धनी र गरिबबीचको खाडल

Ram prashad Acharyaरामप्रसाद आचार्य

सोमालियाको राजधानी मोगादिसुस्थित एक सरकारी प्रसूति केन्द्रमा हालै सामान्य प्रसूति सेवा र खान नपाएर एक सुत्केरी र नवजात शिशुको ज्यान गयो । त्यस घटनालाई सामान्य रूपमा लिइयो । कसैले पनि गम्भीरतापूर्वक लिएनन् । यस्ता घटना त्यहाँ दैनिक भइरहेका छन् । दैनिक सयौँ मानिस खान नपाएर मरिरहेका छन् । त्यही भएर यस्ता घटना त्यहाँका बासिन्दाका लागि सामान्य भइरहेका छन् । खान नपाएर मर्नु उनीहरूको नियति नै बनिरहेको छ । भोकमरीले हजारौँ मानिस मरिरहेका छन् र लाखौँ मानिस मृत्युको मुखमा छन् भन्ने कुरा त्यहाँको कामचलाउ सरकार, शक्तिशाली विद्रोही इस्लामिक लडाकु समूहलाई मात्र होइन, संयुक्त राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रिय दातृनिकायलार्ई राम्ररी थाहा छ तर सबै मूकदर्शक बनेका छन्, न्यूनतम मानवीय व्यवहार देखाउन सकेका छैनन्  । 
संयुक्त राष्ट्रसङ्घले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनअनुसार सोमालियामा भोकमरीबाट दुई लाख साठी हजार मानिसको ज्यान गएको छ भने छ लाख मानिस मृत्युको मुखमा छन् । तत्काल खाद्यान्न पु¥याउन नसके खान नपाएर धेरैजनाको मृत्यु हुने आशङ्का छ ।
अत्याधुनिक विज्ञानप्रविधि र भौतिक समृद्धिले मानव सभ्यता चरमोत्कर्षमा पुगेको भनिएको यो एक्काइसौँ शताब्दीमा खानै नपाएर दैनिक हजारौँको सङ्ख्यामा यसरी मानिस मर्नु र लाखौँ मानिसले मृत्यु पर्खनु लज्जास्पद घटना हो । प्रजातन्त्र, मानवअधिकार र शान्तिका कुरा गरेर नथाक्ने विश्वका नेताहरूले पूर्वी अफ्रिकाका अति गरिब यो द्वन्द्वग्रस्त गणतान्त्रिक सोमालियामा अनिकालले हजारौँ मानिस मर्दा र लाखौँ मानिस मृत्युको मुखमा पुग्दा पनि समयमै मानवीय उद्धारका लागि गम्भीर चासो नदेखाउँदा त्यहाँको अवस्था भयावह बनेको हो । तीन वर्षअघि नै संयुक्त राष्ट्रसङ्घले सोमालियाका आठमध्ये छवटा क्षेत्रलाई खडेरीग्रस्त क्षेत्र घोषणा गर्दै तत्काल मानवीय सहयोगका लागि विश्व नेताहरूको ध्यानाकर्षण गराएको थियो । तर, मङ्गल ग्रहमा बस्ती बसाल्ने भनी अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा खर्बौं डलर खर्च गरेका विश्वका ठूला नेताको ध्यान प्रतिद्वन्द्वी मुलुकमाथि हस्तक्षेप गरी प्राकृतिक स्रोत र साधनमाथि नियन्त्रण गर्न कठपुतली सरकार बनाउन र हतियार व्यापार गर्न केन्द्रित भएकाले मानवीय समस्या ओझेल प¥यो । यसले गर्दा द्वन्द्वपीडित सोमालियावासीले यस्तो नियति भोग्न परिरहेको छ ।
पूर्वी अफ्रिकाका सोमालियालगायत आधा दर्जन अफ्रिकी मुलुक चार दशकयता प्राकृतिक विपत्ति र गृहयुद्धका कारण चरम मानवीय सङ्कटमा परेको कुरा विश्व समुदायलाई राम्ररी थाहा छ । ती मुलुकमध्ये पनि साठी वर्षयताकै सबैभन्दा नराम्रो खडेरीको सामना गरिरहेको सोमालियाको अवस्था सबैभन्दा कारुणिक र पीडादायक छ । चरम अनिकालले खानै नपाएर लाखौँ सोमालियालीले ज्यान गुमाइसकेको छन् भने लाखाँैले मृत्यु पर्खेर बसेका छन् । एक्काइसौँ शताब्दीको उपलब्धि भनेर गर्व गर्ने विश्व समुदायका लागि यो सबैभन्दा लाजमर्दो घटना अरू के हुन सक्छ ? वास्तविकता के हो भने विश्वका नेताहरूले इच्छा राख्ने हो भने सोमालियालगायत पूर्वी अफ्रिकाका केही मुलुकले भोगिरहेको भोकमरी समस्या केही दिनमा समाधान हुन सक्छ । उनीहरूको इच्छाशक्तिलाई रोक्न सक्ने तागत अरूसँग अहिले छैन । हवाईस्थल र समुद्रीमार्ग प्रयोग गरी लाखौँ टन खाद्यान्न क्षणभरमा त्यहाँ खसाल्न, पु¥याउन सकिने अवस्था विद्यमान छ तर दुःखको कुरा ठूला नेताहरूले ओठेप्रतिबद्धता जनाए पनि त्यहाँ खाद्यान्न पठाइएन । फलस्वरूप भोकले छटपटाउँदै दिनहुँ हजारौँ बालबालिका, वृद्धवृद्धा ,असहाय, अशक्त त्यहाँ मरे र मरिरहेका छन् ।
दुःखको कुरा विज्ञान र प्रविधि साथै भौतिक विकासले विश्व चरमोत्कर्षमा पुगे पनि मानवीय र सामाजिक पक्ष कमजोर बन्दै गएकाले समृद्धसँगसँगै विनाशले पनि शिखर चढ्दै छ । एकातिर धनी मुलुकका मानिस धेरै खाँदाखाँदै अपच भएर मर्दै छन्, अर्कातिर गरिब मुलुकका मानिस मीठोमसिनो होइन, नमीठो खस्रो एकछाक आधापेट पनि खान पाएर मरिरहेका छन् । आजको वास्तविकता के हो भने धनी मुलुकहरू अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, जापानले त्यहाँका बासिन्दाका लागि होइन, त्यहाँ पालिने कुकुर र बिरालोका लागि गरिने खर्चको आधा अंशमात्र अनिकालग्रस्त मुलुकका भोकमरीपीडित मानिसका लागि खर्च गर्ने हो भने त्यहाँका कुनै पनि मानिस भोकले छटपटाएर मर्ने अवस्था आउँदैन ।
हालै गरिएको एक अध्ययन प्रतिवेदनका अनुसार केही धनी मुलुकमा मात्र कुकुर र बिरालोपालनका लागि अर्बौं डलर खर्च भइरहेको छ, जब कि विश्वका गरिब एक अर्ब बीस करोड मानिसले अहिले पनि पेटभरि दुईछाक खान पाएका छैनन् र एक करोडभन्दा बढी मानिसले भोकै रात बिताउने गरेका छन् । खाद्यान्न उत्पादनको कमी नभएको विश्वमा अहिलेको सात अर्ब जनसङ्ख्यालाई प्रशस्त पुग्ने खाद्यान्न हुँदाहुँदै पनि मानवीय आधारमा वितरण नगरिएका कारण यस्तो अवस्था आएको हो ।
कुनै मुुलुकमा बढी उत्पादन भई पशुपक्षीले समेत खाएर नसकी समुद्रमा फ्याँक्नुपर्ने अवस्था र कुनै मुलुकका बासिन्दाले खाद्यान्नका नाममा कन्दमूलसमेत खान नपाएर मर्नुपर्ने यो नियति नै यो शताब्दीको विश्व राजनीतिक व्यवस्थाको सबैभन्दा ठूलो कमजोरी र चुनौती पनि हो । यो चुनौतीलाई सामना गर्न विश्वका सबै ठाउँमा मानवीय आधारमा सबैका लागि खाद्यान्नको पहुँच पु¥याउनु समृद्ध मुलुकका नेताहरूले नै नेतृत्व गर्नुपर्छ ।
आज विश्वमा धनी र गरिबबीचको खाडल झन्झन् बढ्दो छ । अक्सफामले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सम्पूर्ण धनको ८२ प्रतिशत भाग अति धनी एक प्रतिशतको हातमा छ । विश्वका ४२ जना अति धनीसँग ३ अर्ब ७० करोड गरिब व्यक्तिबराबरको सम्पत्ति छ ।
सोमालियामा देखिएको पछिल्लो चरम मानवीय सङ्कट एक अर्ब डलर खर्च गर्ने हो भने तत्कालका लागि टर्ने भन्दै संयुक्त राष्ट्रसङ्घले ठूला मुलुकलाई सहयोग गर्न तीन वर्षअघि नै आग्रह गरेको थियो । तर, एक अर्ब डलर खर्च गर्न कोही तयार भएनन् । यसले गर्दा यो दुई वर्षको बीचमा दुई लाख साठी हजार मानिस भोकमरीले मरे, पाँच लाखभन्दा बढी मानिस मृत्युका मुखमा छन् । तत्काल खाद्यान्न नपु¥याइए केही महिनाभित्र भोककै कारण सबैको ज्यान जाने अवस्था छ ।
विकासको हिसाबले पछि परेको अफ्रिका महादेशको पूर्वी क्षेत्रका सङ्कटग्रस्त केही मुलुकहरू लामो समयदेखि भोकमरी र राजनीतिक द्वन्द्वको सिकार बनेका छन् । सन् २००८ मा सुडानमा र २००५ मा नाइजेरियामा हजारौँ मानिस भोकमरीले मरे । सन् १९८४–८५ र २००० मा इथियोपियामा खानै नपाएर दस लाखभन्दा बढी मानिस मरे । कङ्गोमा सन् १९८९ देखि २००४ का बीचमा खडेरीले लाखौँ मानिस भोकमरीको सिकार बने । सोमालियामा सन् १९९१– ९२ मा खडेरीले भोकमरी पर्दा दुई लाख मानिस मरे । सन् १९६७–७० मा बाइफ्रामा चरम भोकमरीले दस लाखभन्दा बढी मानिस मरे । सन् १९७० मा युगान्डामा भोकमरीले हजारौँ मानिस तड्पीतड्पी मरे । अहिले अन्तरीक्ष अभियानका नाममा खर्बौं डलर खर्च गर्नुभन्दा खान नपाएर मृत्युको मुखमा पुगेका लाखौँ मानिसलाई बचाउनु सबैभन्दा ठूलो धर्म हो ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना