राष्ट्रिय सभा निर्वाचनको परिणाम राष्ट्रपतिलाई हस्तान्त्रण आयोगले प्रतिनिधि सभाको निर्वाचन परिणामसमेत फागुन पहिलो साता पेश गर्ने

Photo by President officeकाठमाडौं, माघ २९ गते । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनको परिणाम आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई हस्तान्त्रण गरेको छ । माघ २४ गते राष्ट्रिय सभाका लागि भएको निर्वाचनमा ५६ जना निर्वाचित हुनुभएको थियो ।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रमा राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश, २०७४ को दफा ५९ बमोजिम प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले राष्ट्रपतिसमक्ष प्रतिवेदन पेश गर्नुभएको हो ।
प्रतिवेदन ग्रहण गर्नुहुँदै राष्ट्रपति भण्डारीले निर्वाचन नै हुँदैन कि भन्ने अन्योलका बीच तोकिएकै समयमा स्थानीय तह, प्रदेश सभा, प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यको निर्वाचन स्वच्छ, स्वतन्त्र र विश्वसनीयरूपमा सम्पन्न गराउन सफल भएकोमा आयोग परिवारलाई धन्यवाद दिनुभएको थियो । राष्ट्रपति भण्डारीले राष्ट्रिय सभा सदस्यको निर्वाचनको परिणाम प्राप्त भएकाले अब संघीय संसद्को प्रक्रिया अगाडि बढाउन सहज हुने समेत स्पष्ट पार्नुभएको थियो ।
प्रमुख निर्वाचन आयुक्त डा. यादवले राष्ट्रपतिबाट प्राप्त निर्देशन र सहयोगबाट निर्वाचन सम्पन्न गराउन आयोगलाई ठूलो बल पुगेको धारणा राख्नुभएको थियो । उहाँले प्रतिनिधि सभाको निर्वाचन परिणामसमेत आयोगले फागुन पहिलो साताभित्रै राष्ट्रपतिसमक्ष पेश गर्ने गरी तयारी गरिरहेको जानकारी दिनुभयो ।
प्रमुख निर्वाचन आयुक्त यादवले २०७४ फागुन ७ गते मनाउन लागिएको ‘दोस्रो मतदाता दिवस’मा उपस्थितिका लागि राष्ट्रपतिलाई निमन्त्रणा समेत गर्नुभयो । कार्यक्रममा निर्वाचन आयुक्तहरू इला शर्मा, नरेन्द्र दाहाल, इश्वरीप्रसाद पौड्याल र सुधीरकुमार शाह तथा आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्याल सहभागी हुनुहुन्थ्यो ।
कुल ५९ सदस्यीय राष्ट्रिय सभामा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट एकजना महिलासहित तीन जना सदस्य मनोनीत गर्ने संवैधानिक व्यवस्था छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना