मकैको घोगामा दाना लागेन

यादवराज पुरी

रौतहट, फागुन ७ गते । स्थानीय एग्रोभेटको विश्वासमा खरिद गरेको मकैको बीउ गुणस्तरहीन परेपछि जिल्लाको उत्तरी क्षेत्रका किसान मर्कामा परेका छन् । चन्द्रपुर नगरपालिका–३ गैंडाटारका तीन सयभन्दा बढी किसानले रोपेका ‘बन्नी’ एनएमएच ७१३ जातको हाइब्रिड (वर्णशंकर) मकैका घोगामा दाना नलागेपछि उनीहरू मर्कामा परेका हुन् ।
नेपाल सरकारले सिफारिस गरेको भारतको हैदरावादमा उत्पादित उक्त जातको मकै ९० दिनमा पाक्ने जनाइएको छ । कात्तिकको पहिलो सातामा रोपेको मकैको बोट र घोगा हेर्दा त निकै फल्छजस्तो लागेको थियो तर घोगा नङ्ग्याई हेर्दा दाना नै नभएको पाइयो भन्दै निराश बन्नु भएका किसान गोपाल फुयाँल यसको क्षतिपूर्ति कसले दिने भन्ने प्रश्न गर्नुहुन्छ । उहाँले दुई बिगा जमिनमा मकै खेति गर्नुभएको छ ।
यस्तै गैंडाटारका प्रेमबहादुर बस्नेत, मानकुमारी फुयाँल, सविना खुलाल, रोहिनी घोरासइनीलगायत करिब तीन सय जना किसानले उक्त जातको मकै लगाएका छन् । कसैको मकैमा पनि दाना नलागेको उनीहरूको गुनासो छ । प्रतिकट्ठा कम्तीमा चार क्विण्डल मकै फल्ने उक्त क्षेत्रमा बीउकै कारण सैयौँ बिघा जमिनमा लगाएको मकै दानाविहीन भएको छ । अहिले मकैको खरिद दर प्रतिक्विन्टल दुई हजार रुपियाँ रहेको स्थानीय खाद्यान्न व्यापारी सुनिलकुमार साह बताउनुहुन्छ । dana lagena
“एग्रोभेटले बीउको गलत प्रचार गरेर सोझासाझा किसानलाई ठगी गरेको छ । ६०० रुपियाँ प्रतिकिलोका दरले खरिद गरेको बीउ यस्तो होला भन्ने हामी किसानलाई के थाहा हुन्छ । ” किसान सविना खुलालको पीडा हो यो । ११ कट्ठा जमिनमा लगाएको मकैको कुनै घोगामा पनि दाना नलागेकाले कम्तीमा ४४ क्विन्टल मकै माया मार्नु परेको छ उहाँले । किसानले स्थानीय मंगलेश्वर, मैनाली एवं राहुल बीज भण्डारबाट बीउ खरिद गरेको बताएका छन् ।
मकैको दाना नलागेर चिन्ता र पीडामा रहेका गैंडाटार क्षेत्रका किसानले बीउ बिक्री गर्ने एग्रोभेट वा सिफारिस गर्ने सरकारमध्ये एकले क्षतिपूर्ति दिनुपर्ने माग राखेका छन् । नदिए कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् उनीहरूले ।
बीउ बिक्री गर्ने मंगलेश्वर एग्रोभेटका सञ्चालक योगबहादुर पन्तले तिहारअघि रोपेका उक्त जातको मकैको परागशेचन हुने बेलामा अधिक जाडो बढेका कारण दाना नलागेको तर्क गर्नुहुन्छ । तिहारपछि रोपेका बीउमा भने कुनै समस्या नदेखिएको उहाँ बताउनुहुन्छ । मकै उत्पादनको पकेट क्षेत्र मानिएको गैँडाटारमा यस वर्ष मकैमा देखिएको समस्याको कारण मकै लगाउने सबै किसान ऋणमा डुबेको वडा अध्यक्ष बोधनाथ देवकोटा बताउनुहुन्छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना