छुर्पी व्यवसायबाट राम्रो आम्दानी

अर्घाखाँची, फागुन २ गते । अर्घाखाँचीका कृषकको छुर्पी व्यवसाय आम्दानीको राम्रो स्रोत बन्न थालेको छ । अर्घाखाँचीको पाणिनी गाउँपालिका ४ पटौटी निगालीका कृषकले यो व्यवसायबाट राम्रो आम्दानी गर्न सफल भएका छन् । ‘छुर्पी खाऔंँ सुर्ती हटाऔँ’ भन्ने नाराका साथ सञ्चालनमा आएको निगाली छुर्पी उद्योगमा गाउँभरमा उत्पादन हुने गाई र भैँसीको दूध सङ्कलन गरी छुर्पी, दही, पनिर, आइसक्रिम, कुराउनी, खुवालगायतका दुग्धजन्य परिकार बनाउँदा सानो निगाली बजार नै दुग्धमय हुन्छ । chhurpi

छिमेकी जिल्ला पाल्पाको सदरमुकाम तानसेनमा दूध बिक्री गर्ने निगाली दुग्ध उत्पादक सहकारी संस्थाले अहिले गाउँमै छुर्पी सँगसँगै दुग्धजन्य पदार्थको उत्पादन सुरु गरेको छ । आफ्नै गाडी नहुँदा बर्खामा कहिले गाडी नपाइने, कहिले बाटोमा दूध पोखिनेलगायतका समस्या आएसँगै छुर्पी उद्योग खोलिएको सहकारीका सचिव तिलक गैरेले जानकारी दिनुभयो ।
प्रतिकेजी छुर्पी ७५०, पनिर पाँच सय, घिउ छ सय र आइसक्रिम प्रतिसोली २० रुपियाँमा बिक्री गरिँदै आएको र गाउँमा भए पनि दुग्धजन्य पदार्थको उत्पादनले घाटा नरहेको गैरेले बताउनुभयो । दूध उमाल्ने, फटाउने, छान्ने, मेसिनमा पेल्ने, क्रिम काट्ने, आगोमा सुकाउने, काटेर टुक्रा पार्नेलगायत काममा उद्योगले केहीलाई रोजगारी पनि दिएको छ ।
नौ वर्षअघि १३ लिटर दूधबाट सुरु भएको डेरीमा अहिले साढे चार सय दूध उत्पादन हुन्छ, स्थानीय व्यक्तिले नै ६० लिटर दूध लैजान्छन्, अन्य दुग्धजन्य पदार्थ बनाउन दूध प्रयोग गर्दै आएको छ ।
दुग्धजन्य पदार्थ बनाउन सहकारीसँग एक हजार लिटरको चिलिम भ्याट, १६ वटा क्यान र २ वटा सेन्टिफ्युज रहेका छन् । डेरी सञ्चालन गर्न जिल्ला पशुसेवा कार्यालय अर्घाखाँची, जिल्ला विकास समिति र साविकको पटौटी गाविसले आर्थिक सहयोग गरेको सहकारीका अध्यक्ष यमलाल पाण्डेले बताउनुभयो ।
सहकारीले कृषकबाट उत्पादित दूध गाईको औसतमा ४० देखि ५० र भैँसीको ५० देखि ७५ रुपियाँसम्म पर्ने कोषाध्यक्ष शिवलाल घिमिरेले भन्नुभयो । पटौटीको मात्र होइन पाणिनी ६ धातिवाङमा उत्पादन भएको दूध पनि खपत गरेका छौँ, छुर्पी तथा दुग्धजन्य पदार्थ बुटवल, चितवन र पोखरा बिक्रीका लागि पठाएको सचिव गैरेले बताउनुभयो ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना