केसीद्वारा सर्वोच्चको तारेख बुझ्न अस्वीकार

नारायण काफ्ले

govinda-kc-1000x0काठमाडौँ, फागुन ९ गते । सर्वोच्च अदालतको प्रशासनसँग विवाद भएपछि प्रा.डा. गोविन्द केसीले आफूविरुद्धको अपहेलना मुद्दाको सुनुवाइको मिति (तारेख) बुझ्न अस्वीकार गर्नुभएको छ । मङ्गलबार सर्वोच्च पुग्नुभएका केसी र अदालत प्रशासनबीच मुद्दा सुनुवाइको तारेखमा सहमति नभएपछि पेशी बुझ्न अस्वीकार गर्नुभएको हो ।
केसीले अदालतले आफ्नो सहमति बिना अदालतले एकपक्षीय रुपमा तारेख लाद्न खोजेको आरोप समेत लगाउनु भएको छ । सर्वोच्च प्रशासनले भने मुद्दाका तारेख गुजारेमा कानुन बमोजिमको प्रक्रिया अगाडि बढ्ने जनाएको छ ।
अदालत प्रशासनसँग विवाद भएपछि प्रधानन्यायाधीश गोपाल पराजुली पदमा रहेसम्म निष्पक्ष न्याय सम्पादन नहुने भन्दै केसीले तारेख बुझ्न अस्वीकार गर्नुभएको हो । डा. केसीका सहयोगी डा. अभिषेकराज सिंहले अदालतले एकपक्षीय रुपमा तारेख दिन खोजेकाले तारेख नबुझेको बताउनुभयो ।
सिंहले भन्नुभयो ‘हामीलाई सर्वोच्च प्रशासनले अबको सात दिनभित्र सुनुवाइको मिति बुझ्न भन्यो । डा. केसीका कानुन व्यवसायीले तारेख द्विपक्षीय सहमतिमा तोक्नु पर्ने माग गरेपछि एक दिन पनि पछि सार्न नसकिने प्रशासनले जवाफ दियो । त्यसपछि डा. केसीले प्रधानन्यायाधीश पराजुली पदमा रहेसम्म निष्पक्ष न्याय नपाइने भन्दै तारेख बुझ्न अस्वीकार गर्नुभयो ।’
सर्वोच्चका प्रवक्ता नारायणप्रसाद पन्थीले म्याद गुजारेमा कानुनअनुसार प्रक्रिया अघि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘तोकिएको दिन कार्यालय समयभित्र म्याद लिनुपर्छ । नलिएमा आफ्नो प्रक्रिया अनुसार मुद्दा अघि बढ्छ ।’
यसरी भयो विवाद
मंगलबार डा. केसी आफ्ना कानुन व्यवसायीसँग अपहेलना मुद्दाको जवाफ दिन सर्वोच्च पुग्नुभएको थियो । नेशनल मेडिकल कलेजले विपक्षी बनाएको मुद्दामा जवाफ पेश गरेपछि केसी आफूविरुद्ध सर्वोच्च प्रशासनले चलाएको मुद्दाको म्याद बुझ्न बिहान करिव ११ बजे फाँटमा पुग्नुभएको थियो ।
फाँटका कर्मचारीले संवेदनशील मुद्दा भएकाले उच्च अधिकारीसँग छलफल गरेर तारेख तोक्नु पर्ने भन्दै पर्खाएका थिए । कर्मचारीले त्यसपछि मुख्य रजिस्ट्रार राजन भट्टराईसँग परामर्श गरेका थिए । भट्टराईले कर्मचारीलाई एक साताभित्र तारेख दिन निर्देशन दिनुभएको थियो ।
मुख्य रजिस्ट्रारको निर्देशनपछि डा. केसीले समय सार्न माग गर्दै आफ्ना कानुन व्यवसायी लिएर मुख्य रजिस्ट्रारलाई भेट्न पुग्नुभएको थियो । तर, भट्टराईले सात दिनभन्दा पछि तारेख दिन नमिल्ने अडान लिएपछि केसीका कानुन व्यवसायीले सहमतिमा मिति तोक्न आग्रह गरेका थिए ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना