पार्टी एकता र वाम गठबन्धनको सरकार

shib kumar bhattaraiशिवकुमार भट्टराई

 

लामो अन्योल र सङ्क्रमण अन्त्य गर्दै बिहीवार देशले नयाँ प्रधानमन्त्री पाएको छ । नेकपा एमाले अध्यक्ष के.पी. ओली शर्मा मुलुकको ४१ औँ प्रधानमन्त्री बन्नुभएको छ । प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएको झण्डै अढाई महिनापछि मुलुकले नयाँ प्रधानमन्त्री पाएको हो । यससँगै अब पाँच वर्षका लागि देशमा वाम गठबन्धनको सरकार बनेको छ । समृद्धि र स्थिरताको नारासहित गठबन्धनले प्रदेश र प्रतिनिधिसभा चुनावमा प्रचण्ड बहुमत पाएको छ । सातमध्ये छ वटा प्रदेशमा वाम गठबन्धनको सरकार बनेको छ । प्रदेश २ मा भने मधेशकेन्द्रित दलको सरकार निर्माण भएको छ । नेकपा एमाले अध्यक्ष ओली नेतृत्वमा नेकपा माओवादी सहभागी सरकार बनेको छ । यी दुवै दल एकीकरण प्रक्रियामा पनि अघि बढिसकेका छन् । अनौपचारिक रूपमा आएको जानकारीअनुसार ओली र पुष्पकमल दाहालबीच सत्ता सञ्चालनमा आधा–आधाको भागबण्डा भएको छ । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा तीनवटै चरणको निर्वाचन गरी सत्ता हस्तान्तरण गर्न सक्षम हुनुभएको छ । संवैधानिक जटिलता र कानुनी अड्चनले गर्दा राजनीतिले निकास पाउन यतिका समय लागेको हो । निर्वाचन परिणामले मुलुककै पहिलो शक्तिका रूपमा रहेको पुरानो दल नेपाली काँग्रेस दोस्रो ठूलो दलमा समेटिएको छ । स्वाभाविक रूपमा अबको पाँच वर्ष काँग्रेस प्रतिपक्षी भूमिकामा रहने जनमत छ । अब भने हारको कारण खोतल्न नेतृत्वलाई फुर्सद मिलेको छ ।
गएको चुनाव नेपाली काँग्रेसको लागि इतिहासमै सर्वाधिक लज्जास्पद साबित भयो । २०१५ सालमा होस् या ०४८ को चुनावमा, नेपाली काँग्रेस आजको जस्तो निरीह अवस्थामा थिएन । ०५१ सालको मध्यावधि चुनावमा समेत इज्जत जोगिएको थियो काँग्रेसको । ०६५ को पहिलो संविधानसभा निर्वाचनमा राम्रो नतिजा नआए पनि आजको जस्तो सर्मनाक हार चाहिँ भएको थिएन । खासगरी प्रत्यक्षतर्फको निर्वाचन परिणाम काँग्रेसका लागि कष्टप्रद साबित भएको छ ।
प्रतिपक्षको भूमिकामा पुगेको काँगे्रसले बडो गहनतापूर्वक आत्मसमीक्षा गर्नु आवश्यक
छ । नेपाली काँग्रेसको पछिल्लो पराजयका निम्ति एउटा व्यक्तिलाई भन्दा सम्पूर्ण नेतृत्व पङ्क्तिलाई दोषी मान्नुपर्ने हुन्छ । खासगरी गुटको राजनीति गर्नेहरूलाई यसको मुख्य जिम्मेवार ठह¥याउनुपर्छ । नेतृत्वलाई गुट देखाएर सौदाबाजी गर्नेको बोलवाला भएकैले पार्टी सबैको हुन सकेन । मतदाताले यो प्रवृत्तिलाई रुचाएको देखिएन । हरेक अवसर गुटको सिफारिसमा मात्रै प्राप्त हुने अवस्था निर्माण भएकाले शुद्ध काँग्रेसी अवसरबाट वञ्चित हुन थाले । त्यसैको प्रभाव मतदातामा समेत परेको हो तर यसबाट काँग्रेस आत्तिनुपर्ने अवस्था भने छैन । हिजोको अवस्थामा पुग्न मिहिनेत भने प्रशस्तै गर्नुपर्छ ।
चुनाव हार्नुको कारण खोज्न युवा पुस्तालाई जिम्मेवारी दिन तयार हुनुपर्छ नेताहरू । अहिले चुनाव जित्ने वाम शक्तिसँग भोलि पनि प्रतिस्पर्धा गर्न सक्ने ल्याकत हुनुपर्छ । जनताको अभिमत लिएर आएको शक्तिलाई परास्त गर्न आफू जनताको प्यारो हुन सक्नैपर्छ । गएको चुनावमा विपक्षीले अपनाएजस्तो रणनीति काँग्रेसले बनाउन सक्नुपर्छ । यसका लागि युवा पुस्तालाई नेतृत्व तहमा लैजाने अवस्था तयार गर्नु आवश्यक छ । बूढा पुस्ता सल्लाहकारको भूमिकामा बसेर कार्यकारी भूमिकामा युवा शक्तिलाई नै राख्नु जरुरी छ तर काँग्रेस नेताहरूबाट यति ठूलो त्यागको अपेक्षा गर्र्न गाह्रै छ । आजका मतदाता खासगरी युवा जमातको विश्वास आर्जन गर्न नसक्दासम्म काँग्रेसको सत्तामा पुनरागमन सम्भव देखिँदैन ।
यसका साथै काँग्रेसले मान्नैपर्छ, उसको सङ्गठन ज्यादै कमजोर छ । मास बेस्ड पार्टीका रूपमा रहेको काँग्रेस वामजस्तो क्याडर बेस्ड छैन । त्यही मासलाई पनि आफ्ना राम्रा कामबारे जानकारी गराउन नसक्दा यसपटक भोट आएन । नेताहरू सङ्गठन बलियो बनाउनेभन्दा आफ्नो गुट बलियो तुल्याउन मात्रै सक्रिय हँुदा सङ्गठन कमजोर बन्न पुगेको हो । वामको जस्तो चुस्त र अनुशासित सङ्गठन बनाएसम्म भोलि पनि काँग्रेसलाई सहज छैन । गएको चुनावमा चुस्त र अनुशासित दुईवटा वाम पार्टीबीच चुनावी तालमेल हुने निर्णयले आममतदातामा स्थिरता र समृद्धिको आशा पलायो । त्यसलाई चिर्न काँग्रेसले कुनै पहल नै गरेन । दई वाम शक्ति एक ठाम आएपछि स्वाभाविक रूपमा मत जोड्दा पनि काँग्रेस हार्ने निश्चित थियो । बरु काँग्रेस नेताहरू भने एमाले मतदाताले माओवादीलाई मत नदिने र माओवादी समर्थकले पनि एमाले उम्मेदवारलाई भोट नदिने लख काटेर बसे । तर, अवस्था त्यस्तो
थिएन । पार्टी एकीकरणको नारासमेत सँगै रहेकाले वाम मतदाता थप उत्साहित थिए । यसको अनुमान काँग्रेस नेतृत्वले गर्नै सकेन ।
उता गएको चुनावको सार्थक समीक्षा गर्ने हो काँग्रेस विभिन्न घटनामा नराम्ररी फसेको यथार्थ स्वीकार्न सक्नुपर्छ । यी विषयमा पार्टी नेतृत्वले इमानदार समीक्षा गर्नैपर्छ । यसैगरी चुनावमा राम्रा उम्मेदवार भन्दा हाम्रा उम्मेदवार बनाउने प्रवृत्ति फेरि दोहोरियो । जसले गर्दा पराजय बेहोर्न बाध्य भएको अर्काे कारण थियो । मुखले भन्दा सबै नेता यो स्वीकार्छन् तर उम्मेदवार छान्दा आफ्नो गुटकै मात्र हुनुपर्ने मनोदशाबाट माथि उठ्न कहिल्यै सकेनन् । यसैगरी अन्तर्घातको पुरानो रोग त त्यसै पनि निको हुने कुरो भएन । गएको चुनावमा पनि आधिकारिक उम्मेदवारलाई हराउने जमात खुला रूपमै देखिए तर तिनलाई कारबाही गर्ने छाँट देखिएन, जसले गर्दा पार्टीमा अराजकता मौलाएको हो । यी विषय र सन्दर्भमा पार्टीले गहनतापूर्वक कदम चाल्यो भने पाँच वर्षपछि काँग्रेसका लागि सत्ता टाढा छैन तर काँग्रेसमा कायापलट नै हुनुपर्छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना