बहु व्यवसायमा सफलता

नेत्र शाही

खलङ्गा, माघ २२ गते । जुम्ला चन्दननाथ नगरपालिका–३ का किसान रामकृष्ण बुढ्थापा एकाबिहानै घरवरिपरि राखिएका मौरीका घारको निरीक्षणमा लाग्नुहुन्छ । हेर्दा कपाल फुलेका बुढ्थापा मौरीपालन मात्र होइन जुम्ला सदरमुकामदेखि पाँच किलोमिटर उत्तर रडिखेल्लामा बहु व्यवसाय गर्न सफल हुनुभएको छ ।
उहाँले स्याउ, ओखर, जडीबुटी उत्पादन र स्थानीयस्तरमा पाइने कुटु, देवदार, सल्लाको प्रशोधन तथा मौरीपालनबाट आम्दानी गर्दै आउनुभएको छ ।
जुम्ला खोलिकोट गाउँमा रहेको मुख्य घरबाट चार किलोमिटर टाढा रडिखेल्लामा उहाँले बसोबास थालेर ७१ वर्षीय ज्येष्ठ नागरिक किसान बुढ्थापाले बहु व्यवसायमा सफलता हासिल गर्नुभएको छ ।
उहाँ २०५४ सालामा आफूसँग भएको एक घार मौरी र एक घार जिल्ला कृषि विकास कार्यालयबाट पाएको मौरीले अहिले १३५ घार बनाउन सफल हुनुभएको छ । मौरीबाटै पाँच वर्षदेखि वार्षिक दुई लाखदेखि पाँच लाख रुपियाँ आम्दानी गरिरहेको उहाँले बताउनुभयो ।
यसैगरी उहाँले जडीबुटी प्रशोधनबाट मनग्ये आम्दानी थाल्नुभएको छ । १० हजार वर्गमिटरको बगैँचामा पाँचऔँले, चिराइतो, सुगन्धवाल, कटुको, अत्तिस, चिनी तुल्सी, रोजमरीलगायतका २५ प्रकारका जडीबुटी उत्पादन गर्नुका साथै स्थानीय कच्चा पदार्थबाट उत्पादित देवदार, सल्ला, ठिगोको कच्चा पदार्थ खरिद गरी प्रशोधन गरिरहनुभएको छ ।
बुढ्थापाले जडीबुटी र तेलबाट वार्षिक १५ देखि २० लाख आम्दानी भएको बताउनुभयो । यसैगरी स्याउको रुख भने पुरानो भएकाले करिब एक लाखको मात्रै आम्दानी हुने उहाँले बताउनुभयो ।
उहाँले यस वर्षदेखि माछापालन समेत सुरु गर्नुभएको छ । उहाँले आफ्नो बगैँचाको छेउमा बगिरहेको सानो पानीलाई बहुद्देश्यीय काममा लगानी गर्नुभएको छ । पानी जम्मा गरेको स्थानमा माछापालन, त्यहाँबाट आएको पानीबाट बहुद्देश्यीय घट्ट र त्यही पानीबाट एक किलोवाटको बत्तीसमेत निकालेर उज्यालो दिन सफल हुनुभएको छ ।
आफू गाउँबाट रडिखेल्लामा सर्दा तीन सय वर्ग मिटरको जग्गा अहिले १० हजार वर्ग मिटरमा फैलाउन सफल भएकोमा बुढ्थापा खुसी व्यक्त गर्नुहुन्छ । यही व्यवसायबाट दुई जना बाहिर र पाँच जना आफ्नै परिवारका सदस्यसमेत रोजगार छन् । कामदारलाई नौ हजारदेखि १४ हजार रुपियाँ मासिक तलब दिने गरेको उहाँले बताउनुभयो ।
स्रोत केन्द्रका रूपमा बगैँचा
बुड्थापाको बगैँचा अहिले सिकारु विद्यार्थीका लागि समेत स्रोत केन्द्रका रूपमा स्थापित भएको छ । यहाँ कर्णाली प्राविधिक शिक्षालयबाट विद्यार्थीहरू ओजेटी गर्न आउनुका साथै जिल्ला वन कार्यालय, जिल्ला वनस्पति कार्यालय, जिल्ला कृषि विकास कार्यालयदेखि विभिन्न विज्ञहरू र सरोकारवालाहरूले अवलोकन गर्ने गरेको बताउनुभयो ।

कर्णालीमा विश्व विद्यालय आवश्यक
जडीबुटीको खानी कर्णालीमा जडीबुटी प्रशोधन केन्द्रसहित त्यसको अध्ययन गर्ने विश्वविद्यालय आवश्यक रहेको उहाँले बताउनुभयो । स्रोतको खानी हुँदा पनि अहिलेसम्म जडीबुटी र फलफूलमा ठोस लगानी हुन नसकेको उहाँले गुनासो गर्नुभयो ।
बुढ्थापाको व्यवसायप्रति सरोकारवाला कार्यालयहरू निक्कै उत्साहित छन् । जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत भरत कँडेलले उहाँ मौरीपालन व्यवसायदेखि जडीबुटी, स्याउमा नमुना किसान भएको र उहाँको सीप अझै अरूले सिक्नुपर्ने बताउनुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना