सगरमाथाको कीर्तिमान विवाद १० घण्टा ५६ मिनेटले पायो मान्यता

नारायण काफ्ले

काठमाडौँ, माघ १३ गते । सर्वोच्च अदालतले सबैभन्दा छोटो समयमा सर्वोच्च शिखर सगरमाथा आरोहणको कीर्तिमान लाक्पा गेलु शेर्पाको कायम हुने आदेश गरेको छ । सर्वोच्चको आदेशसँगै २०६१ साल जेठ ८ मा आरोहण गरेका पेम्बा दोर्जी शेर्पाले छोटो समयमा आरोहण गरेको भनी सरकारले दिएको मान्यता खारेजभएको छ । अदालतको आदेश अनुसार अब लाक्पा गेलुले कायम गरेको १० घन्टा ५६ मिनेट ४६ सकेन्ड नै सबैभन्दा छोटो समयमा सगरमाथा आरोहण गरेको कीर्तिमान कायम भएको छ ।
न्यायाधीशद्वय चोलेन्द्रशमशेर जबरा र डम्बरबहादुर शाहीको संयुक्त इजलासले आरोही पेम्बा दोर्जीले पेश गरेको प्रमाणले सरकारको निर्णयलाई पुष्टि नगरेको भन्दै कीर्तिमान कायम नहुने आदेश गरेको हो । सरकारले पेम्बा दोर्जीको ८ घण्टा १० मिनेटको समयलाई विश्व कीर्तिमानको मान्यता दिएको थियो । suprem
सर्वोच्चको संयुक्त इजलासको आदेशमा भनिएको छ ‘प्रत्यर्थी पेम्बा दोर्जी शेर्पाले छोटो समयमा सगरमाथा आरोहण गरेको भनी दाबी गरेको भए पनि निजसँग गएको सम्पर्क अधिकृतले सो कुरालाई पुष्टि गर्नसक्ने नियमावलीले निर्दिष्ट गरेको फोटो तथा साक्षी पेश गर्नसकेको अवस्था देखिँदैन । जसबाट उक्त दिन उक्त समयमा पेम्बा दोर्जी शेर्पा सगरमाथाको शिखरमा पुगेको तथ्य शङ्कारहित तवरबाट स्थापित हुनसकेको देखिँदैन । ’
पेम्बाले २०६१ जेठ ८ मा गरेको आरोहण सबैभन्दा छोटो समयको विश्व कीर्तिमान गरेको भन्दै सरकारले ०६१ भदौ २९ गते कीर्तिमानको मान्यता दिने निर्णय गरेको थियो तर सरकारको निर्णय छानबिनको माग गर्दै लाक्पा गेलुले पर्यटन मन्त्रालयमा निवेदन दिनुभएको थियो ।
निवेदनमा छानबिन गर्दै सरकारले पेम्बाले सगरमाथा शिखरमा पुगेको तस्वीर र साक्षी पेश गर्न नसके पनि सम्पर्क अधिकृतले मन्त्रालयमा टिपाएको प्रतिवेदनलाई आधार मानेर कीर्तिमान कायमै रहने निर्णय गरेको थियो । सरकारले पेम्बा शिखरमा पुगेको भनी आरोहण दलका नेताले गरेको प्रमाणितलाई आधार मानेर सो निर्णय गरेको थियो ।
संयुक्त इजलासले पर्वतारोहणसम्बन्धी नियमावली अनुसार पेम्बा दोर्जीले पुगेको तस्वीर र साक्षी जस्तो ठोस प्रमाण पेश गर्न नसकेको आदेश उल्लेख गरेको छ । ठोस प्रमाण अभावमा पेम्बाको कीर्तिमानले मान्यता नपाउने अदालको आदेशमा उल्लेख छ । नियमावलीको व्यवस्था अनुसार कीर्तिमानका लागि महŒवपूर्ण ठाउँको फोटो, पर्वतारोही दलका सदस्य उपस्थित भएको आधार शिविरको फोटो, पर्वतारोही दलको नेताको प्रतिवेदनलगायतका विवरण अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्था भए पनि पेम्बाले यस्ता प्रमाण पेश नगरेको अदालतको ठहर छ ।
अदालतले माउन्टेरिङ एशोसिएसन अफ तिब्बतको प्रमाणित पत्रले २१ मे २००४ मा खराब मौसमका कारण कुनै पनि पर्वतारोहीले आरोहण नगरेको पुष्टि गरेकाले उक्त मितिमा पेम्बाले सगरमाथा आरोहण गरेको नदेखिएको आदेशमा उल्लेख गरेको छ । तर पेम्बाले भने सोही मितिमा सगरमाथा आरोहण गरी कीर्तिमान कायम गरेको दाबी पेश गरेका थिए । सोही दाबी अनुसार सरकारले उहाँको कीर्तिमानलाई मान्यता दिने निर्णय १३ वर्षअघि गरेको थियो ।
आरोहण कीर्तिमान विवादमा यसअघि २०६१ जेठ १८ गते तत्कालीन पुनरावेदन अदालत पाटनले पेम्बाको कीर्तिमानको दाबी नपुग्ने आदेश गरेको थियो । उक्त आदेशपछि पनि सरकारले कीर्तिमानसम्बन्धी ०६१ भदौ २९ को निर्णय नै आधिकारिक भएको भन्दै आदेश कार्यान्वयन गर्न नपर्ने निर्णय गरेको थियो ।
दाबी विरोधको समय दिनु ः
आरोहण विवादमा आदेश गर्दै सर्वोच्चले आगामी दिनमा कीर्तिमान कायमलगायतका महŒवपूर्ण निर्णय गर्दा सार्वजनिक सूचना प्रकाशित गरी दाबी विरोधको समय दिन सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ ।
पर्वतारोहणसम्बन्धी नियमावली, २०५९ को नियम ३० र ३१ सँग सम्बन्धित अनुसूचीले निर्दिष्ट गरेको प्रक्रिया र विवरण पूरा गरेर मात्र कीर्तिमानको निर्णय गर्न अदालतले आदेशमा उल्लेख गरेको छ । यस्ता निर्णयअघि सार्वजनिक सूचना प्रकाशन गरी दाबी विरोध भएमा सोलाई विचार गरी निर्णय गर्न अदालतले पर्यटन मन्त्रालयको नाममा निर्देशनात्मक आदेश जारी गरेको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना