मूल्य घट्दो अम्लिसो असरल्लको


हरिप्रसाद कोइराला

लेटाङ (मोरङ), माघ २५ गते । मूल्य निरन्तर ओरालो लागेपछि उत्तरी मोरङका अम्लिसो खेती गर्ने किसान खर्च नै नउठ्ला भन्ने चिन्तामा छन् । कम मूल्य पाइने भएपछि किसानले तयार पारेको अम्लिसो पाखामा असरल्ल छ ।
२०७१ सालमा किसानको बारीबाटै प्रतिकिलो १०५ रुपियाँ सम्ममा बिक्री भएको अम्लिसोको मूल्य यो वर्ष प्रतिकिलो ३५ रुपियाँभन्दा माथि जान सकेको छैन ।
२०७१ मा कल्पना गरेभन्दा राम्रो मूल्य पाएपछि उत्तरी मोरङको साविक वारङ्गी–६ का कृष्णप्रसाद लिम्बूले २० रोपनीमा अम्लिसो खेती विस्तार गर्नुभयो तर ०७२ मा बिक्री मूल्य प्रतिकिलो ४५ रुपियाँभन्दा माथि जान सकेन ।
१५ रोपनीमा खेती गर्दा खर्च कटाएर दुई लाख रुपियाँ आम्दानी गर्नुभएका लिम्बूले भन्नुभयो, यो साल १५ क्विन्टल उत्पादन भयो । मूल्य घटेकोले ५२ हजार रुपियाँ मात्र आम्दानी हुनेभएको छ ।
उहाँले तीन वर्षअघि नै १५ क्विन्टल अम्लिसो बेच्दा एक लाख ५७ हजार रुपियाँ लिनुभएको थियो । कृषि मजदुरको अभाव र समयमा पानी नपरेकोले यो वर्ष पनि अम्लिसोको उत्पादन घटेको लिम्बूले बताउनुभयो । ३० वर्षअघि घर बढार्न र गाईबस्तुलाई घाँसका लागि अम्लिसो रोप्न थाल्नुभएका लिम्बू २० वर्षयता भने व्यावसायिक खेती गरिरहनु भएको छ ।
बारङ्गी–४ का गौरी तामाङले अम्लिसोको व्यापार सुरु गरेको २५ वर्ष भयो । पहिले उहाँ गाउँ गाउँबाट भरिया लगाएर व्यापारका लागि लेटाङ बजार ल्याउनुहुन्थ्यो । आफै किसान र आफै व्यापारी भएकोले राम्रो आम्दानी हुने गरेको बताउँदै तामाङले भन्नुभयो, उहिले चामलसँग अम्लिसो साटिन्थ्यो । अहिले एक किलो अम्लिसो बेच्दा एक किलो चामल आउन छोड्यो । अहिले गाउँ गाउँमा सडक पुगेको छ । किसानले घरबाटै अम्लिसो बेच्न पाउँछन् तर मूल्य घटेकोले यो खेतीमा किसानको आकर्षण छैन ।
लेटाङ बजारमा किसानको अम्लिसो खरिदका लागि तीनवटा खरिद केन्द्र रहेका छन् । २०४६ देखि खरिद गर्दै आउनुभएका लोकबहादुर लिम्बूले भन्नुभयो, गत वर्ष हाम्रो खरिद केन्द्रले एक करोड ५० लाख रुपियाँको अम्लिसो खरिद गरी भारत निर्यात गरेको थियो । अर्काे खरिद केन्द्रका सञ्चालक गोपाल बराकोटीले गत वर्ष ७५ लाख रुपियाँको अम्लिसो भारत निर्यात गरेको बताउनुभयो ।
नेपालबाट निर्यात हुने मुख्य नगदे बालीमा अम्लिसो पनि पर्दछ । व्यापार तथा निकासी प्रबद्र्धन केन्द्र, पूर्वाञ्चल क्षेत्रीय कार्यालय, विराटनगरका प्रमुख कृष्णप्रसाद रेग्मीका अनुसार गत आर्थिक वर्ष २०७३÷७४ मा पूर्वाञ्चलबाट २१ करोड ७४ लाख २८ हजार ९५१ रुपियाँ बरावरको एक लाख ३४ हजार सात सय क्विन्टल अम्लिसो भारत निर्यात भएको थियो । आव २०७२÷७३ मा १३ करोड ५२ लाख १२ हजार ४८९ रुपियाँ बराबरको एक लाख ३२ हजार तीन सय क्विन्टल अम्लिसो निर्यात भएको थियो ।
कार्यालय प्रमुख रेग्मीले भन्नुभयो, उत्पादन र निर्यातको अङ्कमा खासै फरक छैन तर मूल्य घट्दा निर्यात व्यापारमा असर परेको छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना