महर्जन बिजनेश एशोसियट्स’को भवन बनाउन समस्या नरहेको

maharjan business

उपेश महर्जन-
काठमाडौं, माघ १३ गते । विश्व सम्पदा क्षेत्र नजिक रहेको भनिएको राजधानीको नयाँ सडकस्थित निर्माणाधिन ‘महर्जन बिजनेश एशोसियट्स’को भवन विवादमा परेको छ तर महानगरपालिकाले भने स्वीकृत नक्सा अनुसार भवन बनाउन समस्या नरहेको जनाएको छ ।
भवनले विश्व सम्पदा क्षेत्रलाई नकारात्मक प्रभाव पार्न सक्ने भन्दै केहीले विरोध गरेपछि त्यसबारे काठमाडौंँ महानगरपालिकाको ध्यानाकर्षण भएको छ । महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्कीले पुरातत्व विभागकै स्विकृतिमा नक्सा पाससहित भूमिगत तल्ला स्वीकृति भई निर्माण भइरहेकाले विरोध गर्नु उचित नभएको बताउनुभयो ।
‘अहिलेसम्म महर्जन विजनेश एसोसियट्सको भवन ३१ फिट भइसकेको छ, धर्मपथ र दरबार स्क्वायरको बाटोमा अझैं चारफिट बनाउन पाउँछ, भित्रतिर चारतल्लासहित ४२ फिटसम्म जान पाउँछ, छिमेकी घरहरू पनि यस्तै हो ,’ उहाँको भनाइ छ ।
ब्यापारिक र आवासीय भवनको क्षेत्रफल दुईहजार वर्गफिटभन्दा माथि रहे भूमिगत तल्ला राख्नैपर्ने नगर विकासको नियम रहेकाले करिब ६ हजार २६५ वर्गफिटमा भवन निर्माण भएकाले सोही अनुसारले थप भूमिगत तल्ला स्विकृत भएको उहाँले स्पष्ट पार्नुभयो ।
भूमिगत तल्लाबाट दरबार क्षेत्रमा सुरुङ खनेर बहुमूल्य सम्पत्तिहरू चोरी हुुनसक्ने भन्ने कतिपयले प्रश्न उठाएका छन् । दुईफिटको सेयरवालसहित भूमिगत ढलान भएकाले सुरुङ खनेर चोरी हुन्छ कि भन्नु उचित नभएको उहाँले बताउनुभयो ।
यसैबीच, पुरातत्व विभागको हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख अरुणा नकर्मीले पूरातत्व महत्वको दरबार नजिक निर्माण हुँदै गरेको भवन चारतल्ला बनाउँदा ४५ फिट हुने भएकाले आफ्नो ध्यानाकर्षण भएको बताउनुभयो ।
‘‘३५ फिटसहित चारतल्ला बनाउँदा तीनचार फिट तलमाथि भए बेवास्ता गर्न सकिन्थ्यो, तर भवन सम्पदा क्षेत्रको बफर जोनमा थप भूमिगत तल्लासहित निर्माण भएकोले उचाइ र भूमिगत तल्लाबारे चासो स्वाभाविक हो, भूमिगत तल्ला पनि निर्माण गर्ने र चार तल्लाको स्विकृति छ भन्दैमा ४५ फिटसम्मको घर बनाउन पाईंदैन ।’’ हनुमान दरबार हेरचाह अड्डाका प्रमुख अरुणा नकर्मीले बताउनुभयो ।
वि.सं.२०२४ साल कात्तिकमा साढे साततल्ला रहेको क्लासिक होटल ५३.३ फिट अग्लो भवन निर्माण तत्कालिन काठमाडाँैं नगरपञ्चायतबाट स्विकृति पाएर बनेको थियो । तर त्यस विषयलाई नजिरको रुपमा लिन नसक्ने नकर्मीको भनाइ छ ।
पूरातत्व विभागद्वारा तयार पारिएको हनुमानढोका संरक्षित स्मारक क्षेत्रमा हुने संरक्षण एवं निर्माण सम्बन्धी मापदण्ड, २०६४ अनुसार ‘‘परम्परागत शैलीमा पुराना घरहरूको उचाइ ३५ फिटभन्दा बढी रहेछ भने त्यस्ता घरहरुको पुनःनिर्माण साविककै उचाइ कायम राखी पुनःनिर्माण गर्न अनुमति दिइनेछ,’’ उल्लेख भएकाले सोही अनुसार जान पाउनुपर्ने माग सम्बद्ध पक्षसँग सञ्चालक कृष्णलाल महर्जनले गर्नुभएको छ ।
‘‘करिब २० आनामा निर्माणाधिन भवनको भूमिगत तल्लामा दुईफिटको सेरवाल २ फिटको बिम अनिवार्य राख्नुपर्ने देखिएकोले सोही अनुसार चारतल्लासम्म निर्माण गर्दा ४२ फिट हुन्छ, अन्य भवन दशतल्लासम्म बन्दा किन कसैको ध्यान जाँदैन ?’’ महर्जनको भनाइ छ । भवनभित्र कुमारीको मन्दिर नभएको दाबी गर्दै उहाँले भवनसँगै रहेको नाट्येश्वर मन्दिर (नासः द्यः) करिब १५ लाखमा जीर्णाेद्धार गरेको बताउनुभयो ।
मल्लकालीन सम्पत्ति रहेको स्थानमा भूमिगत तल्ला निर्माण गर्दा सुरुङ खनेर चोरी हुने डरले सम्पदा बचाउन हामीले दबाव स्वरुप विरोध कार्यक्रम गरिरहेको भवन निर्माणविरुद्ध उत्रनुभएका गणपतिलाल श्रेष्ठको भनाइ छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना