उत्तर र दक्षिण कोरियाबीच शान्तिको आशा

Ram prashadरामप्रसाद आचार्य

 

अत्यन्त तनावबीच दुई कोरियाबीच हालै उच्च स्तरीय वार्ता भएपछि शान्तिको आशा पलाएको छ । उत्तर कोरिया र दक्षिण कोरियाबीच भएको वार्ताले दक्षिण कोरियामा हुने शीतकालीन ओलम्पिकमा एउटै झन्डामुनि सँगसँगै मार्च गर्न सहमत हुनुलाई शान्तितर्फको महŒवपूर्ण कदमका रूपमा हेरिएको छ । यसरी एउटै झन्डामुनि मार्च गर्न लागिएको पहिलोपटक हो । आउँदो फेबु्रअरी ९ देखि २७ गतेसम्म दक्षिण कोरियामा शीतकालीन ओलम्पिक हुँदैछ । वार्ता नै हुन सक्दैन कि भन्ने अवस्थामा दुई वर्षको अन्तरालमा सीमा क्षेत्रको पाममुनजोममा यही जनवरी ९ मा भएको यो वार्ताले नयाँ वार्ताका लागि ढोका खुला गरेको छ तर पनि उत्तर कोरियाको आक्रामक आणविक कार्यक्रमले धेरै आशावादी हुने अवस्था अझै बनेको छैन ।
पटक–पटक आणविक क्षेप्यात्र परीक्षण गरेको उत्तर कोरियालेले वार्तासँगसँगै शक्ति सञ्चय गर्ने र नयाँ क्षेप्यास्त्र परीक्षण गर्ने सम्भावना चनाखो हुनुपर्नेमा दक्षिण कोरियाले जोड दिएको छ । दक्षिण कोरियाका विदेशमन्त्री गाङ ग्याङ ह्वाले उत्तर कोरियासँगको वार्ता सकारात्मक भए पनि थप विश्वासको वातावरण बनाउन उत्तर कोरियाली अधिकारी इमानदार हुनुपर्नेमा जोड दिनुभएको छ । उता अमेरिकी विदेशमन्त्री रेक्स टिलरसन वार्ताका नाममा उत्तर कोरियाले नयाँ क्षेप्यास्त्र परीक्षणको तयारी गर्न सक्ने भएकाले यो विषयमा थप स्पष्ट हुनुपर्नेमा जोड दिनुभएको छ । उहाँले उत्तर कोरियाले आणविक कार्यक्रम बन्द गरेमा मात्र आगामी निरन्तर वार्ताका लागि उपयुक्त वातावरण बन्ने विश्वास व्यक्त गर्नुभएको छ ।
दुई कोरियाबीच वार्ता हुन सक्दैन युद्ध हुन्छ कि भन्ने अवस्थामा भएको यो वार्ताले दुवै देशका नागरिकमा नयाँ आशा पलाएको छ । वार्ताकै क्रममा भएको सहमतिअनुसार केही समयपछि पारिवारिक पुनःमिलनको कार्यक्रम गरिने भएको छ । यो एउटा ऐतिहासिक अवसर हुनेछ । कोरियाली युद्धपछि एउटै परिवारका सदस्य पनि कोही उत्तरमा त कोही दक्षिणमा बसोबास गरिरहेका छन् । उनीहरूबीच बेलाबखतमा आयोजना गरिने पारिवारिक पुनःमिलनले आपसमा भेटघाट गर्ने अवसर प्राप्त हुने गर्छ ।
एउटै भाषा, धर्म र संस्कृति भएका कोरियाली प्रायद्वीपका जनता आपसमा मिल्न चाहेर पनि राजनीतिक कारणले मिल्न सकेका छैन । दुई कोरियाबीच एकता होस् भन्ने उनीहरूको भित्री चाहना रहेको छ तर विभाजित दुई कोरियाबीचको एकता नजिकको विषय बन्न सकेको छैन । यसमा आन्तरिकभन्दा पनि बाह्य कारणले बढी भूमिका खेलको छ । विभाजित दुई कोरिया एक हुनुपर्छ भनी बारम्बार आवाज उठे पनि एकता सम्भव भएको छैन । दुई देशका शासकबीच इच्छा शक्ति नभएसम्म एकता हुन सक्दैन । त्यसका लागि जनस्तरबाट व्यापक दबाब सिर्जना गर्न जरुरी छ ।
दोस्रो विश्वयुद्धमा जापानी उपनिवेशबाट मुक्त भएको कोरिया बाह्य कारणले गर्दा विभाजितमात्र भएन भीषण युद्धको चपेटामा प¥यो । उत्तर कोरियाली राष्ट्रपति किम इल सुङले आफ्नो शासनकालभरि कोरिया एकताका लागि विभिन्न प्रस्ताव अगाडि सार्नुभयो । एक कोरिया दुई व्यवस्थाका आधारमा एकीकरण गर्न विषयमा धेरै प्रयास पनि भयो तर बाह्य कारणले सम्भव भएन । यसपछि पनि विभिन्न चरणमा एकीकरणका प्रयास भए पनि यसले सार्थकता भने पाउन सकेन ।
आर्थिक हिसाबले दक्षिण कोरिया सशक्त राष्ट्र बनेको छ भने सामरिक हिसाबले उत्तर कोरिया सम्पन्न छ । दुई कोरिया मिलेर एउटै कोरिया बन्ने हो भने कोरिया शान्त र समृद्ध राष्ट्र बन्न सक्छ । यसो भयो भने कोरिया प्रायद्वीपलाई आणविक हतियारले मुक्त बनाउन सकिन्छ । विश्व शान्ति तथा क्षेत्रीय सुरक्षाका लागि पनि कोरियाली एकीकरण आवश्यक भएको छ ।
कोरिया विभाजनपछि सन् १९५० देखि ५३ सम्म दुई कोरियाबीच भीषण युद्ध भयो । यो युद्धपछि युद्धकै अवस्थामा दुवै कोरियाले अहिलेसम्म आआफ्नो क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेका छन् । दक्षिण कोरियामा अमेरिकाले ठूलो लगानी गरेको छ । दक्षिण कोरियाको सुरक्षाका लागि करिब ४० हजार अमेरिकी सैनिक तैनाथ गरिएको छ । उत्तर कोरियालाई छिमेकी चीन र रुसले सहयोग गरिरहेका छन् । उत्तर कोरयाविरुद्ध अमेरिका र संयुक्त राष्ट्रसङ्घले अन्तर्राष्ट्रिय नाकाबन्दी लगाएका छन् तर पनि नाकाबन्दीलाई बेवास्ता गर्दै उत्तर कोरियाले पटक–पटक आणविक क्षेप्यास्त्र परीक्षण गरेर आणविक शक्ति राष्ट्रका रूपमा आफूलाई उभ्याएको छ । पछिल्लो पटक छैटौँ आणविक परीक्षण गरेर विश्वमै तहल्का मच्चाएको उत्तर कोरियाले अन्तरमहादेशीय क्षेप्यास्त्र बनाएर आफ्ना मुलुक आणविक अस्त्रबाट सुरक्षित भएको दाबी गरेको छ ।
जतिसुकै ठूलो अन्तर्राष्ट्रिय नाकाबन्दी लगाए पनि त्यसलाई बेवास्ता गर्दै उत्तर कोरियाले जादुमय रूपमा गरेको आणविक अस्त्रको प्रगतिले विश्वमै हलचल पैदा भएको छ । अमेरिकाको जुनसुकै भागमा पनि अन्तरमहादेशीय क्षेप्यास्त्र प्रहार गर्ने हैसियत बनाएको उत्तर कोरियासँग सार्थक वार्ता गरी आणविक विवादको उचित निकास निकाल्नु बुद्धिमानी हुनेछ । उत्तर कोरियालाई आणविक हतियाररहित बनाउन सम्भव छैन । आणविक हतियारले सम्पन्न भइसकेको यो मुलुकसँग सार्थक र उपयोगी वार्ता गरी समस्याको दीर्घकालीन समाधान खोज्नु नै आजको आवश्यकता हो ।
उत्तर कोरियालाई आणविक राष्ट्र बन्न नदिन अमेरिका र संयुक्त राष्ट्रसङ्घले गरेको प्रयास सफल हुन सकेन । अन्तर्राष्ट्रिय नाकाबन्दीको सामना गर्दै आणविक शक्ति बनेको उत्तर कोरियालाई अब थप आणविक परीक्षण गर्न आवश्यक छैन । उसले अब राष्ट्रको सम्पूर्ण शक्ति आर्थिक तथा सामाजिक विकासमा लगाउनुपर्छ । छिमेकी दक्षिण कोरिया, जापान र अमेरिकासितको बिग्रेको सम्बन्ध सुधार गर्नुपर्छ । युद्ध समस्याको समाधान होइन भन्ने कुरालाई सबै पक्षले आत्मसात् गरी वार्ताद्वारा नै कोरियाली समस्याको दीर्घकालीन समाधान खोज्नुपर्छ । कोरियामा अब केही गरी युद्ध भयो भने यो कोरियामा मात्र सीमित हुनेछैन, यसको असर विश्वव्यापी रूपमा पर्ने छ । त्यसैले कोरियामा तनाव बढाउने उत्तेजना फैलाउने गतिविधि सबै पक्षबाट रोक्न जरुरी छ ।
उत्तर कोरियाली शरणार्थीका पुत्रका रूपमा जन्मनुभएका दक्षिण कोरियाका वर्तमान राष्ट्रपति मुन जाय इनले अब कुनै पनि हालतमा कोरिया प्रायद्वीपमा युद्ध हुन नदिने र वार्ताद्वारा नै कोरियाली समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँ वार्ताप्रति सकारात्मक र उत्तर कोरियासँगको एकताका लागि पनि इच्छुक भएका कारण पछिल्ला दिनमा वार्ताको नयाँ वातावरण बनेको हो । युद्ध भड्किने कुनै किसिमका गतिविधि नगर्ने नगराउने उहाँँको प्रतिबद्धताले शान्तिको सम्भावना अरू बढेको छ । यसअघिका दक्षिण कोरियाली शासकभन्दा पृथक् पृष्ठभूमिका राष्ट्रपति मुनको व्यवहार आचरणका कारण उत्तर कोरियासित सम्बन्ध सुधार हुने बढी आशा गरिएको छ । आशा गरौँ आगामी दिनमा उत्तर र दक्षिण कोरियाबीच सम्बन्ध सुधार गर्न राष्ट्रपति मुनले उल्लेख्य योगदान गर्नु हुनेछ । पछिल्ला दिनमा उत्तर कोरियाली नेता उन पनि दक्षिण कोरियासित सम्बन्ध सुधार गरी कोरियाली प्रायद्वीपमा स्थायी शान्ति स्थापना गर्ने पक्षमा भरपुर योगदान गर्ने पक्षमा उभिनुभएको छ । अब नेताद्वय मुन र उनले हृदयदेखि नै प्रयास गर्ने हो भने कोरिया प्रायद्वीपमा युद्धको सम्भावना सधैँका लागि टर्न सक्छ ।

 प्रकाशित मिति: २०७४/१०/११

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना