बजारमैत्री नीतिको पर्खाइमा सेयर बजार

sarojसरोज अधिकारी

 

नेपाली सेयर बजारमा देखिएको सुस्ततामा अझै कमी आउन सकेको छैन । बजार एक हजार चार सयको बिन्दुभन्दा तल आएपश्चात् बजारको बलियो टेवा एक हजार ३८० र अर्को टेवा एक हजार ३५० मानिँदै आएको सन्दर्भमा बजार सोमवार एक हजार ३८० बिन्दुमा आएर थामिएको छ । सेयर बजारलाई प्रभाव पार्ने राजनीतिक माहोल सकारात्मक भए पनि आगामी सरकारको नीति तथा कार्यक्रम बजारमैत्री हुन्छ वा के हुन्छ भन्ने कुरा हेर्न बाँकी नै रहँदा लगानीकर्ता नयाँ सरकार गठन र त्यसले ल्याउने आर्थिक नीतिको पर्खाइमा अझै रहेद्दको बुझिन्छ । बजारमा एकप्रकारको मन्दी कायमै छ । विगत डेढ वर्षदेखि बजारमा रौनक छैन । व्याजदर अझै उच्च मात्रामा रहनु र सेयरको आपूर्ति दिनानुदिन बढ्नुले बजारमा तत्काल माथि जाने सम्भावना अझै देखिँदैन । हाल दोस्रो बजारका लगानीकर्ता पर्ख र हेरकै अवस्थामा बसेको देखिन्छ । अब बन्ने सरकारको नेतृत्वमा रहने जिम्मेवार राजनीतिक व्यक्तित्वले आगामी सरकारले लिने आर्थिक नीति बजारमैत्री हुने आश्वासन दिएको अवस्थाले मात्र सेयर बजारमा रौनक ल्याउन सकेको छैन । राजनीतिक व्यक्तित्वको बोली र गराइ फरक हुने गर्छ । सेयर बजारका लगानीकर्ता भनेका खाँटी व्यापारी हुन् उनीहरू बजारमा अब के हुन्छ भन्ने भन्दा पनि सरकारले ल्याएको कुनै आर्थिक नीतिको कुन समूहको सेयरमा कस्तो प्रभाव पर्न सक्छ भन्ने कुरामा जोड दिइरहेका हुन्छन् । जुन स्वाभाविक हो । वाम गठनन्धनका अब बन्ने सरकारले लामो समयदेखि खस्किएको सेयर बजारलाई राहत हुने नीति ल्याउने पर्खाइमा लगानीकर्ता रहेको अवस्था हो अहिले । नेपाली सेयर बजार सुधारका लागि विगतमा गरिएका प्रतिबद्धताअनुरूप काम ठ्याक्कै हुन सकेको छैन । बैङ्क वित्तीय संस्थालाई ब्रोकर लाइसेन्स दिने विषयदेखि लिएर दलाल कम्पनी थप्ने, गैरआवसीय नेपालीको लगानी भिœयाउने, अनलाइन ट्रेडिङको सुरुवातजस्ता विषय कागज र कुरामा सीमित रहेको देखिन्छ । आश्वासन बाँड्ने काम प्रशस्त भएका छन् तर व्यक्तिगत र समूहको स्वार्थका कारण सेयर बजारलाई दीर्घकालीन असर पार्ने सुधारका कदम चाल्ने कार्यमा ठोस उपलब्धि हुन सकेको छैन ।
विगतको केही हप्तादेखि नै बजारमा दैनिक कारोबार ह्वात्तै घटेकाले सेयर बजारमा खासै रौनक देखिएको छैन । बजारमा दैनिक २५ देखि ३० करोडको कारोबार हुनुले बजारमा अझै ठूला लगानीकर्ताको प्रवेश भएको छैन भन्ने स्पष्ट सङ्केत देखिएको छ । नेपाली सेयर बजारमा वर्चस्व जमाउँदै आएको बैङ्क तथा वित्तीय संस्थामध्ये धेरैको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको प्रगति प्रतिवेदन सार्वजनिक भइसकेको छ । हालसम्म सार्वजनिक भएका प्रतिवेदनमा बैङ्क तथा वित्तीय संस्थाले निक्षेप बढाएको, कर्जा लगानी बढाएको तथा नाफामा सुधार ल्याएको र खराब कर्जा पनि कर्जा विस्तारको तुलनामा खासै नबढेकोजस्ता राम्रा प्रगति एक दुई संस्थालाई छोडेर अधिकांशले देखाएका छन् । तर, नेपाल राष्ट्र बैङ्कको निर्देशनमा जुन अनुपातमा चुक्ता पुँजी बढेको छ, सोहीअनुपातमा नाफामा बढोत्तरी हुन भने सकेको देखिँदैन जुन स्वाभाविक हो । चुक्ता पुँजीको अनुपातमा प्रतिसेयर आम्दानी खस्कँदा त्यसको मनोवैज्ञानिक असर लगानीकर्तामा परेको छ । लगानीकर्ता प्रतिसेयर आम्दानी हेरेर संस्थामा लगानी गर्न इच्छुक हुँदाको अवस्थामा भने चालु आर्थिक वर्षको अन्त्यसम्ममा प्रतिसेयर आम्दानी उच्च नदेखिनु र अबको प्रतिफलमा संस्थाले बोनस सेयर नदिने निश्चितझैँ बनेकाले दोस्रो बजारमा बैङ्क तथा वित्त कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण खासै छैन । हाल सेयर बजारमा सूचीकृत बीमा कम्पनीको चुक्ता पुँजी बढाउनुपर्ने दबाब रहेकै बेला नयाँ बीमा कम्पनीको प्राथमिक सेयर बजारमा आउने अवस्थाले सो समूहको सेयरमा पनि लगानीकर्ता तानिन सकेको देखिँदैन । नेपाली सेयर बजारमा राम्रो हिस्सा ओगट्न सफल अर्को समूह जलविद्युत् कम्पनीको सेयरमा पनि हाल सञ्चालनमा रहेका र सेयर बजारमा सूचीकृत भएका कम्पनीको बजार मूल्यमा आएको ह्रास र आगामी दिनमा माथिल्लो तामाकोसी, रसुवागढी र सान्जेनजस्ता ठूला जलविद्युत् आयोजनाको सेयर कर्मचारी, स्थानीय र सर्वसाधारणका लागि आउने तयारीमा रहेकाले पनि दास्रो बजारमा लगानीकर्ताको आकर्षण अझै केही समय कम हुने स्वाभाविक नै हो । अबका दिनमा साधारण सेयरमा आवदेन सी–आस्वा तथा अस्वा प्रणालीबाट नै हुने भएकाले भने आवेदन दिएको रकम विगतमा जस्तो लामो समयसम्म रोकिनेजस्तो समस्या भने नरहने भएकाले नयाँ सरकार गठनसँगै बजार माथि जाने आशा धेरै विज्ञहरूले गरेका छन् ।
अमेरिका, भारतलगायत विश्वका धेरै सेयर बजारमा ठूलो गिरावट आइरहेको सन्दर्भमा नेपालमा पनि सेयर बजारमा खासै उत्साह छाउन सकेको छैन । तर, विश्वको सेयर बजार नेपालको सेयर बजारको सम्बन्ध खासै ठूलो मात्रामा नरहेको सन्दर्भमा आगामी सरकारको आगमनसँगै सो सरकारले लिने आर्थिक नीतिको पर्खाइमा बजार छ । नयाँ सरकारले लिने आर्थिक नीतिले विकास निर्माणकार्यले गति लिने र त्यसले बजारमा पर्याप्त मात्रामा लगानीयोग्य रकमको उपलब्धता हुने वातावरणको पर्खाइमा नेपाली सेयर बजार रहेको देखिन्छ । सेयर बजारसँग सधैँ प्रत्यक्ष सम्बन्ध रहने व्याजदरमा कमी नआएसम्म बजार माथि जान निकै गाह्रो देखिन्छ । नयाँ सरकारले लिने आर्थिक नीतिले व्याजदरमा कमी ल्याउन पनि सघाउन पुग्दाको अवस्थामा भने सस्तो व्याजदरको ऋणबाट सेयर बजारमा लगानी गर्न सम्भव हुने अवस्थाको सिर्जनाले भने बजारलाई उकालो लगाउन सघाउ पुग्न सक्छ । सेयर बजारमा लगानी गर्ने भनेको नै जोखिम मोलेर कमाउने हो । बैङ्कमा मुद्दती खाता खोलेर निश्चित रकम व्याज हासिल गर्ने कि बजारमा जोखिम मोलेर राम्रो सम्भावना बोकेका कम्पनी खरिद गरी मनग्य कमाउने भन्ने विषय नै अहिलेका लागि महŒवपूर्ण कुरा हो । मुद्दतीमा १२ प्रतिशतसम्मको व्याजदर पाइने तर बजारमा भएको लगानीको रकम अझै घटन सक्ने वर्तमान अवस्था कायमै छ । विगत लामो समयदेखि बजार घटेका यस्तै बेलामा राम्रो कम्पनी चयन गरेर लामो समयका लागि लगानी गर्नेले भने भविष्यमा निकै राम्रो कमाइ गर्न सक्ने अवसर प्राप्त भएको छ । बजार घटेका बेला नै जोखिम मोल्ने हो । अहिलेको बजार लगानीकर्ताका लागि राम्रो अवसर पनि हो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना