तरकारी भारत निर्यात

tarkari_2नेपालगञ्ज, माघ १२ गते । बाँकेका किसानले उत्पादन गरेको तरकारी भारततर्फ पनि निर्यात हुन थालेको छ । यससँगै यस क्षेत्रमा तरकारीमा परनिर्भरता समाप्त भएको छ । केही समय पहिलेसम्म भारतीय तरकारीमा मात्रै निर्भर रहेको बाँके जिल्ला हाल आएर तरकारीमा आत्मनिर्भर मात्र बनेको छैन, भारततर्फ समेत निकासी गर्न थालेको छ । 

बाँकेको हिरमिनियामा उत्पादन गरिएका अधिकांश तरकारी भारततर्फ पनि निर्यात भइरहेको किसानले बताएका छन् । हिरमिनियाबाट दैनिक ५ देखि ७ क्विन्टल तरकारी भारतको रुपैडिहा बजारस्थित सब्जीमन्डीमा निर्यात हुने गरेको सब्जीमन्डीले जनाएको छ ।
सीमावर्ती बजार रुपैडिहाबाट तरकारी नल्याउँदा तरकारी नै खान नपाइने सो क्षेत्रमा अहिले घर घरमा तरकारी उत्पादन थालिएको छ । घर घरमा बेमौसमी तरकारी उत्पादन हुन थालेपछि भारतीय गाउँमै तरकारी खरिद गर्न आउन थालेका छन् । आफ्नो उत्पादनले भारतमा बजार पाउन थालेपछि बाँकेका कृषक हर्षित छन् । भारतीय तरकारी बजारसँग हामीले पनि प्रतिस्पर्धा गर्न थालेका छौँ, तरकारी उत्पादन कृषक समूह हिरमिनियाका अध्यक्ष गुलाम खानले सुनाउनुभयो, यो निकै खुसीको खबर हो । स्थानीय उत्पादन लौकी, भिन्डी, करेला र सागसब्जी रुपैडिहा मन्डीमा थोकमा बिक्री भइरहेको उहाँले बताउनुभयो ।
तरकारीको उत्पादन गर्नेहरू बढ्दै गएपछि हिरमिनियाको तरकारी भारतीय सब्जीमन्डीमा पुग्न थालेको हो । त्यहाँ लैजाने वित्तिकै तरकारी बिक्री हुन समय लाग्दैन, खानले भन्नुभयो ।
हिरमिनियामा एक सय हेक्टर जग्गामा कृषकले तरकारी खेती गरेका छन् । उनीहरूले तरकारीको राम्रै मूल्य पाएको जनाएका छन् । भिन्डी ७० रुपियाँ किलो, लौका ४० रुपियाँ किलो, फर्सी ३०, मुला ६०, तोरैं ४० रुपियाँमा बिक्री भइरहेको कृषकले जनाएका छन् । परिश्रम गरेर उत्पादन गरिएको तरकारीको मूल्य रामै्र पाएका छौँ, कृषक वन्सिलाल मौर्यले भन्नुभयो ।
यसअघि नेपालमा उत्पादन भएको तरकारीको माग भारतीय बजारमा भएको थिएन । भारतीय बजारसंँग प्रतिस्पर्धा गर्न नसक्दा नेपाली उत्पदान स्थानीय बजारमा सीमित हुन बाध्य थिए तर, यो वर्ष प्रतिस्पर्धा गरेर पनि तरकारी बिक्री गर्दा फाइदा नै भएको कृषकले जनाएका छन् ।
यो वर्ष भारतीय बजारसँग पनि प्रतिस्पर्धा गर्नसकेका छौँ । हाम्रा तरकारीको माग बढ्दै गएको छ, महातरकारी उत्पादन सहकारी संस्था लिमिटेड हिरमिनियाका अध्यक्ष निरञ्जन सिंह सोडीले बताउनुभयो । उहाँले नेपालमा उत्पादन भएको तरकारीको बजार भारतसम्म विस्तार भएकोमा खुसी प्रकट गर्नुभयो । आसपासका जिल्लामा मात्रै हाम्रो बजार थियो । यो वर्षदेखि रुपैडिहासम्म बिक्री गर्न पाएका छौँ, उहाँले खुसी हुँदै भन्नुभयो ।
हिरमिनिया गाउँलाई जिल्ला कृषि विकास कार्यालयले तरकारी उत्पादनका लागि पकेट क्षेत्र बनाएको छ । यहाँका अधिकांश कृषकले बेमौसमी तरकारी खेती गर्दै आएका छन् । उत्पादित तरकारी भारतमा मात्र नभई नेपालगञ्ज, कोहलपुरलगायत नेपालका पहाडी जिल्लामा समेत बिक्रीका लागि पठाइने गरेको छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना