शताब्दी पार गरेको दूरसञ्चार यात्रा: ओपनवायर ट्रंक लाइन, आकाशवाणी, पेजरहुँदै फोरजीसम्म

भेषराज बेल्बासे
काठमाडौँ, माघ २१ गते । शताब्दी अगाडि नेपालमा ‘ओपेन वायर म्याग्नेटो ट्रंक टेलिफोन’ थालनी हुँदा सायदै अहिलेको दूरसञ्चार विकासमा छलाङ कसैले अनुमान गरेको थिएन होला । आम सर्वसाधारणको हात हातमा मोबाइलले चाहेको समयमा प्रत्यक्ष कुराकानी, विश्वकै समाचार त के कुरा मोबाइलबाटै बैंकिङ सेवासम्मको सुविधा समेत उपलब्ध हुन थालेको छ । अहिलेसम्मको दूरसञ्चारको विकासबाट नेपालले प्रविधिमा फड्कोमात्र मारेन समाचार र सूचनाको संसारै कायापलट गरेको छ ।
टेलिफोन लाइनको स्थापना, ओपनवायर ट्रंक लाइन स्थापना, आकाशवाणी सेवा, उपभोक्ताहरुमा ‘गरिबको मोबाईल’ का नामले लोकप्रिय भएको निजी क्षेत्रबाट सञ्चालित रेडियो पेजिङ सेवा (पेजर) बाट विस्तारित दूरसञ्चार सेवासँग प्रत्यक्ष जोडिएको नेपाल टेलिकमले अहिले दर्जनभन्दा बढी दूरसञ्चार तथा इन्टरनेट सेवा प्रवाहतर्फ फोरजी सेवा समेत प्रवाह गरिरहेको छ ।
वि.सं. १९७३ बाट नेपालमा दूरसञ्चारका लागि पहिलोपटक निश्चित क्षेत्रका लागि टेलिफोन सेवा विस्तार भएको दिनलाई आधार मान्ने हो भने आजको दिनमा आइपुग्दा फोरजी सेवा, ई–भिलेज, ई–सिटी, ’स्मार्ट नेपाल’ र मोबाइल बैंकिङसमेतको अवधारणा अगाडि आइसकेको छ ।
वि.सं. २०१६ सालमा आकाशवाणी हेड अफिस र टेलिफोन हेड अफिस कार्यालयलाई एकै ठाउँमा गाभेर निर्माण यातायात र सञ्चार मन्त्रालय अन्तर्गत ‘दूरसञ्चार विभाग’ लाई वि.सं. २०२६ साल कात्तिक १ गते दूरसञ्चार समितिमा परिणत गरिएको र वि.सं. २०३२ साल असार १ गते नेपाल दूरसञ्चार संस्थानमा परिणत गरिएको थियो । नेपाल सरकारको पूर्ण स्वामित्व रहेको संस्थानलाई वि.सं. २०६१ वैशाख १ गते नेपाल दूरसञ्चार कम्पनी लिमिटेडमा परिणत गरिएको हो । कम्पनीमा नेपाल सरकारको स्वामित्व घटाउँदै लैजाने नेपाल सरकारको नीति बमोजिम पाँच प्रतिशत शेयर कम्पनीमा कार्यरत कर्मचारीहरु र करिब ३.५ प्रतिशत शेयर सर्वसाधारणमा बिक्री वितरण भइसकेको छ ।
नेपाल टेलिकमले सोमबार स्थापनाको १४ औं वार्षिकोत्सव मनाइरहँदा विभिन्न कालखण्डको उतारचढाव र राजनीतिक रूपमा अन्यौलताबाट लामो समयदेखि मुलुक गुज्रिरहँदा दूरसञ्चारको क्षेत्रले भने उल्लेख्य प्रगति हासिल गर्दै गइरहेको छ । राजनीतिक अस्थिरता, दण्डहिनता र महङ्गीको प्रत्यक्ष मार आम जनतामा कायम रहेका बेला पनि दूरसञ्चार र इन्टरनेट सेवाको बृद्धि उत्साहजनक रह्यो ।
सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक कम्पनीको रूपमा रहेको नेपाल टेलिकमले मुलुकभर पूर्वाधार निर्माण गरी सेवा बिस्तार तथा त्यसपछि आएका निजी सेवा प्रदायक कम्पनीबीच भएको प्रतिस्पर्धासँगै महसुल दर घटाउन र नयाँ सेवा ल्याउने होड थपिदिएको छ ।
देशका कुना कुनामा रहेका दूर दराजसम्मका नेपालीहरुमाझ पुग्ने र सेवा प्रदान गर्ने उद्देश्यले टेलिकमले ७५ वटै जिल्लामा आफ्ना विभिन्न सेवा विस्तार गरिसकेको छ । साथै काठमाडौंलगायत विराटनगर, वीरगञ्ज, भैरहवा, नेपालगञ्ज र धनगढीमा क्षेत्रीय निर्देशनालय समेत स्थापना गरेको छ । अप्टिकल फाइवर मार्पmत देशका कुना कुनाका साथै अन्तर्राष्ट्रिय सञ्जालमा आवद्ध हुन सफल टेलिकमले बदलिँदो समयमा आवश्यक इन्टरनेटको महत्वलाई मध्यनजर गर्दै त्यसलाई विभिन्न माध्यमबाट ल्याउँदै आएको छ ।
समयको माग र प्रतिष्पर्धात्मक अवस्था अनुसार गत वर्षदेखि नेपाल टेलिकमले जीएसएम अन्तर्गत मुलुकमै पहिलो फोरजी सेवा पनि सञ्चालनमा ल्याएको छ । हाल काठमाडौं र पोखरामा सञ्चालित फोरजी सेवा नेपाली इन्टरनेटको क्षेत्रमा एक कोसेढुङ्गा बनेको छ ।
यो सेवालाई निकट भविष्यमै देशका अन्य सबै भागमा पनि विस्तार गर्ने स्थापित लक्ष्य लिएको छ – नेपाल टेलिकमले र त्यसै अनुरुप कार्य समेत अघि बढाइसकेको जनाएको छ ।
विश्वसँगको सम्बन्धलाई इन्टरनेट मार्फत जोड्ने कार्य पनि अब भारतका साथसाथै चीनमार्फत समेत सम्भव भएको छ । रसुवागढीसँग जोडिएको केरुङ नाकामार्फत ल्याइएको इन्टरनेटको यो अर्को थप बाटोले दूरसञ्चारको क्षेत्रमा नयाँ अध्याय थपेको छ ।केही दिन अघिमात्र यसको औपचारिक सुरुवात गरिएको छ ।
तत्कालिन नेपाल दूरसञ्चार संस्थानका तत्कालीन व्यवस्थापनले तालुक मन्त्रालयलाई सहमत गराई मोबाइल टेलिफोन सेवा सुरुआत गर्ने स्वीकृति लिएअनुसार संस्थानले जिएसएम मोबाइल टेलिफोन सेवाको टेस्ट लन्च २०५५ चैत २९ गते गरेको थियो । 
कम्पनीको भ्वाइस सेवातर्फ आधार २०७४ मङ्सिर महिनाको अन्त्य सम्ममा एक करोड ८५ लाख ५८ हजार भन्दा बढी रहेको छ । सो मध्ये जीएसएम मोबाइलका ग्राहक एक करोड ६२ लाख २५ हजार, सीडीएमए सेवाका १६ लाख ५० हजार तथा पीएसटीएन सेवाका ग्राहक ६ लाख ८२ हजार रहेका छन् । २०७४ कात्तिक महिनाको नेपाल दूरसञ्चार प्राधिकरणको एमआइएस प्रतिवेदनअनुसार भ्वाइस सेवातर्फ कम्पनीको बजार हिस्सा कुल ४९ प्रतिशत रहेको छ ।
इन्टरनेट सेवातर्फ कम्पनीको डाटा (इमेल, इन्टरनेट आदि) सेवाका प्रयोगकर्ता २०७४ मङ्सिर महिनाको अन्त्य सम्ममा कुल ८९ लाख ३५ हजार भन्दा बढी पुगेका छन् । सो मध्ये जीएसएम मोबाइलको डाटा सेवाका प्रयोगकर्ता ८५ लाख ८३ हजार, एडीएसएल सेवाका प्रयोगकर्ता १ लाख ९३ हजार र वाइम्याक्स सेवाका प्रयोगकर्ता १७ हजार रहेका छन् । २०७४ कात्तिक महिनाकै प्राधिकरणको एमआइएस प्रतिवेदनमा प्रकाशित तथ्याङ्क अनुसार डाटा सेवातर्फ कम्पनीको बजार हिस्सा कुल ५२.७३ प्रतिशत रहेको छ ।
कम्पनीको आ. व. २०७३/७४ को कुल राजस्व ४४ अर्ब ५९ करोड रूपियाँ रहेको छ, जसमा खुद नाफा १५ अर्ब ३७ करोड रहेको छ ।
सेवा विस्तार तथा वितरणतर्फ कम्पनीले उच्च गतिको थ्रिजी इन्टरनेट सेवा तथा थप भ्यालु एडेड सर्भिस सहितको एक करोड लाइन जीएसएम सेवाको जडान अन्तिम चरणमा पुगेको छ भने फोरजी तर्फको लङ ट्रम इभोलुसन(एलटीइ) नेटवर्कको काठमाडौं उपत्यका र पोखराबाट सेवा शुरु भइसकेको र देशभर बिस्तार गर्ने कार्यको शुरुवात भइसकेको छ ।
कम्पनीले विभिन्न सेवाहरुको एकीकृत बिलिङ गर्न कन्भरजेन्ट रियल टाइम बिलिङ एण्ड कष्टुमर सपोर्ट(सिआरटिबी एण्ड सीएस) प्रणाली जडान गरी सो मार्फत सेवा प्रदान गरिरहेको छ र आगामी दिनमा कम्पनीको सम्पूर्ण सेवा सोही बिलिङ प्रणाली मार्फत सञ्चालन गरिने छ ।
द्रुतगतिको इन्टरनेट सेवा विस्तारको निम्ति फोरजी÷एलटीइ, वाइम्याक्स, थ्रिजी, सीडिएमए इभिडियो, एडीएसएल तथा एफटिटिएच जस्ता प्रविधिमा आधारित ब्रोडब्याण्ड नेटवर्क विस्तार भइरहेको र ग्रामीण क्षेत्रलाई समेत प्राथमिकतामा राखिएको छ ।
आर्थिक वर्ष २०७२/७३ मा नेपाल सरकारलाई सबैभन्दा बढी मूल्य अभिवृद्धि कर(भ्याट) बुझाए वापत उत्कृष्ट करदाता कम्पनीको रुपमा सम्मान प्राप्त भएको छ । यो वर्ष टेलिकमको इतिहासमै पहिलो पटक समयमै साधारणसभा सम्पन्न भएको छ । कम्पनी ऐन अनुसार पुस मसान्तभित्र साधारणसभा सम्पन्न गरिसक्नुपर्छ । त्यसैगरी शेयर वापतको लाभांश पनि यो वर्ष सबैभन्दा बढी अर्थात ५५ प्रतिशत वितरण गरिएको छ । नेपाल टेलिकमको पहिलो साधारण सभा २०६५ चैत्र ३० गते सम्पन्न भए पछि प्रति शेयर २५ रुपियाँको दरले लाभांश वितरण गरिएको थियो । त्यसपछि विभिन्न समयमा यसको दर फरक फरक थियो । गत वर्ष २०७३ फागुन ३० गते सम्पन्न साधारणसभा पश्चात शेयरधनीलाई ५१ प्रतिशत शेयर वितरण गरिएको थियो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना