एकता अभियानमा रुमलिएको राजनीति

Luckyलक्की चौधरी

 

अहिले वाम गठबन्धनमा आबद्ध प्रमुख दुई कम्युनिष्ट दल नेकपा (एमाले) र माओवादी केन्द्रको एकताको विषय नेपाली राजनीतिक वृत्तमा चर्चाको विषय छ । २०७४ असोज १७ गते छ–बुँदे सहमति गरी एकता प्रक्रियाको औपचारिक शुभारम्भ गरेका यी दुई दल अहिले एकताकै अभ्यासमै छन् । यी दुई दल एकता प्रक्रियाको मेलोमा रहँदा विरोधी शक्तिहरू मिल्न नदिने अनेक हतकण्डा अपनाएको नेताको भनाइ रहँदै आएको छ । चुनावी तालमेलसँगै पार्टी एकता गर्ने अभियानमा जुटेका दुई दलका नेताहरूले एकताको अन्तिम कसरतमा रहेको तर्क गर्ने गरे पनि परिणाममा त्यस्तो अनुभूति कार्यकर्तालाई हुन सकेको छैन । चुनावी अभियानकै क्रममा प्रदेश तथा प्रतिनिधिसभाको पहिलो चरणको निर्वाचन अघि नै मङ्सिर ९ गते पार्टी एकताको घोषणा हुने हल्लाले सामाजिक सञ्जालमा व्यापक स्थान पाएको थियो । त्यसको दुवै दलका अध्यक्षले खण्डन गर्नुप¥यो । निर्वाचन ताका परिणाम भाँड्ने सुनियोजित षडयन्त्रको संज्ञा दुवै अध्यक्षले दिए । सोपछि हल्ला सामसुम भयो । अहिले पुनः वाम एकताको विषयमा अनेक टिप्पणी र जिज्ञासा उठ्ने गरेका छन् । पार्टीका कार्यकर्ता तथा शुभेच्छुकले जिज्ञासा गरिरहेका छन्, ‘दाइँ होला त वाम एकताको घान ?’ एकताका लागि घान हालिएको छ । त्यसको दाइँ गरेर परिणाम निकाल्न बाँकी रहेका बेला यस्ता जिज्ञासा उठ्नु अस्वाभाविक होइन ।
छ–बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको चार महिना पूरा भएको छ । पार्टी एकता गर्ने एजेण्डा लिएर निर्वाचनमा होमिएका यी दुई दललाई मतदाताले सोही अनुरूपको म्यान्डेट दिएर पठाए । एकता हुन्छ भन्ने विश्वास र चाहनाका साथ मतदाताले सो एजेण्डाको औपचारिक अनुमोदन गरिदिए । पार्टी एकताले मुलुकको आर्थिक समृद्धि र विकास हुन्छ भन्ने विश्वास जनमानसमा भयो । त्यसैको परिणाम आज वाम गठबन्धन उत्साहजनक बहुमतका साथ सरकार बनाउने तयारीमा छ । भोलि एकता प्रक्रियामा दरार परेन भने अबको पाँच वर्षसम्म यिनकै सरकार चल्नेछ । पाँचवर्षे स्थिर सरकार बनाउन पाए मुलुकको आर्थिक अनुहार फेर्न सकिने प्रतिबद्धता दुवै दलका अध्यक्षले चुनावी अभियानमा गरेका थिए । मतदाताले जस्ताको तस्तै (मागेअनुरूप) जनमत दिए । अब गरेर देखाउने पालो दुवै दलका अध्यक्षको हो । ‘पार्टी एक गरेर हुन्छ कि कार्यगत एकता वा सहकार्य के गरेर
हुन्छ ?’ पालो केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को हो । गरेर देखाउन सके पाँच वर्षपछि हुने अर्को निर्वाचनमा पुनः मतदाताले हौसिएर ‘वान्स मोर’ (एक पल्ट फेरि) भन्दै मतपत्रमा लाहाछाप लगाउन तम्तयार होलान् । नभए फेरि जस्ताको तस्तै परिणााम उल्टाउने छन् ।
दार्शनिक प्लेटोले भनेका छन्, ‘मान्छेले सफलता पाउन सबैभन्दा पहिले आफैँलाई जित्न सक्नुपर्छ । ’ वाम एकतामा सफलता प्राप्त गर्न अध्यक्षद्वय ओली र प्रचण्डले आफैँलाई जितेर एकता प्रक्रिया शुरु गरेको हो वा लहलहैमा ? यो निक्र्योल गर्ने काम उहाँहरूको हो । साँच्चिकै देशको आर्थिक समृद्धि र राजनीतिक स्थायित्व गर्न यो कदम चालिएको हो भने सफलता टाढा छैन । सस्तो लोकप्रियताका लागि वा व्यक्तिगत स्वार्थलाई केन्द्रमा राखेर चालिएको कदम हो भने स्थायित्व सम्भव हुँदैन । यसको निर्धारण समयले गर्ने नै छ । यद्यपि धेरै शङ्का गर्नुभन्दा अभियानले सफलता पावस् र मुलुकको आर्थिक समृद्धि छिटो होस् भन्ने सबै नेपालीको आमचाहना हो । बाहिरी रूपमा विरोध गर्नेले पनि आन्तरिक रूपमा त्यही चाहेका छन् । मात्र काम गरेर देखाउने पात्रको खाँचो छ । पात्र अहिले ओली र प्रचण्ड बन्नुभएको छ । प्लेटोले भनेका छन्, “मान्छे पूर्ण सफल हुन तीन चिजको आवश्यकता पर्छ– इच्छाशक्ति, भावना र ज्ञान । ” यी तीन चिज अध्यक्ष ओली र प्रचण्डले मनन गरेकै हुनुपर्छ । कसैको दबाबमा परेर पार्टी एकता गर्ने अभियान थालिएको पक्कै होइन होला ।
वाम शक्ति एक हुने क्रममा अनेक राजनीतिक तरङ्ग आउनु अस्वाभाविक होइन । राजनीतिमा आन्तरिक प्रतिस्पर्धा हुन्छ नै । अनेक तिकदम गरेर एकले अर्कालाई लडाउने, पछार्ने र आफू अगाडि जाने विश्वव्यापी राजनीतिक मान्यता हो । तर त्यो प्रतिस्पर्धा स्वच्छ र मर्यादित हुनुपर्छ । अनैतिक र अनुचित एवं स्वार्थ केन्द्रीत प्रतिस्पर्धाले मुलुकलाई फाइदा गर्दैन । जुन नेपाली राजनीतिमा अहिलेसम्म हुँदैआएको छ । देश बनाउने सपथ खाएकाले पनि आफू र आफ्नालाई केन्द्रमा राखेर काम गर्दै आएका छन् । त्यसले व्यक्ति त मोटाएको छ तर देश पातविनाको वृक्षझैँ भएको छ । मुलुकको व्याप्त भ्रष्टाचार र अनियमितता त्यसकै परिणाम हो । माथिल्लो ओहदामा बस्ने एउटै व्यक्तिले अर्बाैं अर्ब सरकारी रुपियाँमा अनियमित्ता गरेको घटना छन् । त्यसले परिवारवाद र आफन्तवादलाई हावी बनाइएको छ । सकेसम्म मिलेर लुट्ने नभए फुट्ने प्रवृत्तिको विकास गरेको छ । यस्तो प्रवृत्तिले न कहिल्यै नेपाल बन्छ न समाजलाई रूपान्तरित गर्न नै सक्छ ।
वाम एकताको मुख्य अन्तर्य अहिले दुई दलका अध्यक्षको व्यवस्थापनमा देखिएको छ । त्यसलाई अनावश्यक रूपमा निकै पेचिलो बनाइएको छ । देश बनाउने अभियान हो भने, पदलाई ठूलो विषय बनाइनु हुँदैन । दुवै अध्यक्षले एकले अर्कालाई विश्वास गरेर त्यसको व्यवस्थापन तत्काल गरिहाल्नुपर्छ । एउटाले देशको नेतृत्व गर्ने र अर्काले पार्टीको नेतृत्व गर्नु नै उत्तम विकल्प हो । पार्टी एकता पनि गर्ने अनि एकले अर्कालाई विश्वास नगर्ने हो भने भोलि एक भएको पार्टी कसरी टिक्ला ? जिज्ञासा उठ्छ । अरूको सुझाव सुन्ने, निर्णय आफूले लिने बोल्ड भूमिकामा दुवै अध्यक्ष अडिनै पर्छ ।
एमालेभित्र स्पष्ट अहिले दुई गुट छ । एउटा गुटको नेतृत्व अध्यक्ष ओलीले गर्नुभएको छ । अर्को गुटको नेतृत्व नेता माधवकुमार नेपालले । यही गुटका कारण पार्टी एक छ तर काम एक छैन । एउटाले काम गरे अर्कोले आशङ्काले हेर्ने प्रवृत्ति हावी छ । दुवै नेताका फेरो समातेर बसेका छन् पार्टीका अन्य पार्टीका नेता र कार्यकर्ता । सिङ्गो पार्टीमा आन्तरिक दुई धार छ । अर्थात् दुई लाइनले एक पार्टी ठडिएको छ । तर त्यो अवस्था माओवादी केन्द्रमा छैन । प्रचण्ड नै पार्टीका सर्वे सर्वा छन् । प्रचण्डले चाहे एकता हुन्छ, नभए हुँदैन । त्यसैले अब हुने पार्टी एकतामा प्रचण्डको व्यवस्थापन प्रमुख विषय हो । एमाले आफँैभित्र संशय छ । प्रचण्डलाई पार्टी अध्यक्षको कुर्सीमा बसाए भोलि उनले नेता नेपालसँग सहकार्य गरेर आफैँलाई पो समस्यामा पार्छन् कि भन्ने आशङ्का ओली लाइनका नेतालाई हुनसक्छ । अर्थात् पार्टी एक भएमा ओली र प्रचण्ड मिलेर नेपाल लाइनको गुट नै समाप्त पारिदिने पो हुन् कि भन्ने नेपाल लाइनका नेताको मनमा चिसो पस्नसक्छ । यी आशङ्का सबै आत्मकेन्द्रीत र स्वार्थ केन्द्रीत लाग्छन् ।
नेपाली कम्युनिष्ट दलको इतिहास धेरै लामो छैन । तथापि अनेक उतारचढाव आएको देखिन्छ । फुट्ने र जुट्ने प्रवृत्ति कम्युनिष्टको शुरु देखिकै हो । अहिले देशको परिस्थिति र अवस्था हिजोजस्तो छैन । फुट्ने र देशलाई भड्खालोमा पार्ने छुट अबका कम्युनिष्ट नेतालाई छैन । २००६ वैशाख १० गते स्थापना भएको कम्युनिष्ट दलको परिकल्पना पनि कम्युनिष्ट बीचको एकता नै थियो । अहिलेको वाम एकता पनि त्यही उद्देश्यबाट प्रेरित छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना