थरीथरीका बाबासँगै व्यवस्थापनको चटारो

सरोज आचार्य

काठमाडौँ, माघ २७ गते । महाशिवरात्रि पर्वलाई भरिभराउ बनाउन पशुपति क्षेत्रमा थरीथरी बाबाको आगमनसँगै तयारी पनि तीव्र रूपमा अगाडि बढेको छ । व्यवस्थापन पक्षलाई प्रभावकारी बनाउन सरोकार निकाय क्रियाशील छन् भने व्यवस्थापनको चटारो पनि बढ्न थालेको छ ।
महाशिवरात्रि पर्वका लागि गुठी संस्थानले ३१ लाख रुपियाँ विनियोजन गरेको छ । विजया एकादशीका दिन साँझदेखि नागालाई र द्वादशीदेखि अन्य सम्प्रदायका साधुलाई दिइने भोजन तथा दक्षिणासहितको बिदाइ खर्च यसैमा छ । गुठी संस्थानका उपप्रशासक दीपकबहादुर पाण्डेका अनुसार साविक परम्पराअनुसार नागालाई पेडा तथा अन्यलाई खिचडी भोजनको व्यवस्था गरिएको छ ।
कालमोचनघाटतर्फका साधुका लागि यसैबाट पाँच लाख रुपियाँ विनियोजन गरिएको छ । तीन हजारदेखि यसमा थप अन्य पाँच सय साधुका लागि यति खर्च तोकिएको भए पनि साधु योभन्दा बढेमा खर्च पुनः थप हुने पाण्डे बताउनुहुन्छ । पशुपति क्षेत्र विकास कोषले यसै पर्वका लागि ५२ लाख रुपियाँ छुट्याएको छ ।
आएका साधुलाई भोजन, साजसज्जा, अस्थायी निर्माण तथा बन्दोवस्तीको काम पनि यसै खर्चमा हुनेछ । पशुपति क्षेत्रका सबै मठ र जोगी अखडामा कोषले साधुसन्तको सेवामा भोजन चलाइसकेको छ र आएका साधुबाहेक अन्य सर्वसाधारणका लागि पनि श्रीनाथम् अखडाले भोजनको व्यवस्था गरिरहेको छ ।
गुठी संस्थान र कोषले संयुक्त रूपमा अखडामा अनुगमन गरिरहेको छ । उत्कृष्ट साधुका रूपमा यो पटक श्मसानघाटमा साधना गर्नुहुने डा. त्यागीनाथ अघोरीको आगमन भएको छ । उहाँ आर्यघाटस्थित श्मसानमा रहनुभएको छ । कोषका कार्यकारी निर्देशक रमेश उप्रेतीका अनुसार उत्कृष्ठ साधु अखडातिरै ध्यानमग्न रहनुहुने भएकाले सामान्यतः पहिचान गर्न निकै कठिन पर्छ ।
ठूला साधुको डँडाल्नु चढेर उफ्रने ओर्लने नाबालक बच्चे बाबा पनि यहाँ आकर्षणका रूपमा रहनुभएको छ । वास्तविक रूपमा उत्कृष्ठ साधुको पहिचान महाशिवरात्रिका दिन मात्र खुल्ने कार्यकारी निर्देशक रमेश उप्रेती बताउनुहुन्छ ।
महाशिवरात्रिमा पशुपतिनाथबाहेक विभिन्न कालखण्डमा प्रायश्चित गरी स्थापना गरिएका सबै शिवालयमा उत्तिकै अर्चना हुन सकोस् भन्ने व्यवस्था भएको पशुपति गुठी गोश्वाराका वरिष्ठ लेखा सहायक युवराज रेग्मी बताउनुहुन्छ ।
जीतजङ्गप्रकाशेश्वरमा श्रीराम लामिछानेको अगुवाइमा दाताको सहयोगमा भण्डारा चलाइएको छ । निःशुल्क भोजनको ठाउँठाउँमा भइरहेको व्यवस्थाले यस क्षेत्रमा खानपान गर्ने बेरोजगारको पनि भीडभाड रहन गएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना