चिया प्रवद्र्धन (सम्पादकीय)

चिया खेती सुरु भएको करिब डेढ सय वर्षपछि नेपाली चियाले आफ्नै ट्रेडमार्क (लोगो) पाउने भएको छ । हिमालय टी प्रोड्युसर्स एसोसिएन र चिया तथा कफी विकास बोर्डको सहयोगमा कृषि विकास मन्त्रालयले नेपाली चियाको ट्रेडमार्क र ट्रेडमार्क कार्यान्वयन निर्देशिका कार्यान्वयनका लागि कार्यविधिसमेत तयार गरेको छ । ट्रेडमार्कमा हिमालको आकृतिसहित नेपाल टी, ‘क्वालिटी फ्रम दी हिमालयज’ लेखिएको छ । ट्रेडमार्क कार्यान्वयनका लागि कृषि विकास मन्त्रालयले नेपाली अर्थाेडक्स चिया सर्टिफिकेसन ट्रेडमार्क कार्यान्वयन निर्देशिका २०७४ जारी गरेको छ । यस निर्देशिकामा लोगो प्रयोग गर्न नेपाली चिया उत्पादकले पालना गर्नुपर्ने नियम र उत्पादनको गुणस्तरबारे उल्लेख छ । यो ट्रेडमार्क प्रयोग अग्र्यानिक चियाले मात्र पाउनेछ । यसको प्रयोगसँगै नेपाली चियाले अन्तर्राष्ट्रिय बजारमा छुट्टै पहिचान बनाउनेछ । यसले चियाको बजार विस्तार हुनाका साथै स्वदेशमा चिया खेतीको विस्तार र रोजगारीका अवसर सिर्जना हुनेछन् । 

नेपालमा वि.सं. १९२० मा चिया खेती सुरु भएको मानिन्छ । यसको १५ वर्षपछि चियाको व्यावसायिक उत्पादन सुरु भएको हो । नेपालको पूर्वी भाग इलामबाट सुरु भएको चिया खेती झापा जिल्ला हुँदै पाँचथर, तेह्रथुम, धनकुटा, ललितपुर, नुवाकोट, काभ्रेपलाञ्चोक सहित ४४ जिल्लामा चिया खेती विस्तार भएको छ । मुुलुकभर २१ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा चिया खेती गरिन्छ भने वार्षिक उत्पादन २४ हजार मेट्रिक टनभन्दा बढी छ । वि.सं. २०३७ साततिरै इलाम, पाँचथर, तेह्रथुम, धनकुटालाई चिया क्षेत्र घोषणा गरियो । यसले रोजगारीको अवसर सिर्जना गर्नेदेखि स्थानीय आयवृद्धि, स्वदेशी मागको आपूर्ति र निर्यातसमेत हुने गरेको छ । नेपाली चिया अमेरिका, जर्मनी, जापान, अष्ट्रेलिया लगायतका देशमा निर्यात हुने गरेको छ । पहाडको चिसो हावापानीमा उत्पादन हुने अर्थाेडक्स चियाको अन्तर्राष्ट्रिय बजारमा उच्च माग छ । यहाँ उत्पादन हुने अर्थोडक्स चियाको करिब ९० प्रतिशत निर्यात हुन्छ तर नेपालमै उत्पादन भएको चियाले अरूको नाम लिएर अन्तर्राष्ट्रिय उपभोक्तासम्म जानुपर्ने अवस्था छ । नेपाली चिया गुणस्तरयुक्त हुने भए पनि अन्तर्राष्ट्रिय बजारमा स्वीकार्य मापदण्ड अवलम्बन गर्न नसक्दा उचित विस्तार हुन सकेको छैन । भारतको दार्जिलिङको चियाले विश्व बजारमा आफ्नै पहिचान स्थापित गरिसकेको र दार्जिलिङको हावापानीसँग नेपालको पहाडी क्षेत्रको हावापानी मिल्दो भएकाले नेपाली चियालाई पनि दार्जिलिङ चियाकै नाममा अन्तर्राष्ट्रिय बजारमा लैजानुपर्ने बाध्यता छ । त्यसैले नेपाली चिया निर्यातको ८० प्रतिशत भारतमा हुने गरेको छ । यो अवस्थाले गर्दा नेपाली उत्पादनले उचित मूल्य पाउन सकेको छैन ।
नेपाली अर्थाेडक्स चियालाई एउटै ट्रेडमार्कबाट अन्तर्राष्ट्रिय बजारमा चिनाउने प्रयास राम्रो हो तर खाली ट्रेडमार्क मात्रै अन्तर्राष्ट्रिय बजारमा स्थापित हुन पर्याप्त हुँदैन । समय, समयमा गुणस्तरीय उत्पादन नभएकाले नेपाली उत्पादन युरोप, अमेरिकाको बजारबाट फिर्ता आउने गरेको छ । गुणस्तरीय चिया उत्पादनका लागि चियाको बिरुवा रोप्नेदेखि पात÷मुना टिप्ने, प्रशोधन र प्याकेजिङसम्मका अवस्थामा ख्याल पु¥याउनुपर्छ । त्यसैले नेपाली चियालाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न ट्रेडमार्कले सहयोग गर्छ तर त्योभन्दा बढी महìवपूर्ण गुणस्तरीय उत्पादनमा जोड दिनैपर्छ । अहिले साना किसान र साना उद्योगको बाहुल्य छ । सानो लगानीमा सञ्चालित बगान र प्रशोधन उद्योगको उत्पादनलाई गुणस्तरीय बनाउन सरकारी सहयोगको आवश्यकता छ । पूर्वाधारमा लगानीका साथै आधुनिक प्रविधि प्रयोग गर्नुपर्छ । चियाको गुणस्तर, मजदुरको अधिकार, वातावरण संरक्षण, विषादी र रासायनिक मलको प्रयोगको अवस्था लगायतका मापदण्ड पूरा गर्न सबैले होसियारी अपनाउनुपर्छ । यी मापदण्ड पूरा गरेर अन्तर्राष्ट्रिय बजारमा नेपाली चियालाई स्थापित गर्न सके यसको लाभ स्थानीय किसान, मजदुर, लगानीकर्ता र मुुलुकले पाउनेछ ।

 

 प्रकाशित मिति: २०७४/९/३०

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना