सीमा मिचिएको स्थानीयवासीको गुनासो

दीपकप्रसाद गौतम

वीरगन्ज, माघ ३ गते । नेपाल–भारत सिमानामा सीमास्तम्भ निर्माण र मर्मतका क्रममा नेपाली सीमा मिचिएको गुनासो स्थानीयवासीले गरेका छन् । नेपाल र भारतले संयुक्त रूपमा गरिरहेको ‘हराएका र क्षतिग्रस्त पिलर’को निर्माण र मर्मतका क्रममा वीरगन्ज महानगरपालिका–१, छप्कैया क्षेत्रमा मात्रै स्थानीयवासीको ३० बिघाभन्दा बढी जमिन मिचिएको गुनासो उनीहरूले गरेका छन् ।
सीमास्तम्भ राख्ने क्रममा स्थानीयवासीसँग कुनै रायसुझावसमेत नलिएर जीपीएस प्रणालीद्वारा लिइएको नक्साका आधारमा मात्रै सीमास्तम्भ राख्न लागिएकाले आपूmहरूको जग्गा भारततर्फ परेको स्थानीयवासी बताउँछन् । संयुक्त सर्वेक्षण टोलीले सन् १८४० को नक्सालाई आधार मानेर नक्साङ्कन गर्ने सहमतिअनुसार हराएका सीमास्तम्भहरू राख्ने, जीर्ण सीमास्तम्भहरूको मर्मतसम्भार गर्न दुवै देशले संयुक्त सर्वेक्षण टोली नै बनाएर अहिले सीमाको व्यवस्थापन गरिरहेको छ ।
वीरगन्ज महानगरपालिका–१, छप्कैया क्षेत्रमा ३९२ नम्बर मुख्य सीमास्तम्भको सहायक सीमास्तम्भ निर्माणका क्रममा नेपाली नम्बरी, ऐलानी र पर्ती जग्गा भारततर्फ परेको स्थानीयवासीको दाबी छ । स्थानीय रवीन्द्र महतो कोइरीले आफ्नो कित्ता नम्बर १४ को नम्बरी जग्गामा सीमास्तम्भ गाड्न खाल्डो खनेपछि त्यसको विरोध गरेको तर नेपाली सर्भे टिमका नेपाली प्रतिनिधिले पुस २२ गते सीमास्तम्भ गाडेको बताउनुभयो । वर्षौंदेखि भोगचलन गर्दै आएको जग्गामा सीमास्तम्भ गाडिएपछि आफ्नो जग्गा दसगजा र भारततर्फ परेको गुनासो उनले गरे ।
अर्का स्थानीयवासी नेमी साह कानू र असर्फी साह कानूको नाममा रहेको जग्गाको केही भाग पनि भारततर्फ पर्ने भएको छ । जग्गामा सीमास्तम्भ गाड्न खाल्डो खनेको जानकारी पाएपछि विरोध जनाएको नेमीका छोरा बद्री कानूले बताउनुभयो । “हामीलाई थाहै नदिईकन, हाम्रो नम्बरी जग्गामा आएर सीमास्तम्भ गाड्न खाल्डो खनेका रहेछन्”, पुरानो पिलर सिर्सिया नदीपारि छ तर नयाँ पिलर नदीवारि ल्याइएको छ । हामीले जग्गाको कर तिरिरहेका छौँ, एक्कासि कसरी भारतको हुन्छ ?”, उहाँले प्रश्न गर्नुभयो ।
नयाँ सीमास्तम्भ गाड्न लागेको क्षेत्रमा हजुरबुवाबाट बाबुको नाममा नामसारी भएको कित्ता नं. ६५, ५४ र ५२ को नम्बरी जग्गा रहेको बद्री बताउनुहुन्छ ।
सीमास्तम्भ निर्माण रोक्न जिल्ला प्रशासन कार्यालयबाट पत्र लिएर जाँदा नेपाल–भारत सीमा नापी टोलीको कार्यालयले पत्रसमेत बुझ्न नमानेको आरोप स्थानीयवासीको छ । पुस ३० गते वडा कार्यालयले दिएको पत्र र आफूले दिएको निवेदन प्रशासनमा दर्ता गराएको र सोही दिन प्रशासनले नापी टोलीको कार्यालयलाई पत्र पठाए पनि उक्त कार्यालयले बुझ्न नमानेको जग्गाधनी कोइरीले बताउनुभयो ।
वडा कार्यालयले मूल पिलर नं. ३९१ सुन्दरपुर र ३९२ भकुवा व्रह्मस्थानदेखि रामजानकी मन्दिरसम्मको नयाँ सीमास्तम्भ नेपालको भूभागमा पर्ने देखिएकाले तत्काल काम रोकी नेपालको भूभाग छुट्ट्याएर सीमास्तम्भ गाड्न अनुरोध गरेको छ ।
नेपाल–भारत सीमा सर्वेक्षण टोलीका टिम लिडर एवं प्रमुख नापी अधिकृत रमेश ज्ञवालीले स्थानीयवासीले कुरा नबुझेका कारण समस्या भएको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “हामीसँग प्रविधि छ, त्यही प्रविधि प्रयोग गरेर नाप्छौँ । त्यसमा एक इन्च पनि जमिन तलमाथि हुँदैन । ” नेपाल र भारतबीच १८४० मा भएको सुगौली सन्धिकै आधारमा अहिले सीमास्तम्भ गाड्ने काम भइरहेको छ ।
दुवै देशबीचको सहमतिअनुसार नक्साङ्कनको काम भएकाले यसमा भारततर्फ पनि नम्बरी जग्गाहरू परेको र दुवै देशले समाधान गर्ने सर्वेक्षण टोलीमा सहभागी कर्मचारीले बताएका छन् । अहिले भोगचलन गरिरहेको भए पनि १८४० को नक्साअनुसार हुने भएको हुँदा त्यसमा बाझिएको हकमा नापी टोलीबाट विवरण प्राप्त भइसकेपछि नेपाल सरकारको नियमानुसार निर्णय हुने पर्साका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंह बताउनुहुन्छ ।

 

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds