प्राचीन मिथिला प्रदेश र यसको संस्कृति

ramnarayan devरामनारायण देव

प्राचीन मिथिलाको ऐतिहासिक पृष्ठभूमिको खोज अनुसन्धान गर्दा हामी सिन्धुघाँटीको सभ्यतातिर नै ध्यान पु¥याउनु आवश्यक हुन्छ । आर्य जातिहरू सर्वप्रथम सिन्धुघाँटीमा आएर आर्य सभ्यता र संस्कृतिको विकास गरेको देखिन्छ । सिन्धुघाँटीको उपत्यकामा आएर सरस्वतीको नदीको किनारमा आर्यहरू ऋगवेदको रचना गरेका थिए । ऋग्वेद आर्यहरूको आदि ग्रन्थको रूपमा रचना भएको थियो । यसका रचनाकार सबै ऋषि मुनिहरू थिए । जसमा मिथिलाका यज्ञवल्कय ऋषि प्रमुख रचनाकारको रूपमा प्रसिद्ध थिए ।
सिन्धुघाँटीबाट आर्यगणहरू आप्रावसन भई मिथिला, अयोध्या, मथुरा, वृन्दावन, वाराणसी इत्यादि स्थानमा गए । पछि राजा मनुले यस क्षेत्रको नाम आर्यावत्र्त राखे । मनुस्मृतिको अध्याय–२ तथा श्लोक–२१ मा यसरी भनिएको छ । ‘‘हिम बद्धिन्ध्ययोर्मध्ये यत्याग्विन शनादपि, प्रत्यगेव प्रयागाच्च मध्यदेश, प्रकीर्तित” अर्थात् हिमालय तथा विन्ध्याचलको मध्य पञ्जावदेखि पूर्व र प्रयाग
(इलाहावाद) देखि पश्चिमको भूभागलाई मध्यदेश मनुले नामकरण गरे । जोकि पछि मध्यदेशको अपभ्रंश भई मधेशको नामबाट प्रसिद्ध भयो । कालान्तरमा त दक्षिणका सम्पूर्ण समथल भूमिलाई मधेश भन्न थाल्यो । त्यसभित्र नेपालका तराई र भारतको मैदानी भाग पनि मधेश नै भए ।
विशाल आर्यावत्र्त कै एक अङ्गको रूपमा मिथिला रहेको छ । जतिबेला यस भूभागमा कुनै राष्ट्रिय राज्यको स्थापना भएको थिएन, त्यति बेलादेखि नै मिथिला राज्यको अस्तित्व रहेको थियो । मिथिला राज्यको प्राचीन सीमा वारे बृहद् विष्णु पुराणमा यसरी उल्लेख गरिएको छ–
गंगाहिमवतोर्मध्ये नदी पंत दशान्तरे ।
तेरै भुक्तिरिती ख्यातो देशः परम पावन । ।
कौशिकीन्तु समारभ्य गण्डकी मघिगम्य वै ।
योजनादि चर्तुर्विशत् व्यायमः परिकीत्र्तितः।।
गंगा प्रवाहमारभ्य यावद्धैमवतं वनम् ।
विस्तारः षोडषः प्रोक्तो देशस्य कुलनन्दन । ।
मिथिला नाम नगरी नामस्ते लोकविश्रुत ।
पंचभिः कारणै पुण्या विख्याता जगतीत्रये । ।
यत्ता केही वर्षदेखि नेपालमा संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माण भएपछि मुलुक सङ्घीय राज्य÷प्रदेशमा विभाजित भएको छ । खासगरी प्रदेश नं. २ मा मिथिलाको मुख्य भूभाग पर्न आउँछ । यस प्रदेशमा सप्तरीदेखि पर्सासम्मका जिल्ला समेटिएको छ । यसका अस्थायी राजधानी जनकपुर तोकिएको छ । हाल प्रदेशसभाको चुनाव सकिएपछि यस प्रदेशसभाको पहिलो बैठक पनि सम्पन्न भएको छ । प्रदेशसभाका विधाएकले विभिन्न भाषामा शपथग्रहण गरेका छन् । कोही मैथिली, भोजपुरी त कोही हिन्दी भाषामा शपथ लिएका छन् । यसरी विभिन्नता देखिएको छ ।
सर्वप्रथम हामीले के विचार गर्नुपर्छ कि सप्तरीदेखि पर्सासम्मको भूभाग मिथिला नै हो । जबकि पर्सादेखि पश्चिमको नारायणी (गण्डकी) सम्म र पूर्वमा मेची पारी प्राचीनसम्म मिथिलाको सिमाना रहेको छ । अर्थात् मेची (झापा) देखि नारायणी चितवनसम्मको भूभाग मिथिला हो । हुन त झापादेखि चितवनसम्म धेरै भाषा छन् । राजवंशी, मैथिली, भोजपुरी यसै क्षेत्रको मुख्य भाषा छन् । तर, पहाडबाट झरेका हजारौँ नेपाली भाषीहरू पनि यस क्षेत्रमा बसोबास गर्छन् । जस्तै नेपाल राष्ट्रमा नेपाली भाषी मात्र नभएर अरू भाषाका लाखौँ भाषाभाषीहरू छन् ।
त्यस्तै मिथिला प्रदेशमा मैथिली, भोजपुरी दुई वटा भाषी छन् । भोजपुरी क्षेत्रमा खासगरी बारा, पर्सा जिल्ला पर्छ । त्यस्तो त रौतहटको पश्चिम भागमा भोजपुरी र मैथिलीको सम्मिश्रण भाषा रहेको छ । मिथिला (तिरहुत) को मध्यकालीन राजधानी सिमरौनगढ भोजपुरी क्षेत्र बारा जिल्लामा पर्छ । यहाँ स्मरणीय के छ भने मिथिलाको मध्यकालीन राजधानी सिमरौनगढलाई के मान्ने ? मिथिला भन्ने कि भोजपुरा ? भोजपुर जो बिहारको आरा जिल्लामा पर्छ । त्यही नामबाट भोजपुरी भाषाको नामकरण भएको हो । तर, प्रचीन मिथिलाको राजधानी जनकपुर नेपालमा पर्छ । जसको नामबाट मैथिली भाषाको नामकरण भएको हो । मैथिली शब्दको अर्थ माता जानकी सीता पनि हो । अर्थात् माता जानकीको मातुभाषा मैथिली हो । यसरी मिथिला र मैथिली विश्वका करोडौँ आर्य हिन्दुहरूको श्रद्धा र आस्थाको केन्द्र हो । यो समस्त नेपालीको पनि आस्थाको केन्द्र हो । धार्मिक र सांस्कृतिक दृष्टिले मिथिला पवित्र भूमि हो । जसको चर्चा वेद, शासत्र सबैमा उल्लेखित छ । त्यसैले यस प्रदेशको नामकरण मिथिला भएमा समस्त नेपालीका लागि गौरवको विषय त हुँदै हो साथै दुई नं. प्रदेशका लागि त झन् गौरव र आत्मसम्मानको कुरा हो । मिथिला विश्वमा प्रसिद्ध छ ।
सनातन हिन्दु धर्मालम्बीका लागि त सर्वाधिक रूपमा भगवान् पुरुषोत्तम रामचन्द्र तथा जगत् जननी माता जानकी इष्ट देव नै हो । त्यस उसले पनि यस प्रदेशका भोजपुरी भाषीहरूले पनि विवाद नउठाई प्रदेशको नाम मिथिला र राजधानी जनकपुरलाई समर्थन गर्नु बेस नै हुन्छ । त्यसमा पनि मिथिला संस्कृति र भोजपुरी भाषीहरूको संस्कृति र रीतिरिवाज समिपता पनि छ । विगतमा माओवादी जनयुद्धले फुटाएको मिथिला र भोजपुराको विभाजनले तराई मधेशको शक्तिलाई कमजोर बनाइएको थियो । साथै क्षेत्रीय द्वेषलाई बढावा दिएको थियो । तसर्थ, यस्ता फुट र वैमनस्तालाई तिलाञ्जलि दिनु नै यस प्रदेशका बासिन्दाका लागि हितकर हुनेछ ।
जहाँसम्म यस प्रदेशको भाषाको सवाल छ निश्चिय नै मैथिली भाषीहरूको जनसङ्ख्या बढी नै छ । फेरि मैथिली एउटा समृद्ध भाषा हो, यस भाषामा साहित्यक सिर्जनाको परम्परा पनि पुरानो छ । सातौँ÷आठौँ शताब्दीदेखि नै मैथिली साहित्यको सिर्जना हुँदै आएको हो । मैथिली साहित्यमा महाकवि विद्यापतिजस्ता कविलाई समस्त भारोपालि भाषा परिवारका साहित्यमा उच्च स्थान छ । चौधो शताब्दीमा चण्डेश्वर ठाकुरद्वारा रचित मैथिली वर्णरत्नाकर पुस्तकलाई भारतवर्ष भरिका सबै भाषा र साहित्यमा प्रथम पुस्तक मानिएको छ । फेरि मैथिली भाषाको आफ्नो प्राचीनलिपि मिथिलाक्षर छ, जो अहिले आम प्रयोगमा छैन । अहिले मैथिली साहित्य देवनागरी लिपिलाई अँगाली सकेको छ ।
मैथिली र भोजपुरी भाषामा समानता पनि छ यसका शब्द, वाक्य क्रिया मिल्दाजुल्दा छन् । केही क्रियावाचक शब्द मात्र फरक छन् । एकले अर्काको भाषा सजिलैसित बुझ्छन् । त्यसैले मैथिली यस प्रदेशको सरकारी कामकाजको भाषा भएमा भोजपुरी भाषीहरूलाई कुनै अप्ठ्यारो मानिनुपर्ने अवस्था छैन । यदि अप्ठ्यारोपन महसुस भएमा बारा र पर्सा दुई भोजपुरी भाषी क्षेत्रमा दोस्रो भाषाको रूपमा मान्यता दिन सकिन्छ । तर, यसलाई राजनीतीकरण गर्नुहुँदैन । शासक वर्गहरूले जहिले पनि मैथिली र भोजपुरी भाषाभाषीलाई फुटाई राज गर्न चाहन्छ । यसलाई हेक्का राख्नु यस प्रदेशका जनताका लागि आवश्यक छ ।
यस क्षेत्रका जनताले प्रदेशको नामकरण र भाषामा अल्झनुभन्दा यसको विकास र समृद्धिमा ध्यान पु¥याउनुपर्छ । यस प्रदेशको आयस्रोतले मात्र प्रदेश सञ्चालन गर्न चुनौतीपूर्ण छ । आन्तरिक राजस्व र भन्सारले यो प्रदेशलाई धान्न सकिँदैन । त्यसमा पनि केन्द्र सरकारको मातहतमा रहेका राजस्व एकाधिकारलाई तोड्न आवश्यक छ । नेपालको सबैभन्दा ठूलो भन्सार कार्यालय वीरगञ्जमै छ । जो कि यस प्रदेशको सबैभन्दा ठूलो औद्योगिक तथा व्यापारिक नगर हो । वीरगञ्ज भन्सारले मुलुकको राजस्वमा ठूलो हिस्सा ओगटेको छ । यदि यसको ५०% स्थानीय प्रदेशमा लगाउन सकियो भने ठूलो राहत पाउँछ ।
त्यस्तै जलस्रोतको दृष्टिकोणले कोशी, कमला, बागमतीजस्ता नदी छन् तर यसको उचित व्यवस्थापन गरी यसबाट फाइदा लिनका लागि पनि केन्द्र सरकारमाथि नै निर्भर हुनुपर्छ । त्यसै गरी वनजङ्गल पनि सीमित छ, जुन कि अन्य प्रदेशभन्दा धेरै कम छ । यसको पनि सीमित स्रोत छ । यसरी जल, जङ्गल र जमिनजस्ता प्राकृतिक स्रोतको सीमितताले यस प्रदेशको विकास र समृद्धिको बाधक रहेको छ । यसतर्फ यस प्रदेशवासीहरूको ध्यान जानु आवश्यक छ । शासकहरूले यस प्रदेशको संरचनामा ठूलो षड्यन्त्र गरिएको छ । मधेशी बहुल आठ जिल्लालाई काटेर दुई नं. प्रदेश बनाउनुको पछाडि यसमा मधेश आन्दोलनको पृष्ठभूमिले पनि काम गरेको छ । राष्ट्रिय पार्टीका केही नेताको पूर्वाग्रहले गर्दा यी आन्दोलनकारी आठ जिल्लालाई एकल्याइएको छ । जसको परिणाम यो प्रदेशवासीले निकट भविष्यमा भोगिनेछ ।
मधेशवादी नेताहरूको कमजोरी र थकित मानसिकताले गर्दा आठ जिल्लाको प्रदेशमा चित्त बुझाउनु परेको छ, जबकि मधेश आनदोलन ताका एक मधेश र एक प्रदेशको नारा लगाइएको थियो । पछि दुई प्रदेशको नारा लगाइयो । तर, राज्यले पटक–पटक धोखा दियो र अन्त्यमा मधेशका आठ जिल्ला मात्र दिएर पन्छाएका थिए । यसरी प्रदेश दुईका नेताहरूको कमीकमजोरीले गर्दा आजको परिस्थितिको सिर्जना भएको छ । जे जस्तो भए पनि प्राप्त उपलब्धिलाई उपयोग गरी भविष्यका लागि चिन्तन मनन गर्नु आवश्यक छ । तसर्थ, यस प्रदेशको समृद्धिका लागि स–साना कुरामा नअल्झी अघि बढनुपर्छ । राजधानी र भाषालाई इस्यु बनाएर नयाँ प्रदेशको विकास र निर्माणमा बाधक नबनौँ ।
यस प्रदेशवासीले केन्द्रीय राज्यसत्तासित अझ धेरै लडाइँ लड्नु छ । आपसमा झगडा गरेर प्राप्त उपलब्धिलाई गुमाउनु भनेको मधेशका शहीदहरूको अपमान गर्नु हो । मधेशविरोधी तŒवलाई फाइदा पुग्ने काम नहोस् भनी सजग हुनु आवश्यक छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds