प्रदेशसभा सदस्य समानुपातिकतर्फ २२० विजयी

Election-Commission-Nepalकाठमाडौँ, माघ ४ गते । निर्वाचन आयोगले प्रदेशसभामा समानुपातिकतर्फबाट निर्वाचित २२० जना सदस्यहरूको नाम टुङ्गो लगाउनुका साथै विजयी उम्मेदवारहरूलाई यही माघ ५ गते शुक्रबार दिनको १ बजे प्रमाणपत्र प्रदान गर्ने भएको छ । 

आयोगले प्रदेशसभाको मत परिणामअनुसार राजनीतिक दलहरूले बन्द सूचीमा बुझाएको समावेशी सिद्धान्तअनुसार निर्वाचित भएको घोषणा गर्न नाम सिफारिस गरेका उम्मेदवारहरूलाई बुधबार निर्वाचित घोषणा गरेको थियो । गत मङ्सिर १० र २१ गते दुई चरणमा भएको प्रदेशसभाको निर्वाचित परिणाम सार्वजनिक भएको छ ।
प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा बसेको आयोग बैठकले सातै प्रदेशबाट समानुपातिक निर्वाचन प्रणाली तर्फबाट निर्वाचित हुने उम्मेदवारहरूको नामावलीलाई टुङ्गो लगाएको जानकारी आयोगले दिएको छ । आयोगको बैठकपछि गोरखापत्रसँग कुरा गर्नुहुँदै आयोगका सचिव एवम् समानुपातिक निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन अधिकृत बेगेन्द्रराज शर्मा पौड्यालले समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित उम्मेदवारहरूको नामावली सम्बन्धित प्रदेश प्रमुखसमक्ष पठाउने निर्णय आयोगले गरेको बताउनुभयो ।
साथै सचिव पौड्यालले निर्वाचित उम्मेदवारहरूलाई माघ ५ गते प्रमाणपत्र प्रदान गर्ने र सम्बन्धित राजनीतिक दललाई जानकारी गराउने तथा निर्वाचित उम्मेदवारहरूको नामावली नेपाल राजपत्रमा अतिरिक्ताङ्कमा प्रकाशन गर्ने निर्णय गरेको जानकारी दिनुभयो । नेपालको संविधानको धारा १७६ अनुसार प्रदेशसभा सदस्य निर्वाचनमा सातै प्रदेशमा गरी समानुपातिक निर्वाचन प्रणालीबाट जम्मा २२० जना उम्मेदवार निर्वाचित हुने व्यवस्था छ ।
आयोग बैठकले दलहरूले प्राप्त गरेको मतलाई सेन्टलग विधिबाट सिटमा रूपान्तरण गरी सिट यकिन गरेपश्चात् राजनीतिक दलहरूले छनोट गरी आयोगसमक्ष पठाएका उम्मेदवारहरूलाई प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० को उपदफा (७) बमोजिम निर्वाचित घोषणा गरेको हो । सोही ऐनको दफा ६० को उपदफा (८) बमोजिम निर्वाचित उम्मेदवारहरूको नामावली सम्बन्धित प्रदेश प्रमुखसमक्ष पठाउन, निर्वाचित उम्मेदवारहरूलाई प्रमाणपत्र प्रदान गर्न, सम्बन्धित राजनीतिक दललाई जानकारी गराउन तथा निर्वाचित उम्मेदवारहरूको नामावली नेपाल राजपत्रमा अतिरिक्ताङ्क गरी प्रकाशन गर्ने निर्णय आयोगले गरेको छ ।
आयोगका प्रवक्ता नवराज ढकालले प्रदेशसभाका समानुपातिकतर्फ निर्वाचित उम्मेदवारहरूलाई आ–आफ्नो राजनीतिक दलहरूसँग समन्वय गरी यही माघ ५ गते शुक्रबार दिनको १ बजे आयोगमै प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम रहेको बताउनुभयो । उहाँले राजनीतिक दलहरूलाई आ–आफ्नो पार्टीबाट विजयी उम्मेदवारलाई नागरिकताको प्रमाणपत्र वा आफ्नो परिचय खुल्ने अन्य प्रमाणपत्र लिएर आयोगमा शुक्रबार उपस्थित हुने वातावरण मिलाइ दिनु हुन पनि अनुरोध गर्नुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना