राष्ट्रियसभा निर्वाचन: दुई रङमा चार प्रकारका मतपत्र

Election-Commission-Nepalकाठमाडौँ, माघ ३ गते । राष्ट्रियसभा सदस्य निर्वाचनमा दुई रङका चार प्रकारका मतपत्रबाट मतदान हुने भएको छ । प्रदेशसभा सदस्यले एउटा रङको मतपत्रबाट मतदान गर्नेछन् भने स्थानीय तहबाट प्रतिनिधित्व गर्ने उपप्रमुख एवं प्रमुखले अर्को रङको मतपत्रबाट मतदान गर्ने निर्वाचन आयोगले जानकारी दिएको छ । प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख उपप्रमुखको मतभार १८ छ । 

निर्वाचन आयोगले विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिसँग राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी, मतपत्रको ढाँचा, मतदान र मतगणना लगायतका विषयमा छलफल एवं परामर्श गर्ने क्रममा त्यस्तो जानकारी दिएको हो ।
मतपत्रको ढाँचामा प्रत्येक प्रदेशका लागि छुट्टाछुट्टै मतपत्र तयार गरिनेछ भने सातवटै प्रदेशमा मतगणना हुनेछ । दलसँगको छलफलमा राष्ट्रियसभा सदस्य निर्वाचन सञ्चालन, व्यवस्थापन, मतदान र मतगणनाको प्रक्रिया, मत्रपत्रको ढाँचा, आयोगले हालसम्म गरेको तयारी र दलबाट आयोगले गरेको अपेक्षा लगायतका विषयमा परामर्श भएको थियो ।
आयोगका अनुसार छलफलमा दलहरूले आयोगको तयारीप्रति सन्तोष प्रकट गर्नुहुँदै मतपत्र मतदातामैत्री एवं व्यावहारिक हुनुपर्ने सुझाव दिनुभएको छ । छलफलपछि एमाले नेता सुवास नेम्बाङले छलफलमा आयोगले आफ्नो तयारीबारे जानकारी गराएको र तयारी राम्रो रहेको बताउनुभयो ।
नेपाली काँग्रेसका नेता रमेश लेखकले मतपत्र र मतगणनाका विषयमा छलफल भएको बताउनुभयो । उहाँले प्रदेश प्रमुखको नियुक्ति सरकारले चाँडै गर्ने बताउनुभयो । नेकपा माओवादी (केन्द्र)का नेता रामनारायण बिडारीले नियमावली, निर्देशिका, मतदान र मतगणना प्रक्रियाका बारेमा छलफल भएको जानकारी दिनुभयो ।
छलफलको सुरुमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले राजनीतिक दलका अध्यक्ष एवं सहभागी नेताको स्वागत गर्नुहुँदै स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचन स्वच्छ, स्वतन्त्र र विश्वसनीय ढङ्गले सम्पन्न गर्न दलले पु¥याएको योगदानको प्रशंसा गर्नुभयो ।
उहाँले संविधान र कानुनको अक्षरशः पालना गर्दै अगाडि बढ्न आयोग दृढ सङ्कल्पित रहेको विचार राख्नुहुँदै कानुनी व्यवस्थाअनुसार प्रदेश प्रमुखको नियुक्ति छिटोभन्दा छिटो होस् भनी औपचारिक र अनौपचारिक रूपमा सरकारको ध्यानाकर्षणसमेत गराइसकेको जानकारी दलका नेताहरूलाई गराउनुभयो ।
उहाँले माघ ७ गते मतदाताको नामावली प्रकाशन गर्ने गरी कार्यक्रम प्रकाशित भइसकेको र प्रदेशसभा सदस्यमा निर्वाचित उम्मेदवाको घोषणा गरी विवरण प्रदेश प्रमुखलाई बुझाउन आयोग आतुर रहेको जानकारी दिनुभयो । उहाँले नेपाल सरकारबाट तत्काल प्रदेश प्रमुख नियुक्त हुने विश्वास व्यक्त गर्नुहुँदै निर्धारित कार्यतालिकाबमोजिम नै राष्ट्रियसभा सदस्यको निर्वाचन सम्पन्न गराउन आयोग दृढ सङ्कल्पित रहेको बताउनुभयो ।
डा. यादवले प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको मत परिणामलाई सार्वजनिक गर्न आयोगलाई संवैधानिक र कानुनी अड्चन रहेको हुँदा प्रतिनिधिसभाको समानुपातिकतर्फ दलले प्राप्त गरेको सिट तोक्न र दललाई बन्द सूचीमा रहेका उम्मेदवारमध्ये विजयी हुने उम्मेदवारको नाम घोषणा गर्न र दललाई पत्राचार गर्न आयोग असमर्थ रहेको जानकारी दिनुभयो ।
शुक्रबारबाट आचारसंहिता लागू हुने
प्रमुख आयुक्त यादवले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि माघ १२ गतेबाट निर्वाचन आचारसंहिता लागू हुने जानकारीसमेत दिनुभयो । उहाँले संवैधानिक निकायको कानुनी दायित्वलाई मनन गरी दलका नेताहरूबाट आफ्ना भनाइ र विचार सार्वजनिक गर्नसमेत सुझाव दिनुभयो ।
आयोगका सहसचिव एवं प्रवक्ता नवराज ढकालले राष्ट्रियसभा सदस्य निर्वाचनको प्रक्रिया र तयारीबारे प्रस्तुति गर्नुभएको थियो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds