युद्ध ः भगवान्ले दिएको उपहार ?

prem raj silwalप्रेमराज सिलवाल

सन् १९४५ (अगष्ट ६) को बिहानै दोस्रो विश्वयुद्धका क्रममा अमेरिकी सेनाको बम प्रहारबाट जापानको हिरोसिमा ध्वस्त बन्यो । ८० हजार निर्दाेष मान्छे मारिए भने लगत्तै अगष्ट ९ को ११ बजेर ०२ मिनेट जाँदा फेरि नागासाकीमा अर्काे शक्तिशाली प्रहारका कारण ४० हजार मान्छेले ज्यान गुमाए । युद्धका नाममा भएका यस्ता कहालीलाग्दा, अमानवीय र मानव समाजलाई नै समाप्त पार्ने घटना भए । विना कुनै अपराध निर्दाेष नागरिकको ज्यान गयो ।
सन् ६६० इसापूर्वदेखि जापानमा राजतन्त्रको विभिन्न रूप देखिन्छन् । यस्तो लामो राजतन्त्रको इतिहास भएको देशमा सबैभन्दा बढी लामो समय शासनको केन्द्रमा बस्ने सम्राट हिरोहितोको परोपकारी गुण जापानीहरूले भुल्दैनन् ।
जापान संकटको गर्भबाट निस्किएर आएको मुलुक हो । विश्वयुद्धका क्रममा बम प्रहार भए पनि मानव सभ्यातालाई जोगाउन सम्राट हिरोहितोले अगष्ट १४ मा एकतर्फी युद्धविरामको घोषणा गरेका थिए । त्यसपछि बनेको जापानको संविधानको धारा ९ मा उल्लेख गरे अनुसार तत्कालीन सम्राट हिरोहितोले निरन्तर अनाक्रमणको सैन्य नीतिलाई पालना गरेका थिए ।
जापानसँगै अर्थात् सन् १९५१ मा जहानियाँ राणा शासनको अन्त्य गरी प्रजातान्त्रिक प्रणालीमा प्रवेश गरेको नेपालमा विकास र समृद्धि हुन नसक्नुमा भौगोलिक कारण मात्र जिम्मेवार छैन, आन्तरिक राजनीतिक द्वन्द्व तथा अस्थिरता पनि कारक तìव रहन पुग्यो ।
आर्थिक प्रगतिको प्रारम्भिक अवस्था, व्यापक आर्थिक वृद्धिको अवस्था तथा कमजोर अवस्थाका अनुभवले पेलिएको इस्पात हो जापान । आर्थिक मन्दी र अप्ठेरो अवस्थामा पनि जनतालाई भ्रमित पार्ने, सस्तो लोकप्रियताको लागि सनसनीपूर्ण शीर्षक राख्ने, सरकारलाई एकोहोरो गाली गर्ने, वास्तविकता लुकाइदिने जस्ता मूर्खतापूर्ण कार्यमा यहाँका सञ्चार माध्यम कहिल्यै सहभागी भएनन् । जे जस्तो घटना वा क्रिया भएको हो त्यसको वास्तविकता जस्ताको तस्तै राखिदिए । सञ्चारमाध्यमको त्यो तरिकाले राज्यप्रतिको जनताको विश्वास थप बढ्न गयो र सरकारसँगै जनता मुलुक निर्माणको यात्रामा अहोरात्र खटिइरहे ।
राज्यलाई जनताले विश्वास गर्ने कुराले ठूलो अर्थ राख्ने रहेछ भन्ने उदारहण जापानबाट देख्न सकिन्छ । नेपालमा सन् १९९० को राजनीतिक परिवर्तन पछि व्यापक मात्रामा सञ्चार माध्यमको विकास भएको भए पनि जापानमा जस्तो जिम्मेवार संस्कृति र सस्कार बस्नै सकेन । भएका, नभएका आरोप लगाउनु, जहिल्यै गाली गर्नु, भ्रम छर्ने सूचना सम्प्रेषित गर्नु आम नेपाली मिडियाको संस्कार र नियति बन्न पुग्यो । यसले गर्दा जनताले राज्यलाई विश्वास गर्ने अवस्था बनेन र राज्यले लिएको नीतिप्रति जनता जहिल्यै उदासिन बन्न पुगे ।
जापानको संसद् (डायट) मा सन् १९५५ देखि सबैजसो निर्वाचनमा लिबरल डेमोक्रेटिक पार्टीले बहुमत पाएको देखिन्छ । परम्परागत मान्यतालाई महìव दिने उक्त पार्टीमा ठूला उद्योगी व्यवसायी, कर्मचारी र सेनामा रहेका मानिसहरूको समर्थन रहँदै आएको छ । सुशासन र सुरक्षासहितको आर्थिक विकासको नीति लिबरल डेमोक्रेटिक पार्टीले लिएको मुख्य नीति हो । लिबरल डेमोक्रेटिक पार्टीको त्रिपक्षीय शक्तिलाई नागरिकहरू ‘आइरन ट्रयाङ्गल’ भन्ने नामले सम्बोधन गर्ने गर्दछन् ।
जापानको झण्डालाई ‘हिनोमारु’ अर्थात् उदाउँदो सूर्य र राष्ट्रिय गान ‘किमिगायो’ अर्थात् राजाको क्षेत्रलाई राष्ट्रको संकेतको रूपमा लिइन्छ । सोही मान्यतामा बनेको प्रजातान्त्रिक संविधान लागू भइरहेको छ जस अनुसार डायटले आफ्नो क्षेत्राधिकार नाघेर राजालाई अपमान गर्न जाँदैन भने सम्राटले पनि संसद्, सरकार र नागरिक अधिकारमाथि कहिल्यै निरंकुशता लादेका छैनन् । राजा र राजसंस्थाको यस्तो उत्तरदायी र जिम्मेवार व्यवहारले जापानमा राजालाई ठूलो सम्मान मिल्दै आएको छ । राजा संविधानको दायाराभन्दा माथि जानु हुन्न र नागरिक अधिकारको सम्मान गर्नुपर्छ भन्ने कुरामा जापानको इतिहासमा लामो समय शासन गरेका सम्राट हिरोहितोको सधैँ विश्वास रहेको थियो ।
सन् १९५३ पछि सन् १९६० को अवधिसम्म कोरियाली युद्ध भयो । कोरियाली युद्धका कारण युद्ध सामग्री तथा अन्य वस्तुको माग यति धेरै भयो कि जापानको औद्योगिक उत्पादनले चौबिसै घण्टा मेसिन सञ्चालन गर्ने अवस्था आयो । त्यो युद्धबाट जापानी अर्थतन्त्र ह्वात्तै उकासियो । त्यसले अर्थतन्त्रमा रक्तसञ्चारको काम गरिदियो । तत्कालीन प्रधानमन्त्री सिगेरु योशिदाले कोरियाली युद्धलाई भगवान्ले दिएको उपहार भनेका थिए । सोही अवधिमा जापानमा उत्पादन र निर्माणका ठूलठूला कारखाना निर्माण भएका थिए । उद्योग स्थापनाको लागि सरकारले सहजता र सुविधा दिएको, ब्याज दरमा सहुलियत दिएको कारण तत्कालीन अवस्थामा अर्थतन्त्रले व्यापक गति लिएको थियो । टोयोटा, मित्सुबिसी, सोनी जस्ता ठूला कम्पनी मात्र होइन निर्माणमा आवश्यक पर्ने स्टील कारखानाको स्थापनाले त चमत्कार नै ल्याइदियो ।
सन् १९५५ देखि सन् १९७४ को अवधिमा जापानले आर्थिक क्षेत्रमा विकासको चरमचुली चुमेको थियो । सन् १९६० पछि प्रधानमन्त्री याहातो हायातो इकेदाले जनताको आय दोब्बर गर्ने वचन दिएका थिए । सस्ता र हलुका सामानको बदलामा महङ्गो, स्तरीय, उत्कृष्ट र टिकाउ सामानको उत्पादनमा जोड दिइएको थियो । युद्ध पछिको समयमा जापानले विकास, स्थिरता, सुरक्षा र राजनीतिलाई न्यूनतम जोखिम मोलेर अधिकतम फाइदा लिने नीतिबाट अघि बढ्यो । व्यापक मात्रामा रेल्वेको विस्तार, सूचना, शिक्षा र रोजगारीको क्षेत्रमा अत्यधिक वृद्धि गर्न सफल भएको थियो, युवाले रोजगारी पाउन सके ।
जापानमा स्वास्थ्यलाई बढी महìव दिइन्छ । मानिसहरूले सामान्य शुल्कमा नियमित स्वास्थ्य परीक्षण गर्न पाउने सुविधा सरकारले दिएको छ । यहाँको स्वास्थ्य सेवा विश्वकै उत्कृष्ट रहेको मानिन्छ । विश्व स्वास्थ्य संगठनको प्रतिवेदनले सोही कुरा उल्लेख गरेको पाइन्छ । सरकारको नीति अनुसार थप सुविधा दिनको लागि जापानमा आज पनि हजारौँ डाक्टरको माग रहेको छ । स्वास्थ्यको दृष्टिकोणबाट नेपालको तुलना गर्दा सरकारी स्वास्थ्य सेवा नाम मात्रको हुनु र निजी स्वास्थ्य संस्थाले ‘सर्वस्व सिध्याइदिने’ छुट पाउनु नेपालीको नियति नै भएको छ ।
जापान आर्थिक र प्राविधिक क्षेत्रका धेरै माथि रहेको भए पनि सामाजिक समाजमा समस्याबाट भने मुक्त रहन सकेको छैन । याकुजा समूहको हत्या, हिंसा, अपहरण, चन्दा असुली, ठूला ठेक्कामा चलखेलको जालो च्यात्नुपर्ने अवस्था रहेको छ । युवा बेरोजगारी, यौन हिंसा, वेश्यावृत्ति, लागू औषध जस्ता समस्या जापानी समाजमा निकै व्याप्त छन् । अर्काेतर्फ बुद्धधर्मको एउटा मान्यता अनुसार पुनर्जन्म हुन्छ भन्ने कुरामा बढी विश्वास भएर वा बढ्दो खर्च र भौतिक चाहना पूर्तिको इच्छा पूरा गर्न नसकेको आदि कारणबाट आत्महत्याका दर वर्तमानमा बढी रहेको छ । जापानमा आत्महत्या गर्नेको दर प्रतिहजार २६ जना रहेको छ जबकि बेलायतमा त्यो दर ९ जना रहेको देखिएको छ । आत्महत्याको दर बढी हुनु जापानी समाजको लागि डरलाग्दो सामाजिक समस्या भएको छ ।
जापानी नागरिकहरूले युद्धका क्रममा, भूकम्पका क्रममा र भूकम्पबाट आएका सुनामीका क्रममा लाखौंले अकालमैै ज्यान गुमाएका थिए तापनि बाँचेका नागरिक निराश भएनन्, हिम्मत हारेनन् । बरु आफ्ना हातहरूलाई इस्पात जस्तै तिखार्दै लगे । जापानीहरूले शान्ति, विकास, समृद्धि, उन्नति, प्रगति, नवीन सोच, विज्ञान र प्रविधिको तीव्र विकास, औद्योगिक उत्पादनमा व्यापक वृद्धि गर्दै गए । यसैगरी विश्वमा उच्च खालको छवि तथा विश्वको राजनीतिक सामाजिक दृष्टिकोण र चिन्तनलाई बदल्न सक्ने सन्देश विश्वमा फैल्याउन सफल भएका छन् ।
विश्वमै सबैभन्दा बढी भूकम्प जाने मुलुकको सूचीमा पर्ने जापानमा सन् २०११ को मार्च ११ मा फुकुसीमामा आएको भूकम्पको धक्काले १९ हजार मानिसको ज्यान लियो भने सन् १९९५ जनवरी १७ को दिन कोबे प्रान्तमा आएको भूकम्पको कारण छ हजार दुई सयको मृत्यु भएको थियो । यस्ता प्राकृतिक विपत्तिका घटनामा राज्यको तर्फबाट सेवा र उद्धारमा देखाएको चासोले जापानीहरूको राष्ट्रिय एकताको भावना थप बढ्न गएको देखिन्छ । विश्वमा बढी भूकम्प जाने मुुलुकमा पर्ने जापानले भूकम्पले क्षति नगर्ने प्रविधिका निर्माणमा जोड दिएका छन् ।
नेपालको इतिहासमा सन् १९९६ देखि सन् २००६ सम्म सञ्चालित सशस्त्र युद्धका क्रममा १४ हजारले ज्यान गुमाएका थिए, जुन नेपालको इतिहासमा भएको सबैभन्दा ठूलो घटना बन्न पुग्यो । तर पनि नेपालको आमूल राजनीतिक परिवर्तनको यात्रामा त्यसले एउटा आधार खडा गरिदिएको भए पनि विकास र समृद्धिको चाहनाको सम्बोधन भने हुनै सकेन । यस्तै नेपालमा सन् २०१५ मा आएको विनाशकारी भूकम्पका कारण नौँ हजार मानिसको मृत्यु भएको थियो । त्यस क्रममा नेपालीमा राष्ट्रिय एकताको भावनामा वृद्धि भएको, सहयोगको भावनामा वृद्धि भएको र सरकारी पहलमा राहतका कार्य गरिएका थिए । तर त्यसपछिका दिनहरूमा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा सरकारको उदासिनता र लोसेपन देख्दा नागरिकहरूको सरकारप्रतिको विश्वास बढ्नै सकेन । उता जापानीहरूले भूकम्पको विपत्तिबाट ध्वस्त बनेका उनीहरूका संरचना निर्माणमा गरेको चमत्कारिक विकासको चर्चा सुन्दा र पढ्दा विश्वकै लागि अचम्म लाग्दो विषय भएको छ । विकास निर्माणमा चमत्कारिक परिवर्तन गरी विश्वमा उदाएको जापानबाट नेपालले धेरै विषय र पक्षमा शिक्षा लिन सक्छ र लिनुपर्छ ।

 

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना