नागरिक बडापत्रको प्रभावकारिता

sher bahadur bkशेरबहादुर वि.क

 


जतिबेला जिम्मेवार सरकारको अवधारणा अगाडि आयो, सरकारले संस्था÷निकायमार्फत प्रदान गरिने सेवालाई अझ प्रभावकारी, गुणस्तरीय, सुनिश्चित, पारदर्शी र पहँुचयोग्य बनाउन आवश्यक देखिन गयो । तब विभिन्न नवीन व्यवस्थापकीय औजारको प्रयोग गरिन थालिए, तीमध्ये नागरिक बडापत्र एक थियो । तोकिएको गुणस्तरको सेवा दिन, सेवाका सन्दर्भमा उत्तरदायित्व बहन र पारदर्शिता कायम गर्न सेवा प्रदायक निकायलाई जिम्मेवार बनाउने साधनको रूप हो बडापत्र । बडापत्रको कार्यान्वयन प्रभावकारी रूपमा भएको खण्डमा नागरिक सशक्तीकरण, कर्मचारीमा सदाचारिता प्रवद्र्धन, भष्ट्राचार निवारण र अन्ततः सुशासन प्रवद्र्धनमा टेवा पुग्दछ ।
हाल नागरिक बडापत्र सरकारी कार्यालयमा ऐन कानुुनको परिपालना भएको सङ्केत मात्र गराउने परम्परागत बस्तुको रूपमा सीमित हुन पुगेको छ । नागरिक बडापत्रको प्रयोग सेवालाई नागरिकमैत्री मात्र नभई नागरिकमुखी बनाउने उद्देश्यबाट विमुख हुँदै गएको छ । त्यसैगरी, माथिबाट तलतिरको (उभयमुखी) शासनको स्वरूपबाट नागरिक बडापत्रको निर्माण र कार्यान्वयन अछूतो हुन नसकेको अवस्था छ ।
सेवालाई गुणस्तरीय, पारदर्शी, सुनिश्चित र पहँुचयोग्य बनाउन नवीन सार्वजनिक व्यवस्थापनका साथै विभिन्न प्रशासनिक सुधारका रणनीति कार्यान्वयन भइरहेको अवस्थामा नागरिक बडापत्रका हरेक पक्षको प्रभावकारिताबारे अध्ययन तथा विश्लेषण हुनु जरुरी भइसकको छ । प्रशासनकीय रूपमा पनि देश सङ्घीयतामा जान सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण भइरहेको बेला अबका दिनमा सङ्घ, प्रदेश तथा स्थानीय तहका कार्यालयबाट सोचे अनुरूपको सेवा प्रदान गर्न नागरिक बडापत्रको प्रभावकारिता वृद्धि गर्न कदम चाल्नैपर्ने भएको छ ।
सिद्धान्ततः निकायले प्रदान गर्ने सेवा सेवा प्राप्त गर्न अपनाउनु पर्ने प्रक्रिया, चाहिने कागजात, लाग्ने शुल्क र समय तथा गुनासो व्यवस्थापनका संयन्त्रसमेतको लिखित दस्तावेज जुन आम सरोकारवालासमक्ष सार्वजनिक गरिएको हुन्छ त्यसैलाई नागरिक बडापत्र भनिन्छ । नागरिक बडापत्रको निर्माण र कार्यान्वयनको दृष्टिकोणमा सन् १९९१ पश्चात् देशैपिच्छे फरकफरक नागरिक बडापत्रको प्रयोग भएको देखिन्छ । पहिलो उभयमुखी दृष्टिकोण जसमा माथिल्लो÷सम्बन्धित निकायद्वारा तल्लो निकायलाई÷आफैँ कार्यान्वयन गर्ने÷गर्न निर्देशन दिइन्छ । जस्तो बेलायत, बेल्जियम, फ्रान्स, भारत, नेपाल आदि । अर्काे उध्र्वमुखी (तलबाट माथितिर) दृष्टिकोण जसमा सम्बन्धित निकायले नागरिक तथा सरोकारवालासँग परामर्श गरी नागरिक बडापत्रको निर्माण, कार्यान्वयन गर्छ । जस्तो अष्ट्रेलिया, इटाली, स्पेन, अमेरिका, नेदरल्याण्ड आदि । सेवालाई प्रभावकारी तुल्याउन नेपालको सार्वजनिक प्रशासनमा नागरिक बडापत्रको अवलम्बन वि.सं. २०६१ देखि भए सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ प्रचलनमा आएसँगै यसको प्रयोग संस्थागत हुन पुगेको देखिन्छ ।
नागरिक बडापत्र प्रयोगमा ल्याएको एक दशक बित्दा पनि सेवा प्रदायक निकाय नागरिक बडापत्रको प्रयोगलाई ऐन कानुनको परिपालनामा मात्र सीमित गराउनुका साथै यसको निर्माण तथा कार्यान्वयनमा प्रभावकारिता ल्याउनेतर्फ खासै चासो राखेको देखिँदैन । सेवाको गुणस्तर र प्रभावकारिता वृद्धिका लागि विभिन्न मानक र मापदण्ड निर्धारण गर्नेतर्फ कदम चालेको खासै उदाहरण छैनन् । अझ नागरिकका आवश्यकता र चाहनाबमोजिमको सेवा र सेवा प्रवाहका माध्यममा विकल्पको व्यवस्था र तीमध्ये सर्वाेत्तम विकल्पको छनोट गराउनेतर्फ निकाय प्रायः चुकिरहेको अवस्था छ । उभयमुखी शासनको स्वरूपका कारण नागरिकका आवश्यकता र चाहनाका साथै संस्थागत सक्षमता र संस्कार विधि र संयन्त्र समाहित हुने गरी नागरिक बडापत्रको निर्माण र कार्यान्वयनमा नागरिक तथा सरोकारवालासँग परामर्श गरिने वातावरण छैन । यही उभयमुखी शासनको उपागमका कारण वर्तमान समयमा बेलायतमा नागरिक बडापत्र अनिवार्य रूपमा नभई स्वेच्छिक रूपमा केही सरकारी निकायले मात्र प्रयोग गरेको अवस्था छ । फिलिपिन्सका प्रशासनविद् साइगुनले पनि नागरिक बडापत्रको सम्बन्धमा नागरिक तथा सरोकारवालासँग न्यून सहभागिताका कारण सेवा प्रदायक निकाय कम जिम्मेवार रहेकोमा सहमत देखिन्छन् । फिलिपिन्समा नागरिक बडापत्रको प्रयोगपछि सरकारी निकायको प्रशासनिक प्रतिस्र्धात्मक क्षमता वृद्धि भए पनि सेवाको गुणस्तर र जनसन्तुष्टिमा उल्लेख्य सुधार आउन नसकेको तथ्य उनको सन् २०१२ को अध्ययनले प्रष्टयाउँछ । त्यस्तै आन्तरिक सरोकारवाला जस्तो नेपाल सरकार, तालुक निकाय, विभिन्न अनुगमन तथा परीक्षणका निर्देशन पालनामा विलम्बता र न्यून संवेदनशीलता रहेको विभिन्न सरकारी प्रतिवेदनले पुष्ट्याइ गर्दछ । नागरिक बडापत्रको प्रभावकारिता वृद्धि गर्न समयसापेक्ष ऐन कानुनमा संशोधन गरिएको अवस्था छैन र निकायद्वारा नागरिकका आवश्यकता र चाहनाबमोजिम सेवा थप तथा परिमार्जन गरी नागरिक बडापत्रको समयसमयमा परिमार्जन गर्ने गरेको घटना शून्यप्रायः नै छ भन्दा फरक पर्दैन । नागरिकमा सेवा प्राप्त गर्ने सन्दर्भमा नागरिक बडापत्रको प्रयोग सम्बन्धी चेतना न्यून छ जुन तथ्यलाई राष्ट्रिय सतर्कता केन्द्रको अनुगमनका प्रतिवेदनले थप बल पु¥याउँछ । सूचना प्रकाशन र प्रसारणमा निकाय चुकेको अवस्थामा होस् वा नागरिकको सेवाका सक्रिय साझेदारको भूमिका निर्वाह गर्न नसक्दा होस् वा दुवैका कारण होस् अन्ततः सेवाका सम्बन्धमा नागरिकाको न्यून सहभागिता र गुनासो गर्ने संस्कार अत्यन्त कम छ ।
नागरिक बडापत्रको कार्यान्वयनमा प्रभावकारिता वृद्धि गर्न यसको प्रयोग नवीनतम माध्यमबाट गर्न सकिन्छ । जस्तो फिलिपिन्समा विभिन्न स्थानीय निकायले नागरिक बडापत्रमा भएको जानकारी पुस्तिका (ब्रोचर), संचित्र (फ्लोचार्ट), पेपर स्ट्राइप, होर्डिङ बोर्ड र मागदर्शन पुस्तक (म्यानुयल बुक)मार्फत गराउने गर्दछन् । नागरिक बडापत्र परम्परागत रूपमा लिखित रूपमा कार्यालयमा टङ्गाइरहँदा वा त्यसमा सुधार÷नयाँपन ल्याउन कोसिस नगरिदा कसरी नागरिक बडापत्रको प्रभावकारिता आशा गर्न सकिन्छ ? उदाहरणका रूपमा नागरिक बडापत्रलाई स्थानीय भाषामा प्रकाशन गर्ने, अडियो÷अडियो भिडियो नागरिक बडापत्र इत्यादि प्रयोगमा ल्याउन सकिन्छ । पारदर्शिता तथा उत्तरदायित्व अभिवृद्धिका साथै गुणस्तरीय सेवा प्रवाह गर्न नेदरल्याण्ड सरकारले सन् २००७ मा ई–नागरिक बडापत्र लागू गरेको थियो । फलस्वरूप नेदरल्याण्डले युरोपियन डेमोक्रेसी एवार्ड २००७ जितेको थियो । र, पछि सन् २००८ मा इस्टोनियाले पनि ई–नागरिक बडापत्रको अनुसरण गरेको थियो । ऐन कानुन, सरकारका निर्देशन र निकायका उद्देश्य र नागरिकका आवश्यकता तथा चाहनाबमोजिम सेवामा परिमार्जन गर्दै जानुपर्छ । भारतमा सन् २००७ मा नागरिक बडापत्र प्रयोगमा आएपछि पनि सेवाको गुणस्तर र सेवा प्रवाहमा पारदर्शिता कायम नभएको एक सरकारी अध्ययनले देखाएपछि नागरिक बडापत्रमा सुधार गर्न चार्टर मार्क प्रयोगमा ल्याएको थियो । चार्टर मार्क नागरिक बडापत्रको सुधारिएको रूप थियो, जसलाई बेलायतले सन् १९९२ मा प्रयोगमा ल्याएको थियो ।
नागरिक बडापत्रको प्रभावकारिता वृद्धि गर्न यसमा सुधारका अतिरिक्त अन्य व्यवस्थापकीय विधि, संयन्त्र र कार्यक्रम समानान्तर रूपमा सँगै अघि बढाइनु पर्छ । सामान्य अर्थमा भन्नुपर्दा नागरिक बडापत्रका प्रावधानलाई समर्थन र सबलीकरण गर्ने विधि, संयन्त्र र कार्यक्रम सञ्चालनमा ल्याइनुपर्छ । जस्तो कर्मचारी तथा स्रोत साधनको क्षमता वृद्धि गर्नेतर्फ कदम चालिइनु पर्छ । उदाहरणका रूपमा फिलिपिन्स सरकारले नागरिक बडापत्रको उद्देश्यअनुरूप सेवालाई गुणस्तरीय बनाइ पारदर्शी सेवा प्रवाह गर्न कर्मचारीलाई नागरिक बडापत्रका सम्बन्धमा तालिम प्रदान गर्नुका साथै निकायका कार्यक्षमता बढाउन प्राविधिक सहयोग प्रदान गरेको थियो । त्यसैगरी, नागरिक बडापत्रले तोकेबमोजिम गुणस्तरीय सेवा प्रदान गर्न फिलिपिन्सका केही स्थानीय निकायले कर्मचारीलाई आन्तरिक कार्यसम्पादनको मार्गदर्शन (म्यानुयल) प्रदान गरेको थियो र त्यसैअनुरूप कार्यसम्पादन गर्न उत्प्रेरित गरेपछि ती कार्यालयमा जनगुनासो ८० प्रतिशतले घटेको तथ्य अध्ययता साइगुनको प्रतिवेदन २०१२ मा उल्लेख छ ।
प्रयोगसिद्ध व्यवस्थापनका सिद्धान्तजस्तो कार्यसम्पादन व्यवस्थापन, समय व्यवस्थापन, नया सार्वजनिक सेवा आदिको प्रयोगगरी प्रभावकारी सेवा प्रदान गर्नमा अग्रसरता लिन सकिन्छ । कर्मचारीमा सदाचारिता प्रवद्र्धनमार्फत भ्रष्टाचार निवारणमा व्यवहारगत संवेदनशीलता हासिल गर्नेतर्फ कदम चाल्न सकिन्छ । परम्परागत सेवाबाट आधुनिक सेवा दिने क्रममा सेवाका विकल्प पनि दिइनुपर्दछ । तबमात्र नागरिकले सेवामध्ये सर्वाेत्तम विकल्पको छनोट गर्दछन् । र, विकल्पसहितको आधुनिक सेवा प्रवाह विविध माध्यमबाट गरिन जरुरी हुन्छ । जसबाट नागरिकले आवश्यकता, सहजता र सुलभताका आधारमा सेवामा पहँुच राख्छन् । जस्तो कार्यालय, सेवा केन्द्र, घुम्ती टोली, अनलाइन आदि ।
नागरिक बडापत्रद्वारा सरकार तथा निकायको जनउत्तरदायित्व बहनको मापन हुनुका साथै सेवाप्रति नागरिकका धारणा बन्ने हुँदा नागरिक बडापत्रको अनुगमनका साथै समयसमयमा सर्वेक्षण गरिन जरुरी हुन्छ । फिलिपिन्समा सार्वजनिक सेवा आयोगले समय समयमा नागरिक बडापत्रका सम्बन्धमा रिपोर्ट कार्ड सर्वे गरी सेवाको स्तरीयता र नागरिकको सन्तुष्टिको मापन र मूल्याङ्कन गर्ने गर्छ । नागरिक बडापत्रको कार्यान्वयन पक्ष राम्रो हुने निकायलाई प्रोत्साहन स्वरूप पुरस्कार दिने र कार्यान्वयन पक्ष कमजोर हुने निकायलाई निर्देशन दिने गर्दछ । र पछि, निर्देशनको पालना तथा जनगुनासोको सम्बोधन भए नभएको बारे बुझ्न स्थान जाँच (स्पट चेक) गर्ने गर्छ । फलस्वरूप सन् २०१२ मा विश्व प्रतिस्पर्धात्मक क्षमता मापनमा फिलिपिन्स ७१ औँ बाट ६५औँ स्थानमा स्तरोन्नति भएको थियो ।
नागरिक बडापत्रको प्रभावकारिता वृद्धि गर्न नागरिकको भूमिका नजरअन्दाज गर्न हँुदैन । सेवा लिनेको हकमा सबै सेवाग्राहीहरू नागरिक हुन । नागरिकले सेवाको सक्रिय साझेदारको रूपमा भूमिका निर्वाह गर्नुपर्छ । सेवाबारे सचेत बन्दै सेवाप्रवाहको नतिजाको नागारिक बडापत्रको सापेक्षमा र आत्म मूल्याङ्कन गरी सुझाव तथा गुनासो गर्ने र पृष्ठपोषण्न दिई सक्रियता अवश्य प्रर्दशन गर्नुपर्छ ।
प्रभावकारी रूपमा नागरिक बडापत्रकोे निर्माण र कार्यान्वयन भएको खण्डमा नागरिकको सशक्तीकरणमा टेवा पुग्छ । नागरिक बडापत्रको निर्माण र प्रकाशन गर्दा नागरिक सहभागिता सुनिश्चित हुन्छ र नागरिकले सेवाका सम्बन्धमा गुनासो गर्ने र पृष्ठपोषण दिन सक्छन् । सूचनामा नागरिकका सहज पहुँच स्थापना भएको हुन्छ र नतिजाका सन्दर्भमा क्षतिपूर्तिको ग्यारेन्टी गरिएको हुन्छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना