राष्ट्रिय योगदानको कदर

kp gautamके.पी. गौतम

 

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन पछाडि सरकारले गरेका कैयौँ निर्णयमा भावी सरकारका दाबेदार पक्षबाट अनेक प्रश्न उठिरहेका छन् । निर्वाचनलगत्तै काम चलाउ सरकारले गरेका दीर्घकालीन प्रभाव पार्ने निर्णय खारेज गरिने संस्थागत चेतावनी सार्वजनिक भएकै हो । तथापि, सरकारले वैधताको तर्क दिँदै नीतिगत निर्णय गरिरहेको छ । त्यसमाथि पछिल्लो पटक सरकारका सम्बन्धमा अपारदर्शिता र स्वेच्छाचारिताको गम्भीर प्रश्न उठाइएको छ । खासगरी मन्त्रिपरिषद्ले नियमित प्रस्तावकै हाराहारीमा मन्त्रीका खल्तीबाट निकालिने ठाडो प्रस्तावमा निर्णय गरिएका र धेरैजसो निर्णय सार्वजनिक नगरी लुकाइएको समाचार आएका छन् । ७० वटा निर्णयमध्ये ४० वटा नियमित र ३० वटा आकस्मिक प्रस्ताव रहेका तथा यी निर्णयमध्ये सात वटा मात्रै सार्वजनिक गरिएको अवस्थामा मन्त्रिपरिषद्ले नै सुशासन ऐन, २०६४ को बेवास्ता गरेको भन्न नसकिने ठाउँ रहेन । यस्तो प्रश्न उठ्दा उठ्दै पनि सरकारले गरेका दुई निर्णयका प्रशंसक धेरै देखिएका छन् । ती हुन्– ३७ वर्षअघि धनकुटाको छिन्ताङ्गमा सर्वहारा– किसान हितको गीत गाउँदा, प्रजातन्त्र चाहँदा राज्यद्वारा मारिएका १६ जनालगायतलाई शहीद घोषणा अनि पुस २७ गते राष्ट्रिय एकता दिवस मनाउने निर्णय ।
माघ १ गते कतै पवित्र नदी, नदी किनारमा स्नान गरी घिउ, चाकु, तरुल, सखरखण्ड खाँदै
माघेसङ्क्रान्ति मनाइँदै गर्दा थारू समुदायले नयाँ वर्षका रूपमा माघीपर्व मनाउने र मगर समुदाय डाँडाकाँडामा मेला भरी आफ्ना पितृको स्मरण गरिरहेका छन् । आ–आफ्नै तरिकाले एउटै पर्व साझा–सहिष्णु रूपमा मनाइरहेका छन् नेपाली । यो यही हो नेपालको मौलिक पहिचान । अनेकतामा एकताको सन्देश दिइरहेको नेपाल विश्व मानचित्रमा सदा अक्षुण्ण रह्यो । यसमाथि विश्व साम्राज्य शक्तिहरूले समेत पञ्जा गाड्न सकेनन् । हो, दूरदर्शी, देशभक्त नेतृत्वमा नेपाली जनताको एकता, देशप्रेम र समर्पणका कारण यो मुलुक स्वाभिमानी, सार्वभौम रहिरहन सक्यो ।
पृथ्वीनारायण शाह नेपालका राष्ट्रनिर्माता मानिन्छन् । बाइसे चौबीसे रूपमा, टुक्राटुक्रामा कित्ताकाट गरी सामन्तले चलाएका ससाना राज्यलाई एकीकरण गरेर उनले एउटै आकारको नेपाल राष्ट्र निर्माण गरेका हुन् । यसो त आफूको राज्य हडपेको, अधिकार खोसिएको आदि तर्क गर्दै उनलाई साम्राज्यवादी आरोप लगाउने पनि नभएका होइनन्, तथापि उनले एकीकरणको महाभियान नचलाएको भए टुक्राटुक्रा राज्य कुन साम्राज्यवादीको आहारा बन्थे ? के त्यसो भइदिएका भए राम्रो हुने थियो ? बाह्य आक्रमणकारीको सामना गर्न एकीकृत, बलियो राज्य निर्माणको आवश्यकता थियो, जुन अभियान तत्कालीन अन्य कुनै शासकले चलाउने क्षमता राखेनन् । स्वाभाविक रूपमा, टुक्रे राज्यको लडाइँमा कुनैले जित्ने कुनैले हार्ने हुन्थ्यो नै ।
वास्तवमा पृथ्वीनारायण शाहलाई युद्ध सरदार वा साम्राज्यवादी जस्ता आरोप कतिपयले लगाउने गरे पनि तत्कालीन चेतनाका आधारमा हेर्दा उनी दूरदर्शी नायक थिए । नेपाल राष्ट्रको एकता, विकास र नेपाली जनताको प्रगति कसरी हुन सक्छ भन्ने कुरामा उनी प्रस्ट थिए । भावी पुस्तालाई समेत राष्ट्र र जनताको विकासका निम्ति अर्ती दिएका थिए । दिव्य उपदेशका रूपमा चर्चित पृथ्वीनारायणका विचारको सङ्ग्रहलाई अहिले राजनीतिक, कूटनीतिक र आर्थिक क्षेत्रमा मार्गनिर्देशनका रूपमा लिनसकिने विद्वान्हरूको मत छ । हुन पनि ‘जनता स्वावलम्बी हुनुपर्छ आफ्नै खानी, आफ्नै उद्योगधन्दाको विकास गर्नुपर्छ, यसो गरे नेपालको धन विदेश जान पाउँदैन, खेती हुने र खानी भएको ठाउँमा गाउँ नराख्नु, गाउँ अन्यत्र सारेर पनि उत्पादनको लाभ लिई स्वावलम्बी बन्नु, विदेशी संस्कृतिमा नभुल्नु आफ्नै मौलिक संस्कृति नाचगानमा रमाउनु जस्ता अर्ती अद्यापि अनुकरणीय महसुस भइरहेका छन् । के पृथ्वीनारायण शाहले आफूले विजय गरेका राज्यमा गोर्खाली संस्कार संस्कृति लादेका थिए ? संस्कृतिविद्ले भन्ने गरेका छन्, उनले जहाँ विजय गरे त्यहीँको संस्कृति जोगाएनन् मात्र, आफूले समेत सहवरण गरे । नेपाल दुई ढुङ्गाबीच रहेको तरुल हो, उत्तर र दक्षिणतर्फका दुवै छिमेकीप्रति हामीले सन्तुलित र समान व्यवहार गरेर फाइदा लिन सक्नुपर्छ भन्दै हाम्रो परराष्ट्र नीतिको जगसमेत बसाइदिएका थिए उनले । नेपाल चार वर्ण छत्तीस जातको पूmलबारी हो भन्ने उनको मान्यता के साम्राज्यवादी, एकाधिकारवादी हो ? सम्पूर्ण नेपालीले आपसमा सौहार्दपूर्ण सम्बन्ध कायम राखेर राष्ट्रनिर्माणमा लाग्नुपर्ने यो सन्देश नेपाली जातिको आदिकालदेखि एकता र सहिष्णुताको निरन्तरता र वर्तमानका लागि पनि उत्तिकै आवश्यकता होइन र ?
तर, तत्कालीन समयदेखि नै नेपालका आफ्नो धर्म–व्यापार विस्तार गर्न, साम्राज्य कायम गर्न असफल भएकाले उनको बदनाम र अनादर हुनेगरी इतिहास लेखेको कुरा बेलाबेला इतिहासकारले प्रकाश पारिरहेका छन् । तिनै विदेशीले लेखेको इतिहास पढेर नेपाल राष्ट्रको निर्माणमा आफ्नो सम्पूर्ण पौरख खर्चेका र नेपाली जातिको गौरव बढाउन ठूलो योगदान दिएका पृथ्वीनारायण शाहको उपेक्षा गर्ने कामको थालनी नेपालमा गणतन्त्र स्थापनाको आरम्भमा नै भयो । उनका शालिक भत्काउन थालिए । गणतन्त्र आउनु अघि हरेक वर्ष पुस २७ गते पृथ्वी जयन्ती मनाएर सरकारी स्तरमा नै राष्ट्रनिर्माणमा पृथ्वीका योगदानको कदर गरिन्थ्यो तर बलियो नेपाललाई हरेक अर्थमा कमजोर बनाउन चाहनेको खुसीका लागि २०६३ सालदेखि सरकारले पृथ्वी जयन्ती मनाउने क्रममा रोक लगायो । तर्क गर्न थालियो, ‘जनताको अधिकार खोस्ने राजा रजौटाको जन्मदिनलाई राष्ट्रिय एकता दिवसका रूपमा मान्न सकिन्न । ’ हो, पृथ्वीनारायणको पछिल्ला पुस्ताले उनका अर्तीको विपरीत जनाधिकार खोसे, प्रजातन्त्र–मानवाधिकार हरण गरे तर यसको दोष दूरदर्शी राजा पृथ्वीनारायणले बोक्नुपर्ने ? यस्तो दोषको सजायभागी ती राष्ट्रनिर्मातालाई समेत गराइनु प्रतिशोधको द्योतक थियो । पुर्खाको योगदान र मुलुककै इतिहासप्रतिको कृतघ्नता थियो । हाम्रो लोकतान्त्रिक परिवर्तनको वाहक नेतृत्वले नजिकका छिमेकमा समेत पुर्खाका योगदान र इतिहासलाई कसरी संरक्षण गरिरहेका छन् र त्यसबाट नयाँ पुस्तालाई शिक्षित पारिरहेका छन् भन्ने पनि वास्ता गरेनन् ।
सरकारी स्तरमा एघार वर्षसम्म पृथ्वीनारायण शाह उपेक्षित रहे पनि जनस्तरमा चाहिँ उनको सम्मान कायम नै थियो । सायद यही बुझेर यसपटकदेखि पुस २७ गते सरकारी स्तरबाट राष्ट्रिय एकता दिवस मनाउने र बिदा दिने परम्परा पुनः प्रारम्भ गरियो । ढिलै भए पनि सरकारले गरेको यो निर्णयलाई स्वागतयोग्य मान्नुपर्छ ।
तर, फेरि पनि नेपाली–नेपालीबीच जातीय, धार्मिक वा अन्य द्वेष फैलाएर आफ्नो स्वार्थ पूरा गर्न खोज्नेका सहयोगमा धन्दा चलाउनेले यो निर्णयको विरोध गरेको सुनिएकै छ । राष्ट्रिय एकताको विरोध गर्न लगानी गर्ने बाह्य शक्तिका संस्था (आईएनजीओ) हरू पनि सक्रिय नै छन् । नेपालको राष्ट्रिय एकता बलियो पार्न एकजुट बन भन्ने शिक्षा दिने होइन, नेपाली–नेपालीबीच के–के समानता छन् भन्ने होइन, के–के विभिन्नता छ भन्ने खोजी गर्न र विभिन्नतालाई विवादमा परिणत गर्न पैसा बगाइरहेछन् । जातीय विभाजनका लागि अनेक ‘अधिकारमुखी’ अभियान चलाएर सोझा जनतालाई भ्रमित पार्ने प्रयास भइरहेकै छ । अब जनता वा सरकार यस्ता भ्रामक अभियानका पछाडि बहकिनु उचित हुनेछैन । यो भूमिका पुर्खाका सन्देश आत्मसात् र मौलिक ज्ञान–विवेकको प्रयोग गर्न नसक्दा, आफैँ खुट्टा तानातान गर्दा आत्मनिर्भरता, विकास र समृद्धि अझै हाम्रा लागि सपना बनिरहेको छ । सपना व्यवहारमा रूपान्तरण गर्न फेरि पनि दूरदर्शी, राष्ट्रिय एकता प्रवद्र्धक नायकको अभाव महसुस जनताले गरिरहनुपरेको छ ।
यसैगरी, पञ्चायतकाल वि.सं. २०३७ मा धनकुटाको छिन्ताङ्गमा कम्युनिस्ट आरोपमा राज्यद्वारा मारिएका १७ जनालाई बल्ल सरकारले शहीद घोषणा ग¥यो । रोचक, स्वागतयोग्य पाटो त यो हो– त्यो हत्याकाण्डका बेला प्रधानमन्त्री सूर्यबहादुर थापा हुनुहुन्थ्यो र उहाँकै निर्देशनमा हत्या भएको आरोप लाग्दै आएको छ तर यतिखेर सूर्यबहादुर थापाकै पुत्र, उद्योगमन्त्री सुनीलबहादुर थापाको प्रस्तावमा मन्त्रिपरिषद्ले यो निर्णय ग¥यो । यसबाट थापा परिवार चोखिएला, नचोखिएला तर राजनीतिमा पूर्वाग्रह, प्रतिशोध राखिरहन हुँदैन भन्ने सन्देश मिल्ने छ । प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रका लागि हालसम्म जनताले बगाएको रगतको सम्मान र कदर राज्यले ढिलै भए पनि गर्दोरहेछ भन्ने विश्वास जागेको छ ।

 प्रकाशित मिति २०७४/१०/२

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना