संक्रमण सकियो, अब विकास

Gopinath-mainali-npcगोपीनाथ मैनाली

मुलुकले भोगिरहेको लामो संक्रमणको अब अन्त भएको छ । जनताका आफ्नै प्रतिनिधिमार्फत निर्मित संविधान निर्माण भई संवैधानिक संरचना क्रियाशील भएपछि अब संक्रमण बाँकी छैन । संविधानले समृद्ध नेपालको कल्पना गरेको छ । पहिलो जनआन्दोलनपछि साढे तीनवर्ष मुलुकमा राजनीतिक स्थायित्व थियो, राजनीतिक संक्रमण थिएन । निर्वाचित सरकार थियो, जसले प्रथम चरणका आर्थिक सुधारका कार्यक्रमहरू ल्याएको थियो, बलियो प्रतिपक्षले पहरेदारी गरिरहेको थियो । आठौँ योजना कार्यान्वयनमा ल्याइयो र आर्थिक र प्रशासनिक पुनर्संचनाको काम भयो । सरकारको नेतृत्वमा निजी तथा सामुदायिक क्षेत्रले आआफ्नो क्षमता अनुरूपको भूमिका उपयोग गर्न पाएकोले उक्त समयमा आर्थिक वृद्धि र योजनाका लक्ष्यहरू प्राप्त भए । अहिलेसम्म मुलुकले पाएको सीमित उपलब्धि (शिक्षा, स्वास्थ्य, सूचना प्रविधि, हवाइ यातायात र वित्तीय सेवा) त्यही समयको नीति आधारको परिणाम मात्र हो । तर यो परिस्थिति लामो समय रहन सकेन र मुलुक एकपछि अर्को समस्या, जटिलता र संक्रमणमा फस्न पुग्यो । अपार सम्भावना हुँदाहुँदै पनि मुलुकले प्रत्येक वर्ष गुमेको अवसरको खात मात्र लगाउन पुग्यो । आर्थिक विकासलाई गैरआर्थिक पक्षले नराम्ररी गाँज्यो, नेतृत्व दिन सकेन । मुलुकको भविष्यनिर्माताका युवा आफ्नो मातृभूमिमा सुरक्षित भविष्य नदेखेर आफ्नै परिवेशबाट पलायन भए । राज्यप्रणाली निरीह बन्दै गयो । समाजमा सकारात्मक सोच र आशाको संस्कृति विशृङ्खलित भए । जोजो जुनजुन स्थानमा इमान्दारी र क्षमतामा आक्रामक हुनुपर्ने थियो, ठीक उल्टो भयो । परिणति अहिलेको अवस्था हो ।
अहिले पनि मुलुकमा केही चुनौती छन्, जसलाई सावधानीपूर्वक सम्बोधन नगरे समृद्धिको यात्रा सार्वजनिक उपयोगको भाषण, गफ र सपनाको खेती बन्नेछ । पहिलो चुनौती, राज्यका संरचनाहरू आक्रामक रूपमा क्रियाशील छन् भन्ने सन्देश छिटै सर्वसाधारणमा दिन सक्नुपर्छ । यसले अब विकास, रोजगारी, सुशासन हँुदैछ भन्ने सञ्चार सर्वसाधारणमा पुग्छ र उनीहरूमा आशा पलाउँछ तर छिटै नतिजातर्फ अगि नबढेमा नैराश्य जाग्छ र राज्यप्रणालीप्रतिको विश्वास स्थापित हँुदैन । राज्यसंरचना आक्रामक रूपमा क्रियाशील भएको अनुभूति नभएमा जनताले विश्वास गर्दैनन् । ‘ए सधैँ यस्तै हो’ भन्ने कुण्ठा र निराशा बढ्नेछ । दोस्रो चुनौती भनेको शुरुका दिनदेखि नै प्रदेश, स्थानीय र सङ्घीय तहबीचको सहकार्य विस्तार हो । स्थानीय सरकार गठन भएको केही समय भैसक्यो, उसले आफूलाई सरकारको स्तरमा उभ्याइ सकेको छैन । स्रोत, क्षमता, प्रणाली निर्माण भैसकेका छैन् । अब प्रदेश सरकारले पनि त्यही स्थितिको बोध गर्नुपर्ने स्थिति रहेमा सङ्घप्रति स्थानीय र प्रदेश सरकारको विश्वास देखिने छैन । संविधानतः लोकतन्त्रको वास्तविक वितरण गर्ने क्रियात्मक संरचना नै स्थानीय र प्रदेश सरकार हुन् । सङ्घ नीति, मूल्य, समन्वय र केही विशिष्ट काममा रहने हो । यी तहबीचको हार्दिकता र सहकार्य सरकार गठन हुनेबित्तिकै शुरु हुनुपर्दछ ।
तेस्रो चुनौती कार्यको प्राथमिकीकरणमा छ । सर्वसाधारणहरूले संविधान कार्यान्वयन सबै समस्याको एकमुष्ट समाधानका रूपमा लिएका छन् । उनीहरूका दैनन्दिनी समस्या, विकास निर्माण, सुरक्षा, सेवा, सिफारिस जस्ता कुराहरू अब तत्काल सम्बोधन हुन्छ भन्ने पक्षमा छन् । हालै सम्पन्न निर्वाचनमा पनि मतदाताको यही अपेक्षा मुखरित भएको थियो तर अर्थतन्त्रको स्रोत परिचालन क्षमता निकै साँघुरो छ, सरकारको विनियोजन तथा खर्च क्षमता झनै सीमित छ । अब सरकारको चालू खर्च धान्न नै निकै समस्या छ भने विकास निर्माणका कार्य कसरी गर्ने ? वित्तीय दिगोपना सुनिश्चित कसरी गर्ने ? क्रमागत आयोजनाहरूलाई पूरा गरी जनअपेक्षा अनुसारका स्थानीय, प्रादेशिक र राष्ट्रिय स्तरका आयोजना सञ्चालनको स्रोत जोहो कसरी गर्ने ? कतिपय आयोजनाहरू सातदशक पुराना छन्, जस्तो कि हुलाकी राजमार्ग । सरकारका प्रतिबद्धता पूराना हँुदैनन् । तर जनताका अपेक्षा नयाँ नयाँ थपिँदै जान्छन् ।
गरिबी, असमानता र वञ्चितीकरण हटाउन उच्च, फराकिलो र समावेशी आर्थिक वृद्धि आवश्यक हुन्छ । यसका लागि सरकार एक्लो प्रदाता होइन । निजी तथा सामुदायिक क्षेत्रको विश्वास जितेर सरकार लक्षित कार्यक्रम र नीति प्रभावकारितामा रहनु पर्दछ । निजी तथा सामुदायिक क्षेत्रको विश्वास जित्न लगानीको वातावरण आवश्यक छ, स्वागत संस्कृति र सुशासनको आवश्यक छ । निजी तथा घरपरिवार तहबाट अनुत्पादक क्षेत्रमा गैरहेको लगानी उत्पादन क्षेत्रमा ल्याउनु आवश्यक छ । सरकारको सीमित साधनलाई तत्काल फाइदाको क्षेत्रमा लगानी गर्नु आवश्यक छ । पूर्वाधारमा विकासमा विस्तार र गुणस्तर दुवै आवश्यक छ । विद्युत् आपूर्ति नियमित गरी अर्थतन्त्रको लागत संरचना घटाउनु आवश्यक छ । यो चुनौतीभन्दा पनि माथि विकास संस्कृति निर्माण र संस्थागत स्वप्रेरणाको स्थिति सिर्जना कसरी गर्ने भन्ने चुनौती छ ।
तर विकास र समद्धिका लागि धेरै अवसरहरू पनि प्राप्त छन् । जसलाई उपयोग गरेर नै आर्थिक समृद्धि र सामाजिक रूपान्तरणको प्राप्त गर्न सकिन्छ । जुन आमसर्वसाधारणको चाहना हो, पर्खाइ हो भने संविधानको मुख्य गन्तव्य पनि यही हो । यसका लागि जनताको दुःखमा साँच्चै मन दुखाउने, सोचयुक्त र प्रतिबद्ध राजनीतिक नेतृत्व चाहिन्छ, जसलाई ठाउँका ठाउँ आक्रामक रूपमा साथ दिने कर्मचारी, क्रियाशील निजी क्षेत्र र सधैँ सहयोगी जनता चाहिन्छ । लामो समयदेखिको संक्रमणले यो कुरा स्थापित छैन । अहिले यी चार पक्ष चार मनोविज्ञान र प्रवृत्तिमा छन् । यी पूर्व शर्त पूरा गर्न सकिएमा नेपाली अर्थतन्त्रले एकाध दशकमा फड्को मार्ने सम्भावना छ । यसका लागि अवसर पनि छन् । राजनीतिक संक्रमण अन्त भएको छ, नयाँ संरचना अनुरूप शासकीय तहहरू क्रियाशील हुनै थालेका छन् । विकासका लागि चाहिने स्थायी सरकार र रचनात्मक प्रतिपक्षको उपस्थिति छ । जनता जागरुक र डिमान्डिङ देखिएका छन्, रोजगारीका लागि आतुर छन् । अर्थतन्त्रले जनसाङ्ख्यिक लाभ लिने अवस्था छ । जनसंख्यामा ५९ प्रतिशत हिस्सा आर्थिक रूपमा क्रियाशील समूहमा पर्दछ । यस्तो जनसंख्या विश्वका अति थोरै मुलुकमा मात्र उपलब्ध छ । अपार प्राकृतिक स्रोत छ । खानीको आँकलन गरिएकै छैन, पानीको पौल छ, भूमि पनि पर्याप्त छ र बनजंगल व्यावसायिक र वातावरणीय लाभ लिन सकिने स्तरमा छ । अन्य मुलुकमा चारै प्रकारका प्राकृतिक स्रोत यसरी ‘अनट्याप’ अवस्थामा देखिँदैन । उदीयमान दुई बाघ अर्थतन्त्रको बीचमा रहेकाले उनीहरूले छाडेको ‘स्पेश’ उपयोग गर्ने सम्भावना पनि छ (मलेसिया र इण्डोनेसियाबीचको सिंगापुरजस्तै) । नेपालको रणनीतिक अवस्थिति पनि विश्वको झण्डै ३८ प्रतिशत जनहिस्साको बीचमा छ । सस्तो श्रम र अवस्थितिको अवसर उपलब्ध छ, यो ‘लेवर एण्ड लोकेशन’ को लाभ कमै मुलुकले पाएका छन् । कर्पोरेट गुरिल्लाहरू विश्वभरि सुरक्षित लगानीको स्थान खोजिरहेका छन् । नेपाली डायस्पोराले नेपालको विकासका लागि जनस्तरको कूटनीति गरिरहेका छन्, यसलाई अझै घनीभूत गर्न सकिने सम्भावना छ । विकास साझेदारहरू विकास साझेदारीका लागि निरन्तर छन् तर यिनीहरूलाई राष्ट्रिय प्राथमिकता र राष्ट्रिय प्रणालीमा ल्याउनुपर्ने छ । नेपालको सांस्कृतिक, भौगोलिक, मौसमी, वायोजैविक विविधता आफैमा ठूलो अवसर हो । यसले स्थान वैशेषिक उत्पादन र मौलिक अर्थविशेषताको सम्भावना बोकिरहेको छ । ‘ल्याण्डलक्ड’ बाट ‘ल्याण्ड लिंक’ मा जाने पूर्वाधारहरू तयार हँुदैछन् । पहिलो चरणका नीति उपलब्धिले दोस्रो चरणका आर्थिक सुधारका कार्यक्रम लागू गर्ने वातावरण तयार गरेको छ । जस्तो कि सूचना प्रविधिले नेपाली समाज एकआपसमा र विश्वसमुदायसँग सम्बन्ध स्थापित भैसक्यो यसबाट परिवेशका थुप्रै अवसर लिन सकिने स्थिति छ । यिनै सम्भावनाको जगमा उभिएर समृद्ध नेपालको यात्रा तय गर्नुपर्छ । सबै समय गुमेको अवसरका रूपमा मात्र रहे, अब पश्चात्ताप होइन कर्मको आवश्यक छ । एक्काइसौँ शताब्दीमा कोही गरिब, नाङ्गो, भोको, अशिक्षित र अस्वस्थ रहनु हुन्छ र ? यसको उदाहरण त नेताबाट हुनुपर्छ । नैतिक रूपमा ह्रासोन्मुख, राजनैतिक रूपले अस्थिर, आर्थिक रूपले विपन्न र वातावरणीय रूपमा असन्तुलित बन्दै गएको समाजलाई नेतृत्व दिने भनेको राजनीतिले नै हो । केही वर्षअघि नेपाल घुम्न आएका एकजना पन्ध्रवर्षे कोरियाली छात्र वान व्ही मीनले उनको मुलुकको विकासका लागि राष्ट्रपति पार्कले साठीको दशकमा गरेको प्रतिबद्धताको सम्झनामा भनेकोे भनाइले हामी सबैको मन घोचेको हुनुपर्छ–‘नेप्लीज, ह्याभ यू इभर क्राइड फर योर कन्ट्री ?’ (नेपालीहरू आफ्नो देशका लागि कहिल्यै रोएका छौ ?)

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना