जीवजन्तुले दिन्छन् भूकम्पको पूर्वसङ्केत

ramchandra adhikari_1रामचन्द्र अधिकारी

जान्नेले अगाडि किन भन्नुपर्दैन थियो भन्ने प्रतिक्रिया जो कोहीले दिनु स्वाभाविक हो । तथापि, मानिसले नजाने पनि अगाडि नै जीवजन्तुले भूकम्प आउँदैछ भन्ने जान्छन् । जीवजन्तुको गतिविधि बुझेर सतर्कता अपनाउनु हो भने भूकम्पबाट हुने धनजनको क्षति न्यूनीकरण गर्न सकिन्छ । साना भूकम्पीय तरङ्ग जो मानिसले महसुस गर्न सक्दैन तर जीवजन्तुले थाहा पाउने क्षमता राख्छन् । ठूला भूकम्प चल्नुअघि मसिना मानिसले थाहा नपाउने र पाउनेसमेत तरङ्ग आउँछन् भन्ने विज्ञहरूले भन्ने गरेका छन् । अनि अहिलेसम्मको वैज्ञानिक दिमागले भूकम्प आउने पूर्वसङ्केत दिने कुनै विश्वासिला औजारको आविष्कार गरेका छैनन् । तसर्थ, यस्ता तरङ्ग थाहा पाउने जीवजन्तुको जीवनचर्या अवलोकन गरेर र बुझेर अरूलाई सचेत गराउन सक्नु नै वर्तमान विश्वमा भूकम्पबाट बच्ने निर्विकल्प एवं उत्तम उपाय हो ।
जनावरका ज्ञानेन्द्रीय मानिसका भन्दा निकै तेजिला हुन्छन् । प्रकृतिबाट प्राप्त भएको यस्तो असामान्य उपहार उनीहरूको जीवन रक्षाका लागि हो । भूकम्प, बाढीपहिरो, ज्वालामुखी, शत्रुको नजिक आगमनजस्ता स्थितिको जानकारी राख्न जनावरमा यस्तो क्षमता विकास भएको हो । यो तथ्यमा वैज्ञानिकता छ । जो कोही मानिसले यिनका अनौठा गतिविधि बुझ्न सक्छन् तर थोरै जानकारी उनीहरूलाई बुझाउन आवश्यक छ ।
नेपालमा प्रशस्तै जैविक विविधिता छ । भूकम्पको सूचना दिने सयौँ जनावर यहाँका राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र संरक्षित क्षेत्रमा छन् । त्यति पर पुगिराख्नु पर्दैन घरमै पालिने जनावरले पनि सूचना सङ्केत दिएकै हुन्छन् । जनावरलाई अवलोकन गरी बस्ने कसैको फुर्सद नहोला, कहिले गलत अर्थमा बुझिएला, कस्तो विपत्तिको सङ्केत दिएका हुन् भन्ने प्रस्ट नबुझिएला, यसै आधारमा अपवाह फैलिन सक्छन्, तब दुःख पाइन्छ तर खास स्वभाव अवलोकन गर्ने क्षमता राख्नुपर्छ ।
सन् १९९५ मा जापानमा घरेलु जनावरको स्वभावमा आएको परिवर्तन हेरेर भूकम्पको पूर्वअनुमान गरिएको थियो । सन् १९२३ मा जापानको टोकियामा क्याटफिसको उफ्राइका आधारमा पूर्वानुमान गरियो । २००४ मा श्रीलङ्का र थाइल्यान्डमा सुनामी आउने कुराको पूर्वसङ्केत कुकुर र अरू घरपालुवाजन्तुले दिएका थिए । वासिङ्टनमा बढी मात्रामा कुकुरको गतिविधि अवलोकन गरी कसो हुँदैछ अनुमान लगाइन्छ ।
धेरैजसो सूचक जनावरले हप्तौँ अघि विपत्तिको सङ्केत थाहा पाएका हुन्छन् । भूकम्प हामीले थाहा पाउँदा अपर्झट र आकस्मिक किसिमले आए पनि यसको आन्तरिक प्रक्रिया या भनौँ तयारी लामो हुन्छ । जस्तैकै ज्वालामुखी फुटेर वा टेक्टोनिक प्लेट जुधेर आउने भूकम्प क्षणभरमा उत्पन्न हुने होइन । तिनको अग्रिम आन्तरिक प्रक्रिया नै जनावरले पत्तो लगाइदिन्छन् ।
आजसम्म जे भयो अबका दिनमा जनावरको चहलपहल अध्ययन गरीकन निर्णय लिन सकियो भने भूकम्पबाट बचिने थियो । भूकम्पलगायतका प्रकोप आउनुभन्दा तीन दिन अगाडिदेखि कमिला सुरुङ छोडेर निस्किन्छन् । जङ्गली खरायो पनि सुरुङ छोडेर बच्चासहित बाहिरिन्छ । कुकुरहरू जोडसँगले भुक्छन् । घोडा पछाडि–पछाडि सर्छ । बाँधिएका गाईवस्तुहरू विनाकारण बल गरेर दाम्लो छिनाएर भाग्न खोज्छन् । सर्पहरू जमिनमाथि देखापर्छन् । भ्यागुता रातमा सडकमा वा बाँध वा पोखरीको डिलमा लाइनबद्ध बस्छन् । भान्सा कोठाको चेपमा बस्ने साङ्लाहरू अनायसै बाहिर आई छट्पट् गर्छन् । बिरालो एकदम छट्पट् गर्छ । बच्चाको आमा रहेछ भने बच्चा च्यापेर यताउता कुदिरहन्छ । चराहरू यत्रतत्र विना निश्चित गन्तव्य उडिरहन्छन् । स्याल, फ्याउरा घुमाउरो वृत्ताकारमा घुमेको घुमेयै गर्छन् । हात्ती आत्तिएर कान फड्काउने र जोडले चिच्याउने गर्छन् । क्याटफीस भूकम्प आउनुभन्दा केही घण्टाअघि बेस्सरी उफ्रिन्छ । जलगैँडाले भूकम्पको पूर्वसङ्केत पाउँछ र पानीभित्रै लडिबडी गर्छ ।
जमिनमुनी बस्ने सबैजसो जनावरले साह्रै साना तरङ्ग (इन्फ्रा ध्वनि) थाहा पाउँछन् । यसको अर्थ मानिसले थाहा पाउनुअघि नै यस्ता जनावरले भूकम्पको कम्पन थाहा पाइसकेका हुन्छन् ।
जीवजन्तुका गतिविधि बुझेर संसारमा भूकम्पका ठूला झड्काबाट ज्यान र धनमालको सुरक्षा गरिएका प्रशस्त उदाहरण छन् । जापान, इन्डोसिया, चिली, सुमात्रा टापुक्षेत्रमा यस्ता अध्ययन अवलोकनबाट पूर्वानुमान दिने गरिएको छ र धनजनको अधिक नाशलाई घटाइएको छ ।
जनावरका गतिविधिको अनुसन्धान प्रयोग चीनमा धरै गरिएका छन् । सन् १९२० मा चीनको हाइयुनमा ८ दशमलव ५ रेक्टरको भूकम्प आयो । त्यसको पूर्वसन्ध्यामा ब्वाँसाहरू घुमाउरो बाटोमा घुमिरहेका थिए, कुकुरको अनौठो भुकाइ थियो, भँगेरा यत्रतत्र उड्थे । यस आधारमा कुरा बुझेर सावधानी अपनाएर जनधन जोगाइएको थियो । सन् १९६९, जुलाई १८ मा पोही समुद्रमा सीगल, सार्कलगायत पाँच प्रजातिका माछाको अनौठो गतिविधि देखियो । टेन्टसिन पिपुल्स पार्क चिडियाखानामा पालिएका पान्डा, याक, बाघका अरूदिनका भन्दा फरक क्रिया देखिए । त्यसको दुई घण्टापछि त त्यहाँ ७.४ रेक्टर स्केलको भूकम्प चल्यो । १९७४ को मध्य डिसेम्बर महिनामा शीत निद्रामा रहेका सर्प र मुसाहरू प्रशस्तै सङ्ख्यामा बाहिर आए । सोही महिनाको अन्त्यमा ठूलै भूकम्प चीनमा आएको थियो । त्यसको एक महिनापछि सोही ठाउँमा पुनः त्यस्तै देखियो । मानिसले कुरा बुझे ७.३ रेक्टरको कम्प चल्यो जति क्षति हुनुपर्ने भएन किनकि जनावरको गतिविधि हेरेर सावधानी अपनाइएको थियो ।
सन् १९७६ मा ताङ्सान क्षेत्रमा ७.८ रेक्टर स्केल चल्यो । त्यसको सङ्केत ४० किलोमिटर पर रहेका घोडा र खच्चडले दिइरहेका थिए । उनीहरूलाई इच्छाबमोजिमा खानेकुरा दिइएको थियो तर खानातिर नहेरी उफ्रिने र लात्ती हान्ने गरिरहे भन्ने कुरा डा. जर्ज पी.सी. ले सुनामी पेज भन्ने जर्नलमा उल्लेख गरेका छन् ।
जीव विज्ञानका धेरै पुस्तकमा उल्लेख भएअनुसार बाख्रा खोरतिर जान मान्दैनन्, कुकुर र बिरालोले बच्चालाई लुकाएको ठाउँबाट सार्छन्, सुङ्गुर अस्वाभाविक आवाजले कराउँछ, कुखुराहरू रातारात खोरबाट कराउँदै भाग्न खोज्छन्, चराले गुँड छोड्छन् । त्यस्तै कीराहरू एक ठाउँमा भेला भएर भुनभुनाउँछन् ।
चीनको ताङ्सानमा सन् १९७६ को भूकम्पपछि जनावरले दिने पूर्वसङ्केतका बारेमा जीव वैज्ञानिक, भूगर्वविद्लगायतको टोलीले लामै अध्ययन ग¥र्या र निष्कर्ष हो भन्ने निकाले । उनीहरूले भने– ५८ प्रकारका घरपालुवा जनावरले भूकम्पको पूर्वसङ्केत दिन्छन् । एउटा अध्ययन परेवामा केन्द्रित गरियो । पत्तो लगाइयो कि परेकाको खुट्टामा भएका स्नायु तन्तुहरूले ४ रेक्टरभन्दा साना तरङ्ग थाहा पाउँछन् । ग्रीसमा ३७३ बीसीदेखि नै जनावरको अस्वाभाविक चालमालको अवलोकन गरी भवितव्य घोषणा गरिन्थ्यो र सावधानी खोजिन्थ्यो । यो पुरानो अभ्यास वर्तमानमा साक्षात साबित भएको छ । अब नेपालजस्तो भूकम्पको अति जोखिमपूण क्षेत्रमा अवस्थित रहेर धनजनको सुरक्षा गर्नका लागि भूकम्प मापन केन्द्रमा वा सो विभागमा जीव विज्ञानका ज्ञाताहरूको चयन गरी सदर चिडियाखाना र नजिकका संरक्षित क्षेत्रमा निरन्तर अवलोकन गराई भूकम्पको पूर्वानुमान गराउने संयन्त्रको विकास गर्न सकिन्छ । यसो गरेमा भुइँचालोबाट हुने क्षतिमा
कमी आउँछ ।

 प्रकाशित मिति २०७४/१०/२

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना