वामपन्थी मिलनको ‘मधुचन्द्रिका’

dharmendra jhaधर्मेन्द्र झा

अन्ततः नेकपा एमाले र नेकपा माओवादी केन्द्र सैद्धान्तिक रूपमा एक भई नेपाल कम्युनिस्ट पार्टीमा रूपान्तरित भएका छन् र देशको राजनीतिमा एक नयाँ अध्याय थपिएको छ । प्रादेशिक र प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा एकआपसमा जोडिन पुगेका यी दुवै पार्टी हाल आएर एकअर्कामा विलय भई देशमा एकल वामपन्थी सरकार सञ्चालनको अवस्थामा पुगेका छन् भन्दा असान्दर्भिक हुँदैन । यो विलयसँगै देशको राजनीतिक भविष्यलाई नयाँ ढंगले व्याख्या गर्ने प्रयत्न सुरु भएको छ । विगतमा माओवादी केन्द्रको नेतृत्व गर्ने सर्वहारा नेता प्रचण्ड हाल एकीकृत पार्टीको छायामा पर्नुभएको अनुभव गरिएको छ । नेपाली वामपन्थी आन्दोलनको इतिहासलाई दृष्टिगत गर्ने हो भने वामपन्थी पार्टी निर्माण र विनिर्माणका यस्ता सन्दर्भलाई नौलो मान्न सकिँदैन । यसको पछिल्लो उदाहरणका रूपमा ०४६ सालको जनआन्दोलनपछि तात्कालीन मालेको नेतृत्वमा अन्य वामपन्थी दलहरू गोलबद्ध हुनुलाई लिन सकिन्छ । वामपन्थी गोलबन्दपछि तत्कालीन अवस्थामा वरिष्ठ वामपन्थी नेता मनमोहन अधिकारीलाई अध्यक्ष स्वीकार गरी एमाले अस्तित्वमा आएको थियो । पार्टी भने मदन भण्डारीको जनताको बहुदलीय जनवाद (जवज) कै नीतिमा अगाडि बढ्यो । एमाले अहिले पनि जवजकै लाइनमा सञ्चालित छ । तर हाल एकीकृत भएका कम्युनिस्ट शक्ति कुन लाइनमा सञ्चालित हुनेछन् ? त्यसको उत्तरका आधारमा भविष्यको नेपाली राजनीति निर्देशित हुने सम्भावना छ भन्दा अतिशयोक्ति ठहर्दैन ।
अहिले वामपन्थी दल एकताका सम्बन्धमा केही कुरा विचारणीय छन् । केन्द्रमा एकता गर्नु जति सहज छ स्थानीय स्तरमा त्यसलाई सहज स्वीकार्य बनाउन त्यतिकै कठिन छ । यति मात्रै होइन यी दुई दलबीच केन्द्रीय स्तरमै पनि केही अलमल छ । एकता सहमतिपत्रमा एमालेका तर्फबाट पाँचजनाको हस्ताक्षर गराइँदा माओवादी केन्द्रका कृष्णबहादुर महरा र वर्षमान पुनजस्ता प्रभावशाली नेता, जो एकता वार्तामा अहोरात्र खटिएका थिए भनेर प्रचारित थियो उनीहरूको हस्ताक्षर छैन । यसलाई कसरी स्वाभाविक मान्ने भन्ने प्रश्न नेपाली जनमानसमा छ । धेरैजसो वामपन्थी विश्लेषकले अहिलेको वाम एकतालाई कमजोर पार्टीका नेताका रूपमा स्थापित हुँदै गएका प्रचण्डको समर्पणको उत्कर्षका रूपमा व्याख्या गरेका छन् । यसैगरी, आफ्नो नेतृत्वमा रहेको माओवादी केन्द्रको अवस्था निराशाजनक देखेपछि प्रचण्डले फेस सेभिगङका लागि एमालेमा विलयको बाटो रोजेको भन्नेहरूको संख्या पनि कम छैन । अर्कोतिर वर्तमानको एकता प्रक्रियाले स्थानीय स्तरमा एमालेभित्र असन्तुष्टिको सम्भावनालाई पनि नकार्न सकिँदैन । प्रदेश सरकारमा देखिन थालेको विवादलाई यस्तै असन्तुष्टिका रूपमा बुझिनु पर्दछ । सिद्धान्ततः एउटै वामपन्थी दल बनाउनु गलत होइन तर नेपालको इतिहास साक्षी छ, वामपन्थीबीच जति एकताको प्रयास गरिएको छ त्यतिकै फूट पनि देखिने गरेको छ । पछिल्लो समयमा स्वयं माओवादी त्यसको उदाहरण हो । विचारणीय कुरा अर्को पनि छ, अहिले दुई वामपन्थी दल मिलेर एउटै दल बनेको अवस्थामा त्यसको मागदर्शक सिद्धान्त के हुने ? यो विषय दलको आन्तरिक समस्या होला तर यस अवस्थामा विगतमा द्वन्द्वकालमा मारिएका र उठिबास लगाइएका एमालेका कार्यकर्ताको जिम्मा कसले लिने भन्ने प्रश्नको उत्तर प्राप्त गर्न सहज छैन । प्रश्न अर्को पनि छ, विगतको द्वन्द्वकालमा उत्पन्न असहज परिस्थितिको अंशियार विगतको एमाले हुने कि नहुने ? यस आधारमा विश्लेषण गर्दा अर्को जिज्ञासा पनि उत्पन्न हुन्छ, दुई वामपन्थी मिलेर एक दल बन्ने निर्णय के स्वाभाविक हो ? राजनीतिक वृत्तमा यसलाई बाह्य प्रभाव र दबाबको परिणामका रूपमा पनि हेर्ने प्रयत्न गरिएको छ । भविष्यमा यो सत्य साबित भयो भने त्यो निश्चय पनि देश र जनताका लागि शुभ हुने छैन । जे होस् यससम्बन्धमा थप स्पष्टताका लागि भविष्यको पर्खाइ आवश्यक छ । हाललाई भने देशमा कम्युनिस्ट अर्थात् वामपन्थका नाममा शासन स्थापित भएको छ, यो सत्य हो ।
सत्य के पनि हो भने केन्द्रको सिंहदरवारलगायत सातै प्रदेशमा प्रादेशिक सरकार गठन भइसकेका छन् । प्रदेश दुईबाहेक सबै ठाउँमा एकतापछिको नेपाल कम्युनिस्ट पार्टी सत्तासिन हुन पुगेको छ तर त्यस्ता सरकार भागबण्डाको प्रभावबाट मुक्त रहन सकेका छैनन् । यसको प्रभाव वर्तमानसम्म मात्र सीमित रहने छैन । भावी दिनहरू नेपाल, नेपाली जनता र नेपाल कम्युनिस्ट पार्टीका लागि निकै महìवपूर्ण ठहरिने पक्का छ । निश्चय पनि केन्द्र र प्रदेश सरकारका सामु चुनौतीका चाङ छन् । यी चुनौती कसरी सम्बोधित हुने हुन् आम नेपालीका लागि प्रतीक्षाको विषय बनेको छ । सबैभन्दा बढी चुनौती छ, प्रदेश सरकार सामु । प्रदेश संरचना नेपाली राजनीतिमा नयाँ प्रयोग हो । सङ्घीयतासँग प्रत्यक्ष सम्बन्धित यस्तो संरचना छिमेकी देशहरूका लागि नयाँ होइन । त्यहाँ यस्तो प्रयोगको लामो अनुभव भए पनि नेपालमा भने यो प्रयोगको परीक्षण प्रारम्भ मात्र भएको छ । केन्द्र र प्रदेशमा समान विचारधाराको (हाललाई प्रदेश २ लाई अपवाद मान्न सकिन्छ ) सरकार गठन हुनु दुवै तहका लागि अनुकूल अवस्था हो । समान विचार, धारणा, सोच र चिन्तनका कारण दुवै तहबीच विवादको सम्भावना कम रहेकाले विशेषतः प्रदेश संरचना सञ्चालनमा खासै समस्या नहुन सक्छ । तर एकिकृत पार्टीको वैचारिक समायोजन स्पष्ट रूपमा हुन नसक्दा त्यसको तुस बाँकी रहन सक्ने पर्याप्त सम्भावना छ । यस्तै एकै खाले विचार भएकै कारण प्रदेश सरंचनाले केन्द्रका सामु घुँडा टेक्ने वा समर्पण गर्ने सम्भावना उत्तिकै छ । यसो भयो भने भोलिका दिनमा प्रदेश संरचना कमजोर हुन गई सङ्घीयता नै समस्याग्रस्त बन्न सक्ने सम्भावनालाई नकार्न सकिँदैन । विगतमा सङ्घीयताको पक्षमा खासै सकारात्मक नदेखिएको नेकपा एमाले (वहालवाला प्रधानमन्त्रीले नेतृत्व गरेको दल) सत्तासीन हुन पुगेको वर्तमान अवस्थामा सङ्घीयता सुनिश्चित गर्ने रणनीत कसरी अख्तियार गरिन्छ, त्यो हेर्नु निश्चय पनि रुचिको विषय हुनेछ ।
यस्तोमा एउटा जिज्ञासा थपिन सक्छ, विगतमा सङ्घीयताको हिमायति जस्तो देखिएको माओवादी केन्द्र एमालेसँग एकाकार भइसकेपछिका दिनमा सङ्घीयतासम्बन्धमा माओवादी विचारधाराबाट दीक्षितहरूको कस्तो धारणा सार्वजनिक हुन्छ ? यो यस्तो प्रश्न हो, जसको उत्तरका आधारमा भोलिका दूर दिनमा अहिले एकीकृत भएका यी दुई पार्टीको भविष्य–यात्राको अवधि निश्चित गर्न सकिनेछ ।
वर्तमानको अवस्था विश्लेषण गर्ने हो भने नेपाली राजनीति नयाँ प्रयोगको सङ्घारमा रहेको मान्न सकिन्छ । ०४६ पछि प्रायः सधैँ सत्ताको केन्द्रमा रहेको नेपाली काङ्ग्रेस पूर्णतः सत्ताबाट बाहिरिन पुगेको छ र प्रतीपक्षका रूपमा पनि काङ्ग्रेसको भूमिका कमजोर रहन सक्ने आँकलन गरिँदैछ । अर्कोतर्फ विगतमा प्रायः गठबन्धन राजनीतिका आधारमा मात्र सत्तासिन रहने अवसर पाएको वामपन्थीहरूको केन्द्रदेखि प्रदेशसम्म एकमना सरकार बन्ने अवस्था सिर्जना हुन पुगेको छ । जनताबाट अभिव्यक्त मतका आधारमा भन्ने हो भने यो अत्यन्त जायज अवस्था हो । जनताले जुन दलप्रति विश्वास व्यक्त गरेका छन् त्यही दल र शक्तिले राज्य सञ्चालन गर्न पाउनुपर्दछ । तर यसो भनिरहँदा अबको सरकारले लोकतान्त्रिक मूल्य–मान्यताको तिरस्कार भने गर्नु हुँदैन । विपक्षलाई विश्वासमा लिएर अगाडि बढ्न सके देशले विकासको बाटो पहिल्याउन सहज हुनेछ । अर्को कुरा, अहिलेको एकमना अवस्था वामपन्थीका लागि ठूलो अवसर हो, जहाँ उसले आफ्नो सक्षमता र अनिवार्य प्रमाणित गर्न सक्नुपर्दछ । सुविधाजनक बहुमत प्राप्त भएको अहिलेको अवस्थामा पनि यो गठबन्धनले जनताको आकांक्षाको यथोचित सम्बोधन गर्न सकेन भने भविष्यमा पुनः यस्तै परिणाम प्राप्त नगर्न सक्छ । प्रसन्ताको कुरा हो, हाल नेपाल कम्युनिस्ट पार्टीका रूपमा एकीकृत हुन पुगेका दुई वामपन्थी दल अहिले हनिमुन अर्थात् मधुचन्द्रिकाको अवस्थामा छन् । निश्चय पनि यो अवस्था दुवैका लागि सुखानुभूतियुक्त नै होला । यो अनुभव धेरै लामो समय नटिक्ने एकथरि मत छ । तर मधुचन्द्रिकाको यो अवस्था कम्तीमा पाँच वर्षसम्म रहनुपर्छ । यसो हुन नसके यो दुई पार्टीका लागि त हानि निम्तिने छ नै देश र जनताका लागि पनि थप समस्या सिर्जना हुन सक्ने छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना