सञ्चारमा माध्यमबाट सुन्नमा आएको पाइन्छ । विशेषगरी बौद्धिक अपाङ्गता भएका महिलाको अवस्था झनै दर्दानाक रहेको छ । उनीहरू आफूलाई के भएको छ भन्ने कुरा भन्न नसकने, भनेको वा गरेको कुरा छिट्टै बिर्सने हुनाले पनि बौद्धिक अपाङ्गता भएका अधिकांश महिला विभिन्न हिंसामा पर्ने सम्भावना रहेको छ । यस्ता बौद्धिक अपाङ्गता तथा सिकाइ क्षमता कम भएका अपाङ्गता भएका व्यक्तिको जीवन आमा–बुबा तथा संरक्षकको मृत्युपछि झनै कठिन हुने देखिन्छ । अधिकांश अभिभावकको भनाइ नै हामी आमा–बुबाको मृत्युपछि वा काम गर्न नसक्ने भएपछि मेरो बौद्धिक अपाङ्गता भएको छोरा वा छोरीको जीवन कस्तो होला ? उ कसरी यो समाजमा बाँच्न सक्छ होला भन्ने चिन्ताले पिरोलिरहेको छ ।
नेपाल सरकार शिक्षा मन्त्रालयले शिक्षा विभागमार्फत सबै विद्यार्थीका लागि शिक्षाका कार्यक्रम सञ्चालन गर्दै आएको छ । जसअन्तर्गत दुई वटा विशेष विद्यालय सञ्चालन गरिएको छ । यी विशेष विद्यालयअन्तर्गत बौद्धिक अपाङ्गता भएका व्यक्तिका लागि देशैभरि गरेर १४ वटा विद्यालय सञ्चालनमा रहेका छन् । १४ हजार आठ सय ८८ जना बौद्धिक अपाङ्गता भएका व्यक्तिका लागि १४ वटा विशेष विद्यालयले बौद्धिक अपाङ्गता भएका व्यक्तिलाई सहज रूपमा शिक्षा प्रदान गर्न सक्ला त ? नेपाल सरकारले बौद्धिक अपाङ्गता भएका व्यक्तिका लागि यी १४ वटा विद्यालय सञ्चालन गर्नु त राम्रो हो तर त्यो अपुग रहेको छ । हुन त नेपाल सरकार शिक्षा मन्त्रालयले शिक्षा विभागमार्फत नेपालभर ३८० वटा स्रोत कक्षा पनि सञ्चालन गरेको छ तर बौद्धिक अपाङ्गता अनुकूलको संरचना, पाठ्य सामग्री, दक्ष जनशक्तिको अभावमा अधिकांश बौद्धिक अपाङ्गता भएका व्यक्तिले शिक्षा लिन पाएका छैनन् । हुन त शिक्षा विभागले अन्य बालबालिकाका साथै बौद्धिक अपाङ्गता भएका व्यक्तिको शिक्षामा पहुँच पु¥याउनका लागि अपाङ्गताको क्षेत्रमा काम गर्ने विभिन्न सङ्घ संस्थासँग सहकार्य गरेर पाठ्यपुस्तक निर्माण गर्ने काम गरेको छ । त्यसैगरी पाठ्यक्रम विकास केन्द्रले पनि बौद्धिक अपाङ्गता, डाउन सिण्ड्रोम अपाङ्गता तथा अटिजम अपाङ्गता भएका व्यक्तिको शिक्षामा पहुँच पु¥याउने उद्देश्यले पाठ्यपुस्तिका निर्माण गरेको छ । विगतका तुलनामा राज्य स्तरबाट अपाङ्गताको क्षेत्रमा केही कार्यको थालनी भएको छ । आगामी दिनमा यसलाई पूर्ण रूपमा कार्यन्वयन गर्नेतर्फ लैजान जरुरी छ ।

प्रकाशित मिति: २०७४/९/३०

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना