चितवनमा केरा र मौरी जोन

शालिग्राम नेपाल

चितवन, फागुन १२ गते । कृषि क्षेत्रको लागि उपयुक्त स्थान भएको चितवन जिल्लालाई मौरी र केराको जोनका रूपमा थप गरिएको छ । धान, तरकारी, माछाको जोनका रूपमा रहेको जिल्लामा मौरी र केरालाई थप गरिएको हो । अघिल्लो वर्ष प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना तरकारी जोन कार्यक्रमअन्तर्गत पश्चिम चितवनको पार्वतीपुरमा सञ्चालनमा आइसकेको छ । यस वर्षदेखि मौरी र केराको जोन कार्यक्रम परियोजनाबाट स्वीकृत भएको छ, यसका लागि कार्यालयसमेत स्थापित भएको छ, जिल्ला कृषि विकास कार्यालय चितवनका प्रमुख सुधीर श्रेष्ठ बताउनुभयो । आगामी आर्थिक वर्षबाट बजेट निकासा गरी बजेट विनियोजन हुने उहाँले जानकारी दिनुभयो । banana
उत्पादन र कृषक सङ्ख्याको आधारमा परियोजनाले मौरीको जोन राप्ती नगरपालिका र केराको जोन रत्ननगर र कालिका नगरपालिकालाई तोकेको छ । जोन स्वीकृत हुनका लागि कुनै पनि बालीको पाँच सय हेक्टरभन्दा बढीमा खेती गरेको र मौरीका लागि २० हजारभन्दा बढी घारमा मौरी पालिएको हुनुपर्छ । ती क्षेत्रमा मापदण्ड पुगेपछि सरकारले जोनको स्वीकृत दिएको हो । जोन स्वीकृत भएपछि किसानहरू उत्साहित भएका छन् । चितवन केरा उत्पादक सङ्घका निर्वतमान अध्यक्ष यज्ञप्रसाद सुवेदीले जोन कार्यक्रम स्वीकृत भएपछि आफूमा थप हौसला बढेको बताउनुभयो । यस कार्यक्रमले केरा खेतीका लागि गुणस्तर, प्रशोधन एवं बजारीकरणमा टेवा पुग्ने उहाँको विश्वास छ ।
चितवनमा हाल दुई हजार छ सय बिघामा केरा खेती गरिएको छ भने छ सयभन्दा बढी केरा किसान छन् । केराबाट मात्रै वार्षिक सवा करोड बराबरको कारोबार हुँदै आएको छ । केरा खेती जिल्लामा वृद्धि हुँदै गएको कृषि विकास कार्यालयले जानकारी दिएको छ । केराबाटै बन्ने विभिन्न परिकार पाइने केरा रेस्टुरेन्ट पनि सञ्चालनमा आएको छ । केरा खेतीलाई प्रवद्र्धन गर्न चितवनका मेला महोत्सवमा प्रचारप्रसारलाई प्राथमिकता दिने गरिएको छ ।
यस्तै मौरीका लागि जोन कार्यक्रम स्वीकृत भएकाले मौरी किसानको सङ्ख्या र गुणस्तरमा समेत वृद्धि हुने मौरीविज्ञ कमलनाथ वाग्ले बताउनुहुन्छ । जोन कार्यक्रमले गर्दा किसानले अनुदान, सहुलियत ऋण, आधुनिक प्रविधिको सुविधा उपलब्ध हुने हुंँदा यस क्षेत्रको विस्तारमा टेवा पुग्ने उहाँको भनाइ छ । जोन कार्यक्रम लागू भएपछि सरकारले मौरीका लागि उपयुक्त चरिचरनको व्यवस्था गर्नुपर्छ, उहाँले बताउनुभयो ।
मौरीपालन क्षेत्र, पकेट क्षेत्र हुँदै अहिले जोनका रूपमा विकास गर्दा मौरीपालन गर्ने किसानका लागि खुसीको कुरा भएको नेपाल मौरीपालक किसान सङ्घका निवर्तमान केन्द्रीय अध्यक्ष राजेन्द्र गौतमले बताउनुभयो । यसबाट किसानलाई अनुदान, सहयोग प्राप्त हुनेमा आशा पलाएको उहाँको भनाइ छ । वास्तविक किसान पहिचान गरी यसको न्यायोचित कार्यान्वयन स्थानीय तहबाट हुनेमा आफूलाई खुसी लागेको गौतमले भन्नुभयो । हाल चितवनमा तीन सयको हाराहारीमा मौरीपालक किसान छन् भने वार्षिक करिब १५० मेट्रिक टन मह उत्पादन हुँदै आएको छ । सरकारले कृषि उत्पादनको आयात कम गरी देशलाई आत्मनिर्भर बनाउन देशभरि नै जोन, ब्लक, पकेट क्षेत्र घोषणा गरी कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना